गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र जिल्ला प्रहरी प्रमुखलाई फिर्ता बोलाएको छ ।
बालकुमारी घटनामा दुई जना युवकको गाेली लागी ज्यान गएपछि गृह मन्त्रालयले शनिबार उपप्रधान एवम गृहमन्त्रीस्तरीय निर्णय गर्दै ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई मन्त्रालय तानेको छ । यस्तै, ललितपुरका प्रहरी प्रमुख एसएपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय तानिएको गृहले जनाएको छ ।
‘ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा र जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षकलाई नेपाल प्रहरी प्रधान कार्यालयमा फिर्ता गरिएको छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
उक्त घटनाका सन्दर्भमा छानबिन समितिले काम गरिरहेको भन्दै मन्त्रालयले प्रतिवेदन प्राप्त भएपछि त्यसै बमोजिम कार्यान्वयन गरिने जनाएको छ ।
छानबिन समितिको कामलाई वस्तुनिष्ठ बनाउन घटनास्थलमा सुरक्षा कमाण्डको जिम्मेवारीमा खटिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश लम्साल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको सुरक्षामा खटिएका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) प्रहरी सहायक निरीक्षक बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय भएको मन्त्रालयका सहसचिव एवम प्रवक्ता नारयण भट्टराईले जानकारी दिएका छन् । कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदी पनि निलम्बनमा परेका छन् ।
शुक्रबार कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनको समयमा सुरक्षा प्रदान गर्ने क्रममा हुन गएको अप्रत्याशित घटनामा परी अछाम चौरपाटी गाउँपालिका–१ घर भई हाल काठमाडौं बस्ने २१ वर्षीय वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका–६ घर भई हाल भक्तपुर बस्ने २३ वर्षीय सुजन राउतको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो ।
यसैबीच शनिबार आकस्मिक बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ राहत दिने र घाइतेको उपचार खर्च व्यहोर्ने निणर्य गरेको छ ।
गृहले पेस गर्ने घटनाका छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३