काठमाडौं – उपत्यकाका तीनै जिल्लाका सीडीओले लकडाउनको कडाइका साथ पालना गराउनुको विकल्प नरहेको निष्कर्ष निकालेका छन् । लकडाउन उलङ्घन गर्ने क्रम बिहीबार बढेपछि काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको सामूहिक बैठक बसेको थियो ।
बैठकले सरकारले जेठ ३२ गतेसम्म कायम गरेको लकडाउनलाई कडाइका साथ पालना गराउने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।
“सरकारले ३२ गतेसम्म लकडाउनको घोषणा गरेको छ । सरकारको निर्देशनको अवज्ञा गर्ने छुट कसैलाई छैन । लकडाउन खुकुलो बनाउने अधिकार हामीलाई छैन,” उनले बैठकको निष्कर्ष सुनाउँदै भने, “सरकारले तोकेको अवधिसम्म लकडाउनको पालना सबैले गर्नुपर्छ । सरकारको निर्देशन प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ भन्ने हाम्रो सामूहिक निचोड हो,” उनले भने ।
उपत्यकामा सङ्क्रमणको जोखिम बढेकाले लकडाउन उलङ्घनमा कडाइलाई कायमै राखिने बताए । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पनि सरकारको निर्देशनअनुसार नै लकडाउनलाई पालना गराइने बताइन् । “हामी छलफलमै छौं । लकडाउनका सन्दर्भमा पीएमसीले निर्णय गर्ने कुरा होइन । क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीएमसी)ले नै निर्णय गर्छ । अहिलेको अवस्थामा लकडाउनको पालना हुनुपर्छ,” उनले भनिन् ।
उपत्यकाका सीडीओहरूले लकडाउनलाई अहिलेकै अवस्थामा पालना गराउने निष्कर्ष निकाले पनि आजै अपराह्न मन्त्रिपरिषद् बैठक बस्दैछ । आज (बिहीबार) बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटीमा केही हेरफेर गर्ने सङ्केत मिलेको छ । लकडाउनको अवधि निरन्तर बढाइपछि आक्रान्त बनेका व्यापारी–व्यवसायीहरूले स्वतस्फूर्त अवज्ञा गर्न थालेका छन् । उपत्यकाका धेरै स्थानमा पसलहरू खुलेका छन् । सवारी र मानिसहरूको आवागमनमा पनि वृद्धि भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७