सरकारी स्वामित्व रहेको नेपाल टेलिकम(एनटिसी)काे फोरजी प्रयोगकर्ताको संख्या बढेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले गत हप्ता सार्वजनिक गरेको मंसिर महिनाको एमआइएस (म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम) प्रतिवेदनका अनुसार फोरजी प्रयोगकर्ताको संख्या १४ सय ४२ ले बढेको छ ।
योसँगै मंसिरमा एनटिसीका फोरजी उपभोगकर्ताको संख्या ८ लाख ४१ हजार २२ पुगेको छ । एमआइएस प्रतिवेदन अनुसार कात्तिकमा फोरजी उपभोगकर्ताको संख्या ८ लाख ३९ हजार ५ सय ८० थियो।
सरकारी टेलिकमका उपभोक्ता बढ्दा निजी क्षेत्रको सेवा प्रदायक एनसेलका फोरजी प्रयोगकर्ता भने घटेका छन्। प्रतिवेदनका अनुसार ५ लाखले एनसेलको फोरजी प्रयोग गर्न छाडेका छन् । कात्तिकमा ३७ लाख १३ हजार ४ सय ३१ले एनसेलको फोरजी चलाएपनि मंसिरमा ३२ लाख ७० हजार ४ सय ३१ जनाले मात्र प्रयोग गरेको प्रतिवेदनले जनाएको छ ।
‘एनसेलमा कर विवादको प्रभाव’
एक महिनामा एनसेलको फोरजी उपभोक्ता घट्नुमा कर विवादको प्रभाव देखिएको टिप्पणी उपभोक्ता अधिकारकर्मीले गरेका छन्। उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले कर विवादका कारण उपभोक्ता निरुत्साहित भएकाले एनसेलको फोरजी उपभोक्ता घटेको टिप्पणी गरे।
‘फोरजी नाम मात्रका भए’ उनले भने, ‘स्पीड नै हुँदैन । एनसेलको कर विवादका कारण पनि प्रयोगकर्ता डिमोरलाइज भएका हुन सक्छन्।’ एनसेल कम्पनी उपभोक्ता र राज्यप्रति जिम्मेवार नभएको धारणा उपभोक्तामा रहेकाले उक्त कम्पनीका प्रयोगकर्ता घटेका हुन सक्ने तिमिल्सिनाको भनाई छ ।
फोरजी प्रयोगकर्ताको संख्या साढे ४३ लाख
एमआइएस रिपोर्ट अनुसार मंसिरमा समग्र फोरजी उपभोगकर्ताको संख्या साढे ४३ लाख रहेको छ । रिपोर्ट अनुसार नेपालभरी फोरजी प्रयोगकर्ताको कुल संख्या ४३ लाख ६१ हजार २ सय १७ रहेको छ । १ करोड २१ लाखले थ्रिजी प्रयोग गरिरहेको रिपोर्टमा उल्लेख छ ।
७२ प्रतिशत उपभोक्ता इन्टरनेटको पहुँचमा
पछिल्लो समय नेपालमा कुल जनसंख्याको ७२ प्रतिशत मानिस इन्टरनेटको पहुँचमा रहेको प्रतिवेदनले जनाएको छ । प्रतिवेदन अनुसार २ करोड १३ लाख ७३ हजार ३ सय २८ जना इन्टरनेटको पहुँचमा पुगेका छन् । उक्त संख्या कुल जनसंख्याको ७२ दशमलव ४२ प्रतिशत हो । उक्त संख्यामा फिक्स्ट ब्रोडब्याण्ड तारसहितको प्रयोगकर्ता १५ दशमलव ५३, ताररहित इन्टरनेट प्रयोगकर्ताको संख्या शून्य दशमलव ७८ र मोबाइल फोन ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ताको संख्या ५६ दशमलव ११ प्रतिशत रहेको छ ।
जनसंख्या भन्दा बढी मोबाइल फोन प्रयोगकर्ता
एमआइएस प्रतिवेदन अनुसार नेपालमा मोबाइल फोन प्रयोगकर्ताको संख्या कुल जनसंख्या भन्दा बढी देखिएको छ। करिब ३ करोड जनसंख्यामा सबै किसिमका मोबाइल फोन सेवा लिनेहरूको संख्या ४ करोड २८ लाख ७८ हजार रहेको छ। एकै जनाले दुई वा दुई भन्दा बढी मोबाइल सेवा लिएकाले उक्त संख्या बढी देखिएको नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीहरू बताउँछन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३