काठमाडौं – प्रतिनिधिसभाले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेको नयाँ नक्सासहित संविधानको अनुसूची ३ संशोधन गरेको छ ।
शनिबार नेपालको संविधानको दोस्रो संशोधन प्रस्ताव सर्वसम्मतले निर्णय गरेको हो । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा भएको मतदानमा कुल सांसद संख्या २७५ मध्ये २५८ जनाले मात्रै सहभागी भएका छन् । सहभागी सबैले संशोधनको पक्षमा मत दिएका छन् र, दुई तिहाईभन्दा बढीले संशोधन पास भएको छ ।
तर संसद बैठकमा केही सांसद अनुपस्थित थिए ।
संसद सचिवालयका अनुसार चार सांसद रेसम चौधरी, मोहम्मद अफ्ताव आलम, विजयकुमार गच्छदार र हरिनारायण प्रसाद रौनियार निलम्बनमा छन् । उनीहरुले बैठकमा उपस्थित हुन र मतदान गर्न पाउँदैनन् ।
यस्तै सभामुखलाई पक्ष/विपक्षमा मतदान गर्ने अधिकार रहँदैन ।
समाजवादी पार्टीकी सांसद सरिता गिरी बैठकमा उपस्थित थिइन् । तर संशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरेपछि उनी छाडेर निस्किएकी थिइन् ।
यसबाहेक मतदान गर्न पाउने ११ सांसद बैठकमा उपस्थित भएनन् र मतदान गरेनन् ।
बैठकमा नजाने र मतदान प्रक्रियामा सहभागी नहुने सांसदमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार जना छन् । गोपालबहादुर बम, धनबहादुर बुढा, शिवकुमार मण्डल र हरिबोल गजुरेल अनुपस्थित भएका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका तीन सांसद अनुपस्थित रहे । जनागेन्द्रकुमार चौधरी, सूर्यबहादुर केसी र ज्ञान कुमारी छन्त्याल मतदानमा अनुपस्थित रहे ।
यस्तै राष्ट्रिय जनता पार्टीका अमृतादेवी अग्रहरी, प्रमोद शाह र दुलारीदेवी खत्वेनी तथा समाजवादी पार्टीका सूर्यनारायण यादव उनुपस्थित रहे ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७