भद्रकाली प्रदर्शनको क्रममा पक्राउ परेकाहरुलाई तत्काल रिहा नगरिए चौकी घेराउसम्मका विरोध कार्यक्रम गर्ने नेवाः राष्ट्रिय परिषदले जनाएको छ । राष्ट्रिय मुक्ति क्रान्ति अभियान अन्तर्गतको नेवाः राष्ट्रिय परिषदले आज सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेको हो । कार्यक्रमका वक्ताहरुले शनिबार भएको शान्तिपूर्ण सांस्कृतिक ¥यालीमाथि राज्यले बरबरता देखाएको भन्दै पक्राउ परेकाहरुको तत्काल रिहाईको माग गरेका हुन् ।
कार्यक्रममा बोल्दै नेवाः राष्ट्रिय परिषदका संयोजक सुमन सायमीले राज्यले नागरिकको शान्तिपूर्ण रुपमा सांस्कृतिक प्रदर्शन पाउने संवैधानिक अधिकार खोसेको बताए । शान्तिपूर्ण रुपमा भएको सांस्कृतिक प्रदर्शनमा प्रहरीले महिला, बौद्ध भिक्षुहरुलाई समेत निर्घात कुटपिट गरेको र अस्पतालमा उपचाररत घाइेतलाई समेत पक्राउ गरेको बताए । ‘संघीय लोकतान्त्रिक गणतन्त्रमा यस्तो हुन्छ भने यो लोकतन्त्रकै उपहास हो । हाम्रा ६ जना साथीहरु अझै हिरासतमै छन् । उनीहरुलाई बुधबारसम्ममा निःशर्त रिहा नगरिए हामी चौकी घेराउसम्मका विरोध कार्यक्रम अघि बढाउनेछौं’ संयोजक सायमीले भने ।
गत चैत्र २४ गते शनिबार परिषदले बसन्तपुरबाट सांस्कृतिक ¥याली निकालेको थियो । सो ¥याली बसन्तपुरबाट काठमाडौंको विभिन्न क्षेत्रबाट टुँडिखेल हुँदै भद्रकाली पुगेको थियो । भद्रकाली पुगेपछि प्रहरीले निषेधित क्षेत्र भन्दै रोक्न खोज्दा त्यहाँ दुवै पक्षबीच झडप भएको थियो । झडपको क्रममा प्रहरीले चिवर लगाएका बौद्ध भिक्षुलाई समेत लात हान्दा यसको सर्वत्र आलोचना र विरोध भइरहेको छ । यद्यपि प्रहरीले भने बौद्ध भिक्षुलाई दुर्व्यवहार गर्ने प्रहरीलाई विभागीय कारवाही गर्ने बताइसकेको छ ।
आजको पत्रकार सम्मेलनमा बोल्दै अभियानका संयोजक राजेन्द्र महतोले भिक्षुलाई दुर्व्यवहार भएकोमा प्रहरीलाई कारवाही गरेर नपुग्ने भन्दै गृहमन्त्रीले माफी माग्नुपर्ने माग राखेका छन् । ‘शान्तिपुर्ण सांस्कृतिक प्रदर्शनमा आएकालाई टाउको फुटाइदिने, धिमेय्, डम्फु, झ्याम्टालगायतका सांस्कृतिक बाजा फुटाइदिने, भिक्षुलाई लात हान्ने । यो सबैको जिम्मेवारी गृहमन्त्रीले लिएर माफी माग्नुपर्छ । माफी नमाग्ने भए गृहमन्त्रीले राजिनामा दिए हुन्छ’ महतोले भने । साथै महतोले बहुलराज्य स्थापना, र नेपाः मण्डल प्रदेश घोषणा नभएसम्म आफुहरुको अभियान नरोकिने उद्घोष गरे । राज्यले नै आदिवासी जनजाति समुदायको पहिचान मेटाउने लागिपरेको आरोप लगाउँदै महतोले सबैको अस्तित्व स्थापित गर्न आफुहरुले अभियान थालेको बताए । ‘माइतीघर हैन, फिब्वख्यः हुनुपर्यो, टुँडिखेल होइन, तिंख्यः नै हुनुपर्यो र बागमति प्रदेश होइन, नेपाःमण्डल प्रदेश हुनुपर्यो नेवाः समुदायको भुमिमा । एकनश्लीय सोच र नीति कसैलाई पनि स्वीकार छैन’ संयोजक महतोको भनाई हो ।
स्वनिगः विशेष ब्यूरोका संयोजक रविन्द्र कुमार श्रेष्ठले शान्तिपूर्ण प्रदर्शनमा बौद्ध भिक्षु, रमजानको व्रत बसिरहेका मुस्लिम समुदायमाथि मात्र नभई, प्रदर्शनमा सहभागी नै नभएका भद्रकालीमा दर्शन गर्न आएका तामाङ दर्शनार्थीहरुलाई समेत प्रहरीले लखेटी लखेटी कुटपिट गरेको आरोप लगाए । कार्यक्रमका अन्य वक्ताहरुले सबैको अपनत्व हुने, समानता र समावेशी प्रतिनिधित्वसहितको बहुलराष्ट्रिय राज्य स्थापनाका लागि पटक पटक भद्रकालीमा भेला हुने र पटक पटक टाउकोमा लाठी खान तयार रहेको भन्दै एकलजातीय राज्य अन्त्य हुनुपर्ने माग गरेका थिए । पत्रकार सम्मेलनमार्फत बहुलराष्ट्रिय राज्य स्थापनार्थ सम्पूर्ण नेपालीहरु एक हुन आह्वान गरिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३