जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ ।जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा मंगलबार भएको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो । अमेरिकाले दिएको २ सय ८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा भीम सार्कीले १ सय १४ बलमा ७ चौका र १ छक्काको सहयोगमा अविजित ७७ रनको अर्धशतकीय ईनिङ खेले । पहिलो विकेटका लागि ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलले ३० बलमा २५ रनको साझेदारीका साथ राम्रो सुरुआत दिलाएका थिए । ओपनर शेख पाँचौ ओभरको अन्तिम बलमा सौरभ नेत्राभाल्करकको बलमा १२ रन बनाउँदै एलबिडब्लु आउट भए ।
अर्का ओपनर कुशल भुर्तेलले ५४ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३९ रन बनाए । दोस्रो विकेटका लागि भीम र कुशलले ६८ बलमा ४९ रनको महत्वपुर्ण साझेदारी भएको थियो । कुशल नोस्तुषा केन्जिगेको बलमा आउट भएसँगै यो साझेदारी तोडिएको थियो ।
कप्तान रोहित पौडेलले २९ बलमा १६ रन बनाए । कुशल मल्ल १३ बलमा १३ रन बनाउँदै आउट भए । पाँचौ विकेटका लागि भीम सार्की र दीपेन्द्र सिंह ऐरीले ६४ बलमा अविजित ७४ रनको विजयी साझेदारी गरे । दीपेन्द्रले ३२ बलमा ५ चौका र १ छक्काको सहयोगमा अविजित ३९ रन बनाए ।
अमेरिकाका लागि नोस्तुषा केन्जिगे, सौरभ नेत्राभाल्कर, निशर्ग पटेल र स्टेभन टेलरले समान १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २ सय ७ रनमा अलआउट भएको थियो । अमेरिकाका लागि शायन जाहान्गिरले ७९ बलमा १० चौका र ३ छक्काको सहयोगमा अविजित १ सय रनको शतकीय ईनिङ खेले ।
अमेरिकाले सुरुआतको चार विकेट सस्तै गुमाएको थियो । पाँचौ विकेटका लागि गजानन्द सिंह र सुशान्त मोदानीले ७३ बलमा ४७ रनको साझेदारी गरेका थिए । वेस्ट इन्डिजसँगको अघिल्लो खेलमा शतक बनाएका सिंह २६ रनमा आउट भएका थिए ।
गजानन्द ४१ बलमा २ चौका र १ छक्काको सहयोगमा २६ रन बनाएर आउट भए । छैटौं विकेटका लागि शायन जाहान्गिर र सुशान्त मोदानीले ३७ बलमा २९ रनको साझेदारी गरे । ओपनर मोदानीले ७१ बलमा ३ चौका र १ छक्काको सहयोगमा ४२ रन बनाए ।
नेपालका लागि करण केसीले ९ ओभरमा ३३ रन खर्चिएर ४ विकेट लिए । गुलसन झाले ३ तथा दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । ललितनारायण राजवंशी १ विकेट आफ्नो नाममा गरे ।नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन अर्थात असार ७ मा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ ।
आजको जितसँगै सुपर सिक्समा पुग्ने नेपालको सम्भावना बलियो भएको छ । जितसँगै २ अंकका साथ नेपाल समूह ए को तेस्रो स्थानमा उक्लिएको छ । अमेरिका भने चौथो स्थानमा झरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३