धनगढी – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको संक्रमणबाट जोगिन एक–आपसमा हात नमिलाउन आग्रह गरेका छन् ।
नेपाल प्रेस युनियन, कैलालीले बुधबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले कोरोना भाइरसको संक्रमणबाट जोगिन आमनागरिकलाई एक–आपसमा अभिवादन स्वरुप नमस्कार गर्न आग्रह गरेका हुन् ।
“कोरोना भाइरस नेपालमा पनि आउने सम्भावना छ । यो अत्यन्तै खतरनाकरोग नेपालमा आयो भने अत्यन्तै डर लाग्दो हुन सक्छ,” उनले आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा भने, “भरसक हात नमिलाउँ, नमस्ते गरौं । हामी त जय नेपाल भन्छौं ।”
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले १४ औं महाधिवेशन भाँड्न खोजेको आरोप लगाइरहेकै बेला देउवाले निर्धारित समयमै महाधिवेशन हुने बताए । महाधिवेशन निर्धारित समयमै हुन्छ भन्ने पत्रकारको प्रश्नको जवाफमा उनले भने, “कुरै छैन ।”
सभापति देउवाले पार्टीमा आफूले इमान्दारिताका साथ कार्यसम्पादन गरिहरेको पनि दाबी गरे । “तपाईंहरूलाई थाहा छ, मैले इमान्दारिताका साथ काम गरेको छु,” चार वर्षीय कार्यकाल कस्तो रह्यो भन्ने प्रश्नको जवाफमा उनले भने ।
सभापति देउवाले मिर्गौला प्रत्यारोपण गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना समेत गरे ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७