नेपालगन्ज – बाँकेको नरैनापुरमा क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज इन्सपेक्टर मानबहादुर विसीका अनुसार नरैनापुर ५ को दीपेन्द्र प्राविको क्वारेन्टाइनमा बसेका २५ वर्षका युवकको आइतबार बिहान ६:४० बजेतिर मृत्यु भएको हो। उनले बिहान ५:३० बजेतिर बान्ता गरेका थिए।
नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराज खरालकाअनुसार युवकलाई ज्वरो पनि आएको थियो। उनी ३० वैशाखमा भारतको मुम्बइबाट घर फर्केका थिए। शनिबार उनीलगायत क्वारेन्टाइनमा बसेका ३९ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। कोरोनाको रिपोर्ट भने आउन बाँकी रहेको बताइएको छ।
भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाले उनको स्वाबको परीक्षण भइरहेको बताए। रिपोर्ट आउन कम्तिमा ६ देखि ७ घण्टा लाग्ने बताइएको छ। यसअघि नरैनापुरमा भेटिएका ८ जना संक्रमितमध्ये ६ जना सोही दीपेन्द्र प्राविकै क्वारेन्टाइनका हुन्। उनीहरुको अहिले दाङको बेलझुण्डिस्थित आइसोलेसन अस्पतालमा उपचार भइरहेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७