काठमाडौं – लकडाउन अवधि लम्बिएसँगै काठमाडौँ महानगरपालिकाले अतिविपन्न, असाहय र मजदुरलाई दैनिक खाना खुवाउने कार्यलाई निरन्तरता दिएको छ । महानगरपालिकाले आफ्नै स्रोत र विभिन्न सहयोगी संघ-संस्थाहरुको पहलमा अहिलेसम्म ८१ बढी हजारलाई राहत वितरण गरेको छ । त्यसैगरी अहिलेसम्म एक लाखको हाराहारीलाई खाना खुवाएको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले लकडाउनका कारण सिर्जना भएको जटिल परिस्थितिमा स्थानीय सरकारहरुले आ-आफ्नो क्षमताले भ्याएसम्म परिचालित भई राहत वितरण तथा खाना खुवाउनेलगायतका अन्य प्रयास गरिरहेको बताए ।
‘महानगरपालिका क्षेत्र भित्र रहेका असाहय, अतिविपन्न र बेरोजगारले खानाको अभावमा बस्नु नपरोस भनेर राहत वितरणसँगै खाना खुवाउने कामलाई पनि निरन्तरता दिदैँ आएका छौँ,’ प्रमुख शाक्यले भने, ‘लकडाउनको अवधिमा कोही महानगरवासी भोकै परेको भए हामीलाई जानकारी दिनुहोला । हामी उहाँहरुको जिम्मेवारी लिन तयार छौँ ।’
उनले लकडाउनको अवधिमा कोही पनि भोक-भोकै पर्नु पर्ने अवस्था नआओस् भनेर समस्यामा परेकाहरुलाई खानाको व्यवस्था गर्न केही परोपकारी संस्थासँग पनि सहकार्य गरेर खाना खुवाउने काम गरिरहेको जानकारी दिए ।
महानगरपालिकाका प्रशासन विभाग नमराज ढकालले पनि महानगरपालिका क्षेत्र भित्र कोही पनि भोकै नपरुन भन्ने उदेश्यले राहत वितरणसँगै खाना खुवाउने कामलाई पनि निरन्तरता दिएको जानकारी दिए । ‘लकडाउन सुरु भएदेखि अहिलेसम्म महानगरपालिका आफैँ र विभिन्न सहयोगी दाताहरुको समन्वयमा करीब ८२ हजारलाई राहत वितरण गरेका छौँ,’ उनले भने, ‘अहिलेसम्म खाना खुवाएकाहरुको संख्या १ लाखको हाराहारीमा पुगेको छ । अधिकांश वडाले स्थानीय संघ-संस्था र सहयोगी दाताहरुसँग सम्वन्य गरेर खाना खुवाउने कामलाई निरन्तरता दिदैँ आएका छन् ।’
केन्द्रलाई पठाएको तथ्याङ्कअनुसार अहिलेसम्म वडा नम्बर-६ ले मात्रै २५ हजार बढीलाई खाना खुवाएको छ । सिद्धार्थ हल कुमारी गाल, चुच्चेपार्टी चोक लगायतका स्थानमा खानाको व्यवस्था गरिएको छ । त्यसैगरी वडा-१४ ले १९ हजार बढीलाई खाना खुवाएको छ । जागरण बस्ती सुधार संघ, सामूदायिक टोल सुधार समितिलगायतको समन्वयमा खाना खुवाउने काम भैरहेको वडाले जानकारी दिएको छ ।
