नेपाः पासा पुचः अमेरिकाय्को आयोजनामा १३ औं इहि समारोह सम्पन्न भएको छ। इहि संस्कारको विधिविधान शनिबार मेरील्याण्ड राज्यको पोटोम्याकमा रहेको हरे कृष्ण मन्दिरमा सम्पन्न भएको हो। यस वर्ष अमेरिकाको ८ राज्य र क्यानडाका गरेर 31 जना बालिकाहरूले इहि समारोहमा भाग लिएका थिए ।
पासा पुचःका संस्थापक अध्यक्ष राम मालाकारबाट प्रारम्भिक पूजा गरेर इहि शुभारम्भ गरिएको थियो। प्रारम्भिक पूजापछि बालिकाहरूलाई माथुरी श्रेष्ठ, सरोज प्रजापति, रीता सिहं, मगन श्रेष्ठ, लक्ष्मी रंजित, रोशनी गोर्खाली, दीपा राजकर्णिकार, नीती सैंजु, सुचीता श्रेष्ठ ताम्राकार, बनीता टमोट, शीला श्रेष्ठ, शान्ति श्रेष्ठ र अंजली श्रेष्ठको समहूले विधिवत रूपमा मण्डपमा भित्र्याउनु भएको थियो भने मण्डप भित्र्याउने क्रममा संध्या महर्जन र कृष्ण प्रजापतिले परम्परागत धिमे बाजा बजाउनु भएको थियो।
इहि समारोहमा पासा पुचःका अध्यक्ष मनोहर श्रेष्ठले सहभागी बालिकाहरू, अभिभावकहरूलाई स्वागत गर्दै नेवार संस्कृति र समुदायमा इहिको महत्त्वकाबारेमा प्रकाश पार्नु भएको थियो। उहाँले पासा पुचः नेवार सांस्कृतिक र अनुष्ठान अभ्यास प्रवर्द्धन तथा संरक्षणमा सक्रिय रहेको अमेरिकाको अग्रगामी नेवार संस्था भएको बताउनु भयो।
नेवार पुजारी बासव राजोपाध्यायले शुद्धिकरण पूजा, मण्डप पूजा, सिन्दुरोहण, कन्यादान, मण्डप परिक्रमा, कुमार पूजा, कुमारी पूजा, बार्हा छुइगु, थायेभु नकेगु, अभिषेक, आशिर्वाद ,जल प्रसाद लगायतका इहिका विभिन्न अनुष्ठानहरू व्यवस्थित ढंगले गराउनु भएको थियो।
समारोहमा राजु जोशी, एलन महर्जन, सुमन तुलाधर, प्रविण ताम्राकार, पञ्च श्रेष्ठ, विनेश महर्जन, निश्चल प्रधान, अवंतिका श्रेष्ठ, समृद्धि श्रेष्ठ, देव महर्जन, रत्ना डंगोल, हिना बज्राचार्य, किट्टी सुनवार लगायतका पासाःपुचःका कार्यकारी सदस्य, सल्लाहकार, संरक्षक, आजीवन सदस्य , स्वयंसेवकहरूले सहयोग गर्नु भएको थियो।
कन्यादानकै एक विधिको रूपमा लिइने इहि नेवार समुदायका अरू धेरै संस्कारमध्ये एउटा अति महत्वपूर्ण संस्कार हो। यस विधि अन्तर्गत कन्याकुमारीको सूवर्णकुमारसँग सांकेतिक रूपमा विवाह गरिदिने परम्परा छ। इहि कार्य दिन–लगन जुराएर गर्नुपर्ने मान्यता छ। विशेषगरी बिजोर उमेर (५, ७, ९, ११) पारेर नेवार कन्याको इहि गरिन्छ। नेवारबाहेक नेपालका अन्य समाजमा इहीको चलन छैन।
आफ्नो समुदायका सदस्यहरूको बढ्दो मागलाई समायोजन गर्न हरेक वर्ष पासा पुचःले इहि समारोह आयोजना गर्दै आएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३