सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रभावशाली नेता एवं पूर्व मन्त्री जनार्दन शर्माले नेपाल ट्रस्टको जग्गा हिनामिना प्रकरणमा आफ्नो नाम जोडिएकोप्रति आपत्ति जनाएका छन् ।
सरकार दलालको घेराबाट बच्नुपर्छ भनेर बोल्दा आफूलाई तर्साउन खोजिएको उनले आरोप लगाए ।
बिहीवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा शर्माले आफू गृहमन्त्री नभएको समयमा भएको निर्णयमा आफ्नो जबरजस्ती नाम जोडिएकोप्रति उनले प्रधानमन्त्री र रक्षामन्त्री ईश्वर पोखरेलसँग जवाफ माग गरेका हुन् ।
मंगलवार मन्त्री पोखरेलले ट्रस्टको श्वेतपत्र जारी गर्दै पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र जनार्दन शर्मा समेत दोषी रहेको बताएका थिए ।
‘यो श्वेतपत्र हो कि अश्वेतपत्र हो ? २०७४ कात्तिक १३ गते भएको भनेर मेरो नाम जोडिएको छ । असोज ३० गतेबाट गृहमन्त्रीको जिम्मेवारीबाट हटेको थिए । मन्त्री नै नभएको मान्छेलाई जबरजस्ती नाम लेखिनु कुरा के ? लेख्नुपर्ने किन लेखिएन ?’ उनले प्रश्न गरे ।
आफू गृहमन्त्री हुँदा कहिलै पनि ट्रस्टको कार्यालयमा नपसेको र मन्त्री रहेको समयमा सचिव रहेका हालका मुख्यसचिव लोकदर्शन रेग्मीलाई सोध्दा विवरण झूटा हो भनेर भनेको शर्माले दाबी गरे ।
‘लेख्नुपर्नेको नाम किन लेखिएन ? नलेख्नु पर्नेको नाम किन लेखियो ? मलाई तर्साउन खोजिएको हो ? आत्मसमर्पण गराउन खोजिएको हो ?’ उनले प्रश्न गरे ।
आफूले सरकार दलालको घेराबाट बच्नुपर्छ भनेर भनिरहेको र त्यही कुरालाई लिएर तर्साउन र आत्मसमर्पण गराउन खोजिएको आशंका उनले गरे । ‘नभएको मान्छेको नाम लेखेर मिडियाबाजी गर्ने र गराउने कुरा किन गरियो ? त्यसकारण मलाई शंका उठ्यो, यसको जवाफ चाहिन्छ । रक्षामन्त्री र प्रधानमन्त्रीबाट जवाफ चाहन्छु,’ शर्माले भने ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७