वीरगञ्ज – पर्समा कार्यारत एक जना प्रहरी सहायक निरीक्षक (असई) सहित ५ जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
वीरगञ्ज महानगरपालिका अन्तर्गत पर्ने अस्थाई प्रहरी पोष्ट इनर्वागाउँका तत्कालिन असई पूर्णबहादुर तामाङ, हवल्दार विष्णु दयाल चौधरी, जवानद्वय अवधेश राय, राजकुमार गुरुङ र कावासोतीका सोनाम तामाङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले मुद्धा दायर गरिएको हो ।
अनुसन्धानकाे क्रममा उनीहरुले घुस लिएको पुष्टि भएपछि मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।
काेइरालाले भने, ‘२०७६ चैत ८ गते अस्थायी प्रहरी पोष्ट, इनर्वागाउँमा कार्यरत असई तामाङ र प्रहरी हवल्दार विष्णु दयालले घुस लिएको उजुरीपछि अनुसन्धान हुँदा उनीहरुले घुस लिएको पुष्टि हुन आएको छ ।’
असई तामाङ, प्रहरी हवल्दार विष्णु दयाल र लागूऔषध नियन्त्रण व्यूरो शाखा पर्साका प्रहरी जवान रायले अर्का प्रहरी जवान गुरुङसँग मिलेर अपरिचित हुण्डी कारोबारीबाट बरामद भएको अवैध २० लाख रुपैयाँबाट ७ लाख एकआपसमा बाँडीचुडी घुस लिएको दाबी अख्तियारले गरेको छ ।
जसमध्ये रायले १ लाख २५ हजार रुपैयाँ, प्रहरी हवल्दार विष्णु दयालले १ लाख १० हजार, चौधरीले नै अन्य सहयोगीहरुलाई दिन थप ६५ हजार र बाँकी ४ लाख असई तामाङले आफैसँग राखेकाे अख्तियारको आरोप पत्रमा उल्लेख छ ।
अख्तियारले असई तामाङ, विष्णु दयाल, राय र गुरुङलाई भ्रष्टाचार निवारण ऐन अनुसार घुस लिएको आरोपमा ७ लाख बिगो कायम गरेको छ ।
कावासोती नगरपालिका–५ बस्ने सोनाम तामाङले बयानका क्रममा असई तामाङलाई सजाय हुनबाट बचाउने प्रयास गरेको आरोप अख्तियारले लगाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७