काठमाडौँ – राष्ट्रिय पानी संरक्षण र स्वच्छता दिवस–सिथि नखः र अन्तराष्ट्रिय महिनावारी दिवस २८ मे को शुभ बिहानी सँगै लोकप्रिय हास्य कलाकार जोडी मदन कृष्ण श्रेष्ठ र हरिवँश आचार्यले ‘महिनावारी हुँदा रुडीबादी परम्परामा होइन आफ्नो स्वास्थ्य, स्वच्छता र सरसफाईमा ध्यान दिऔ, यस महिनावारी स्वच्छता दिवसको दिन हामी सबैले आफ्नो समाजबाट महिनावारी सम्बन्धि अन्धविश्वास हटाउने प्रयास गरौ’ भन्दै सामाजिक सञ्जाल मार्फत आह्वान गरे ।
गैर सरकारी संस्था गुथि र एरोशान नेपालको पहलमा काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका अन्तर्गत अनौपचारिक क्षेत्रमा काम गर्ने ३०० जना सफाई मजदुरलाई महिनावारी स्वच्छता सामाग्री वितरण गरियो । उक्त अवसरमा महिला पत्रकारहरुलाई पनि महिनावारी स्वच्छता सामाग्री उपलब्ध गराइएको थियो ।
समारोहमा बोल्दै काठमाडौ महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले महिनवारी आफैमा महिलाहरुको एक मात्र पहिचान भएको, पुरुषहरुले चाहेर पनि सन्तान जन्माउन सक्दैनन् तसर्थ महिनावारी हुनुमा गर्व गर्नुपर्छ बताइन् । महिनावारीलाई लुकाएर होइन खुलेर कुरा गरौ र महिलाहरुको प्रजनन स्वास्थ्यसँग सरोकार राख्ने भएको हुँदा महिनावारी लाई उचित व्यवस्थापन र सरसफाईमा ध्यान दिनुपर्ने कुरामा पनि जोड दिइन्।
ललितपुर महानगरपालिकाका उपमेयर गिता सत्यालले महिला पत्रकारहरुको महामारीको अवस्थामा महिनावारी स्वास्थ्यमा सम्बेदनशील हुनु पर्ने र सरसफाईमा विशेष ध्यान दिनुपर्ने बताइन् । महामारीको अवस्थाले लकडाउन भएको बेलामा महिला पत्रकारहरु फिल्डमा खटिदा महिनावारी व्यवस्थापन सहज होस भन्ने हिसावले महिनावारी स्वच्छता सामाग्री उपलब्ध गराईएको जानकारी दिइन् ।
यस लकडाउनको समयमा महिनावारी सामाग्रीको उपलव्धता विषयमा गुथि र एरोशानले गरेको ‘‘महामारीमा महिनावारी’’ नामक सर्वेक्षणले बजारमा सेनेटरी प्याडको उपलब्धतामा केही अनिश्चितता रहेको देखाएको छ । सर्वेक्षणका अनुसार हालसम्म धेरै महिलाले घरमै बाँकी रहेको प्याड प्रयोग गरिरहेकाले अहिलेसम्म धेरै समस्या नदेखिएको तर बजारमा प्याड किन्न खोज्ने महिलाहरुले भने महँगोमा प्याड किन्न परेको, आफुले रुचाएको ब्राण्ड नपाएको र कसैले किन्नै नपाएको पनि अवस्था रहेको देखाएकोे छ । हाल सम्म प्याडको उपलब्धतामा समस्या नभोगेका महिलामा पनि लकडाउन बढ्दै गएको अवस्थामा घरको प्याड सकिने र बाहिर बजारमा प्याड नपाउने डर रहेको देखिएको छ ।
महिनावारीमा चाहिने सेनेटरी प्याड अत्यावश्यक बस्तुको सुचीमा सरकारले नराखेका कारण यसको उत्पादन, ढुवानी र वितरण रोकिएको र यसले बजारमा प्याडको उपलब्धतामा समस्या ल्याएको एरोशानका राष्ट्रिय प्रतिनिधि प्रकाश अमात्यको भनाई थियो । यस कार्यक्रम मार्फत कुल १००० थान महिनावारी स्वच्छता किट सरसफाई मजदुलाई बाडिने छ जस्मा सेनटरी प्याड, साबुन, पञ्जा, मास्क, बाल्टिन आदी सामाग्री संलग्न छ । यस कार्यक्रमले पुरुषमा पनि महिनावारी सम्बन्धि जनचेतना जगाउने प्रयास गर्ने बिश्वास लिइएको छ ।
सरसफाईकर्मीहरुको समुह संयुक्त सरसफाई जागरणकी प्रतिनिधि र सरसफाईकर्मी माया तामाङ्गका अनुसार हाल लकडाउनका समयमा सरसफाई मजदुर महिलाहरुले महिनावारीका समय धेरै दुख खेप्नु परिरहेको छ । ‘‘सरसफाईको काम गर्दा महिनावारीको समयमा पटक पटक प्याड फेर्नुपर्छ तर यसका लागि काम गर्ने ठाँउमा शौचालय छैनन् ।’’ अहिले छाक टार्नै धौ धौ भएको समयमा प्याड किन्न झन गाह्रो भएको उनले बताइन् । ‘‘हामीलाई काम गर्न जाँदा पनि ठाउँ ठाउँमा मान्छेहरुले हामीलाई नआउ भन्छन् । प्याड किन्न जाँदा पनि कि त पसलै बन्द हुन्छ, खुलेको पसलमा पनि प्याड महँगोमा किन्नु पर्छ ।’’ प्याड वितरण कार्यक्रमले सरसफाईकर्मीलाई धेरै सहज हुने उनको भनाई छ र यस कार्यलाई उनले सह्रानिय भएको बताएकी छिन् ।
महिनावारी व्यवस्थापनका लागि चाहिने सामाग्री जस्तै प्याड महिनाहरुको लागि अत्यावश्यक सामग्री हुन् । युनिसेफको रिपोर्टका अनुसार पनि कोभिड लकडाउनले महिनावारीमा पनि अप्रत्यक्ष प्रभाव पार्नेछ र यसले गरिब र सीमान्तकृत समुदायमा धेरै असर पार्नेछ । यसै कारण सरसफाईकर्मीको नाजुक अवस्थालाई ध्यानमा राख्दै यो महिनावारी स्वच्छता सामाग्री वितरण गरिएको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३