ललितपुरको गोदावरीमा वातावरणसंग सम्बन्धित बिषयमा पत्रकारिता गर्ने पत्रकारहरुका लागि क्षमता अभिवृद्धिका लागि वातावरणिय पत्रकारिता तालिम सम्पन्न भएको छ। वातावरण पत्रकारिता गरिरहेका पत्रकारहरुका लागि लक्षित गरेर नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले एनफोको साझेदारीमा गोदावरी नगरपालिका वडा नं १३ सन्तानेश्वरमा तीन दिने वातावरणीय पत्रकारिता तालिम सम्पन्न गरेको हो ।
नेफेजका महासचिव सविन शर्माका अनुसार बुधबारबाट सुरु भएको तालिममा विभिन्न सञ्चार माध्यममा कार्यरत २२ जना पत्रकारहरु सहभागी थिए। ‘सरसफाइ तथा मानव स्वास्थ्यमा ठूलो प्रभाव पार्ने वातावरणको विषयमा पत्रकारहरुको क्षमता विकासका लागि यो तालिम आयोजना गरिएको हो । सम्बन्धित क्षेत्रमा आधारित रहेर विषय विज्ञहरुले पत्रकारहरुलाई सहजीकरण गर्नुभएको हो’, महासचिव शर्माले भने ।
तालिममा सहभागी अर्जुन धामीले यस तालिमबाट वातावरण पत्रकारिताका क्षेत्रमा महत्वपूर्ण ज्ञान हासिल भएको बताए । ‘तालिमबाट अहिलेसम्म नउठेका मुद्दाहरु, कम उठाइएका विषय मिडियामा प्राथमिकताका साथ उठाइनु पर्ने मुद्दाका बारेमा जानकारी प्राप्त भयो। हाम्रो देशको वातावरणको विषयमा उठाउन गर्नुपर्ने कुराहरु धेरे छन्, देखेर पनि उठाउन नसकेका कुराहरूलाई मिडियामा मुद्दाका रुपमा उठाउन र समाचारका रुपमा प्रस्तुतिकरण गर्न हौसला मिलेको छ।’ धामीले भने, ‘हामीले धेरै नयाँ कुराहरु सिक्ने र बुझ्ने अवसर पायौं । सञ्चारमाध्यम मार्फत यी विषयहरुलाइ सम्बोधन गर्न सक्षम हुनेछौं भन्ने विश्वास छ।’
अर्का सहभागी सुस्मिता बजगाईले वातावरणसंग सम्बन्धित धेरै विषय अझै पनि सञ्चारमाध्यममा आउन नसकेको बताइन् । ‘उठाउनुपर्ने मुद्दा, प्रस्तुतिकरण शैलीका बिषयमा साक्षात्कार हुन पाइयो, यसले हामीलाई अझै प्रभावकारी समाचार सम्प्रेषणका लागि प्रेरणा मिलेको छ ।’ बजगाईले भनिन् , सरसफाई मापदण्ड, एकीकृत नगरस्तरीय सूचना प्रणाली, सुरक्षित सरसफाई व्यवस्थापनलगायतका विषयमा महत्त्वपूर्ण जानकारी हासिल गर्ने अवसर मिल्यो । अब यी विषयहरुलाई समाचार, बिचार, फिचरका माध्यमबाट मिडियामा स्थापित गर्न सक्षम हुनेछौं भन्ने विश्व छ।’
तालिम कार्यक्रममा सहभागी पत्रकारहरुका लागि वरिष्ठ पत्रकार मोहन मैनाली, इनफोका कार्यक्रम निर्देशक डा. राजेन्द्र श्रेष्ठ, गुणस्तर तथा नापतौल विभागका अधिकृत गणेश प्रसाद पाठक, इन्नोभेट सलुसनका निर्देशक महर्षि राजभण्डारीलगायतले प्रशिक्षण गरेका थिए।
नेपाल वातावरण पत्रकार समूह नेफेजकि अध्यक्ष रोशनी अधिकारीले यस किसिमको सिकाईले पत्रकारहरुमा निखार ल्याउने बताउदै आगामी दिनहरूमा पनि आवश्यकता अनुसार विषय विज्ञहरूसंग समन्वय गरेर यस्तै तालिमहरु सञ्चालन गरेर पत्रकारहरुको ज्ञान,सीप र क्षमता अभिवृद्धिमा लागिपर्ने बताइन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३