काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय दैलेखका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
जिल्ला हुलाक दैलेखका तत्कालीन प्रमुख अमरबहादुर मल्ल, नायवसुब्बा सन्तोष गौतम, सहायक कम्प्युटर अपरेटर गणेश बहादुर केसी, नायवसुब्बा रणबहादुर बोहरा, लेखापाल शालीग्राम पौडेल, कोष तथा लेखा नियन्त्रक कार्यालयका तत्कालीन कोष नियन्त्रक शुभाखर न्यौपाने र लेखापाल दीपबहादुर थापाविरुद्ध विगो दावीसहित मुद्दा दायर गरिएको हो।
अख्तियारले उनीहरुबाट कुल १२ कराेड ७१ लाख बढी विगाे दावी गरेकाे छ।
शालीग्राम पौडेलबाट १ करोड ७५ लाख ५८ हजार ६३० रुपैयाँ र रणबहादुर बोहराबाट ३० लाख ३ हजार २१० रुपैयाँ विगो दावी गरेको छ। ती दुईबाहेक अरु ६ जनासँग प्रतिव्यक्ति १ करोड ८२ लाख ६ हजार ९ सय रुपैयाँ विगो दावी गरिएकाे छ।
अतिरिक्त हुलाक कार्यालयमा कर्मचारी नियुक्त गर्दा र भवन निर्माणका लागि ठेक्का आह्वान गर्दा अनियमितता गरेको अभियोगमा उनीहरुमाथि मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
मल्लले अतिरिक्त हुलाक कार्यालयहरुमा कर्मचारी नियुक्ति गर्दा तथा कार्यालय भवन निर्माणका लागि टेण्डर गर्दा अनियमितता गरी भ्रष्टाचार गरेको भन्नेबारे परेको उजुरीमाथि छानविन गर्दा अरु ७ जना मुछिएको अख्तियारले जनाएको छ।
छानविनका क्रममा नायबसुब्बा गौतम, सहायक कम्प्युटर अपरेटर केसी र तत्कालीन हुलाक सेवा विभागका शाखा अधिकृत सिंहले मल्लसँग मिलेमतो गरी तोकिएको दरबन्दीमा संख्या बढाएर लिखत गरेको देखिएको छ।
यस्तै सोही लिखतको आधारमा तत्कालीन हुलाक कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुखको रुपमा कार्यरत नायबसुब्बा बोहरा र लेखापाल पौडेलले दरबन्दीभन्दा १४७ बढी कर्मचारीहरुलाई नियमानुसार नियुक्ति नगरेको थाहा हुँदाहुँदै पनि मल्लसँगको मिलेमतोमा फर्जी तलबी प्रतिवेदन तयार गरेको पाइएको अख्तियारको दावी छ।
यसरी तयार पारिएको फर्जी तलबी प्रतिवेदनका आधारमा भएको भुक्तानीको आधारमा महालेखा परीक्षकको कार्यालयले वास्तविक दरबन्दी खुलाउन कोष तथा लेखा नियन्त्रण कार्यालयलाई पत्राचार गरेको थियो।
तर कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक शुभाखर न्यौपाने र लेखापाल दीपबहादुर थापाले मल्लसँगै मिलेमतोमा फेरि फर्जी तलबी प्रतिवेदन तयार पारी महालेखामा पठाएको छानविनका क्रममा भेटिएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३