वडा-३ ले पनि दैनिक दुई हजार बढीलाई खाना खुवाउँदै आएको जानकारी दिएको छ वडासँग सम्वन्वय गरे बोधिसतुवा बिहारले अव्यबस्थित बस्तीमा भएका परिवार, टिचिङ् हस्पिटल महाराजगञ्ज र कान्ति बाल अस्पतालमा भर्ना भएका बिरामीका कुरुवालाई दैनिक खानाको व्यवस्था गर्दै आएको वडाध्यक्ष दिपक केसीले जानकारी दिए । त्यसैगरी वडाकै समन्वयमा नारायणगोपाल चोकको एरिकल व्याङ्क्वेटकातर्फबाट होम बुढाथोकी र मेघा पार्टी प्यालेसले दैनिक खाना खुवाउने गरेका छन् । सामुदायिक सेवा केन्द्रबाट गंगालाल र न्युरो अस्पतालमा भर्ना भएका बिरामीका कुरुवाका लागि खानाको व्यवस्था गर्दै आएको छ ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता समेत रहनु भएका वडा-१५ का अध्यक्ष इश्वरमान डंगोलले पनि आफ्नो वडामा दैनिक १६ सयको हाराहारीलाई एक छाक खानाको व्यवस्था गरेको जानकारी दिए । ‘अहिले वडा-१५ का भूँइखेल, चमती, बुद्धपार्क, जनगल्ली विजयश्वरी गरी चार ठाउँमा खाना खुवाउने काम भैरहेको छ,’ प्रवक्ता डंगोलले भने, ‘भोलिबाट अन्नपूर्ण चोक चक्रपथबाट सुरु गर्ने तयारी भएको छ । अहिले यी चार स्थानबाट लगभग १६ जवानलाई दैनिक एक छाक खाना खुवाइ रहेका छौँ ।’ यी चार स्थानमा विभिन्न संघ-संस्थाले पनि खाना खुवाउनका लागि सहयोग गरिरहेको उनले जानकारी दिए ।
उनले वडाकै नेतृत्वमा धादिङ, मकवानपुरलगायतका स्थानका किसानबाट तरकारी ल्याएर उपभोक्तासमम पुर्याउने काम भैरहेको पनि जानकारी दिए । ‘महानगरवासी कोही पनि भोकै नरहुन भनेर पहिलो चरणमा राहत वितरण गरेका थियौँ,’ उनले भने, ‘राहत वितरणमा भिडभाड हुनेलगायतका केही समस्या पनि भए । अब खान नपाउनेहरुलाई खाना पकाएर खुवाउने र सकेसम्म घर-घरमा प्याकिङ सिस्टमको व्यवस्था गर्नेसम्मका विषयमा पनि सोचिरहेका छौँ ।’
सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमापनि महानगरपालिकाका विभिन्न स्थानमा सामूहिक मेस नै सञ्चालनमा रहेको छ । महानगरको वडा १६ अन्तरगत बाइपासको तरुण मावि, गंगाहल नजिक होलीगार्डेन स्कुलसँगै, बाइसधारा स्विमिङ पुलको पछाडि बिहान बेलुकी खाना खुवाउने गरिएको छ । यस्तै, वनस्थली खरिबोट, सानोभर्याङ, मैपी मन्दीरको प्रांगण र नयाँबजारको सासा बैंक्वेटमा बिहान बेलुकी नै खाना खुवाउने गरिएको मन्त्री मानन्धरले जानकारी दिए । महानगरको १७ नम्बर वडाको इन्द्रायणी मन्दिरमा पनि साँझको खाना खुवाउने गरिएको छ ।
वडा-१८ ले २ हजार र वडा-२७ ले ३ हजार बढीलाई खाना खुवाएको छ । वडा-५ ले पनि २ हजार बढीलाई खाना खुवाएको जानकारी दिएको छ । वडा-८ ले पसुपति विकास क्षेत्र कोषसँगको समन्वयमा ५ सय बढीलाई खाना खुवाएको छ । कोटेश्वर समाज सुधार युवा क्लव, सेती ओपी क्लव कोटेश्वरलगायतसँगको समन्वयमा वडा-३२ ले पनि ७ सय बढीलाई खाना खुवाएको जानकारी दिएको छ । वडा-२२ ले पनि उपकार सेवा समितिको पहलमा न्युरोडमा १ सय बढीलाई खाना खुवाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३