उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले पछिल्लाे सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने गरी हुने बताएका छन् । उनले यस्ता घटनाहरूबारे प्रधानमन्त्री र आफूले दोषीलाई कारबाहीको दायरामा ल्याउन र निर्दोष नफसून् भनेर यसअघि नै सम्बन्धित निकायलाई निर्देशन दिइसकेको पनि स्मरण गराए ।
बिहीवार सिंहदरबारमा रहेकाे आफ्नै कार्यकक्षमा सुरक्षा निकायका पूर्व उच्च अधिकारीहरूसँगको छलफलपछि गृहमन्त्री श्रेष्ठले दोषीलाई छिट्टै कानुनको दायरामा ल्याउने गरी अनुसन्धानको कामलाई अघि बढाइएको बताए । उनले अध्यागमन विभागमा प्रहरीको उपस्थितिलाई सुनिश्चित गर्ने विषयमा आफूले यसअघि पनि छलफल गरेको र त्यसलाई छिट्टै निष्कर्षमा पुर्याउने आश्वासनसमेत दिए । अर्थ मन्त्रालयसँग समन्वय गरेर त्याे कामलाई अघि बढाउने श्रेष्ठको भनाइ थियो ।
उनले भने, ‘पछिल्लाे सुन प्रकरणकाे अनुसन्धानलाई हामी गम्भीरतापूर्वक अगाडि बढाउँछौँ । सम्बन्धित निकायलाई हाम्रो स्ट्यान्डबाई निर्देशन छ । प्रधानमन्त्रीको पनि स्ट्यान्डबाई निर्देशन छ । जुनसुकै निकायले अनुसन्धान गर्नुपर्ने भए पनि, जुनसुकै घटना भए पनि निर्दोष नफसून् । याे घटनाकाे अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने गरी होस् । दोषीलाई कानुनको दायरामा ल्याउने गरी अनुसन्धान होस् भन्ने हाम्रो स्ट्यान्डबाई निर्देशन छ ।’
गृहमन्त्री श्रेष्ठले गृह मन्त्रालयको समग्र क्षेत्रको पुनर्संरचना गरेर सुशासन कायम गर्नका लागि आफूले एउटा कार्यदल नै बनाउने घोषणा गरिसकेको पनि दोहोर्याए । उनले कार्यदलअन्तर्गत उपकार्यदलसमेत बनाएर मन्त्रालयको कामलाई प्रभावकारी बनाउनुपर्नेमा आफूले शुरुदेखि नै जोड दिएको दाबीसमेत गरे ।
गृहमन्त्री श्रेष्ठले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयअन्तर्गत ल्याउने विषयमा पनि छलफल भइरहेको बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३