भद्रपुर – झापाको हल्दिबारी गाउँपालिकामा अध्यक्षले गाउँसभा बहिष्कार गरेपछि उपाध्यक्षको नेतृत्वमा बजेट र नीति तथा कार्यक्रम पारित भएको छ ।
गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले शुक्रबार पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७७/०७८ का लागि २९ करोड ६४ लाख ७३ हजार रुपैयाँको वार्षिक बजेट पारित भएको जानकारी दिए ।
उनले यही असार १० गते गाउँपालिकाको सभाहलमा सातौं गाउँसभा शुरु भएलगत्तै अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देन सभा छाडेर बाहिरिएपछि गाउँसभा तथा नगरसभा सञ्चालन कार्यविधि ऐन २०७५ को दफा १६ को उपदफा ५ बमोजिम आफूले सभाको अध्यक्षता गरेको बताए । उपाध्यक्षकै अध्यक्षतामा सञ्चालित सो सभाले गाउँपालिकाको बजेट, नीति तथा कार्यक्रम बहुमतका आधारमा पारित गरेको थियो ।
गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले सभा चलिरहेका अवस्थामा अध्यक्षले सभा छाडेर हिँडेमा उपाध्यक्षले स्वतः अध्यक्षता गर्ने कानूनी व्यवस्था रहेको जनाउँदै सोही अधिकार प्रयोग गरी उपाध्यक्ष गिरीको नेतृत्वमा बजेट र नीति तथा कार्यक्रम पारित गर्नुपरेको बताए ।
गाउँ कार्यपालिकाले वडागत बजेट वितरणमा बहुमतका आधारमा पेलेर समानुपातिक नीति नअपनाएको र जलथल पर्यटकीय सडकको नामकरणमा कम्युनिस्ट नेता द्रोणप्रसाद आचार्यको नाम राखेका विषयमा अध्यक्ष लिङ्देनले असहमति राख्दै आएका थिए । सोही कारण सभामा नेकपा पक्षबाट हातपात भएको जिकिर गर्दै अध्यक्ष लिङ्देनले सभाबाट बाहिरिनुपरेको बताउँदै आएका छन् ।
गाउँपालिकाका उपाध्यक्ष गिरीले सभामा अध्यक्षमाथि कसैबाट हातपात नभएको र उनी आफैँले कार्यकर्तालाई बोलाई सभाकक्षमा तोडफोड गराएको आरोप लगाए । हल्दिबारी गाउँपालिकामा अध्यक्षमा लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट तथा उपाध्यक्ष गिरी तत्कालीन नेकपा (एमाले)का तर्फबाट निर्वाचित भएका थिए ।
पालिकाको कूल २९ सदस्यीय गाउँपरिषद्मा २२ जना नेकपा, ६ जना राप्रपा र एक जना नेपाली काङ्ग्रेसबाट प्रतिनिधित्व गर्छन् । परिषद्मा नेकपाको दुई तिहाइ बहुमत छ । रासस
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३