१२ जेठ २०७७, काठमाडौं – जिल्ला प्रशासन कार्यालय कन्चनपुरले सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई सोमबार गड्डाचौकी नाकाबाट नेपाल भित्राउँदै छ ।
प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले कम्तिमा १२ सय नेपालीहरु भारततर्फ रहेको र उनीहरुलाई मध्याह्नबाट नेपाल भित्राइने जानकारी दिए ।
नेपाल प्रवेश गर्नुअघि उनीहरुलाई नाम, ठेगाना र क्वारेन्टाइनमा बसे–नबसेको विवरणसहितको फारम भराइने छ । सो फाराम भर्न छुटाएमा जिल्ला प्रवेश गर्दा कठिनाई हुने भएकाले अनिवार्य रुपमा फारम भर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी खतिवडाले भने, ‘कतिपय नेपाली भारतको क्वारेन्टाइनमा बसेका छन्, कतिपय त्यत्तिकै अलपत्र अवस्थामा छन्, उनीहरुलाई सिमानामा व्यक्तिगत विवरणसहितको एउटा सानो फारम भराएर र ज्वरो नापेर भित्राउँछौं ।’
तर, किट अभाव भएकाले उनीहरुको कोरोना परीक्षण भने हुने छैन । प्रजिअ खतिवडाले भने, ‘धेरै जना भएकाले अहिले उनीहरुको कोरोना परीक्षण गर्न सम्भव भएन ।’ नेपाल प्रवेश गराउँदा हरेकलाई एउटा सर्जिकल मास्क र एक बोतल पानी दिइने प्रजिअ खतिवडाले जानकारी दिए ।
नेपाल प्रवेश गरेकाहरुलाई भन्सार क्षेत्रको कम्पाउन्ड र गड्डा चौकी नजिकैको एउटा स्कुलमा राख्ने व्यवस्था मिलाइएको छ । त्यहाँ उद्योग वाणिज्य संघ लगायतले खाना खुवाउने प्रवन्ध मिलाएका छन् ।
‘सुदूरपश्चिम प्रदेशका र अन्य प्रदेशकालाई अलग–अलग राख्छौं र बसको व्यवस्था गरेर उनीहरुको घरसम्म पुर्याउने व्यवस्था मिलाउँछौं,’ प्रजिअ खतवडाले भने ।
यसअघि गत चैत ९ गतेसम्म गड्डाचौकी नाकाबाट ७० हजार नेपाली भित्रिएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३