कथा : च्यातिएको पत्र
- गणेश पौडेल

‘प्रिय तिर्खा म तँलाई प्रेम गर्छु।’ भोकले मनैमनमा यौटा प्रेमपत्र कोर्‍यो र मुस्कुरायो।

‘आज त जसरी पनि भन्छु म’, आत्मविश्वास दह्रो बनायो। भोकले तिर्खासमक्ष राख्‍न नसकेको यौटै मात्र कुरा हो प्रेम प्रस्ताव।

आजकल भोक धेरैजसो यही विषयमा सोच्‍ने गर्छ। कैयौंबार उसले तिर्खालाई ‘म तँलाई प्रेम गर्छु’ भनेर भन्‍न हिम्मत पनि नकसेको हैन। तर, जबजब ऊ तिर्खाको सामुन्‍ने पुग्छ उसको आत्मबल तातो खरानीमा पानी पोखिएजस्तो भइदिन्छ।

हुनत प्रेमको परिभाषा के हो? भोकलाई थाहा छैन। प्रेमभित्र के के कुराहरू पर्छन्, त्यो पनि थाहा छैन।

उसले तिर्खालाई प्रेम गर्छ कि गर्दैन, त्यो झन् थाहा छैन। तर, भोकलाई यौटी प्रेमिका चाहिएकी छ। भोकलाई यौटी श्रीमती चाहिएकी छ।

त्यसो त उसले कैयौँपटक मित्रतामै यौनको सुखानुभूति भने लिइसकेको छ। विवाहपछि मात्र यौन भन्ने जमाना नै कहाँ पो रह्यो र अब। फेरि यौनको परिधि पनि त हुँदैन। यौन त विशुद्ध भावनात्मक कुरा हो। विवाहसँग यसको के सरोकार। शरीर त मनपछि न जोडिने हो। यौन शारीरिक भोगमा गएर सकिए पनि सुरुवात त मनबाटै हुने हो। फेरि भोकलाई यौनमा कुनै बन्देज पनि छैन। न समाजले छेक्छ न अरू कसैले। भाले न पर्‍यो।

धेरैजसो त तिर्खा आफैँ यौनको प्रस्ताव लिएर ऊसमक्ष आउँछे। ऊ तर्क गरिरहन्छे, ‘भोकाएको मान्छेलाई भोलि खानु भन्दा हुन्छ र? जहिले मन लाग्छ तहिले खाने हो।’ उसलाई यो हाम्रो पुरुषप्रधान समाज देखेर कत्ति पनि चित्त बुझेको छैन। ऊ भनिरहन्छे, ‘यौन पुरुषको मात्र पेवा हैन। पुरुषलाई जतिबेला चाहिन्छ त्यतिबेला नारी तयार हुनुपर्ने अनि नारीलाई चाहिया बेलाचै मनमा कुण्ठा गुम्स्याएर बस्‍नुपर्ने? म त मन लागेको हाकाहाकी भन्‍न हो। पुरुषलाई चाहिन्छ भने नारीलाई पनि चाहिन्छ। नारीलाई चाहिन्छ भने पुरुषलाई पनि चाहिन्छ। ड्याट्स इट।’ उसको कुरा सुन्‍नेहरू तिर्खाको कुरा सुनेर जिब्रो टोक्छन्।

भोकले धेरै तन्‍नेरीहरूको मुखबाट सुनेको छ ‘प्रेम भनेको यौन हो।’ तर, उसलाई पिटिक्कै थाहा छैन प्रेम भनेको यौन हो कि होइन!। यदि हो भने थाहै नपाई ऊ सयौंपटक प्रेममा परिसकेको छ। धेरै नारीसँगको आलिङ्गनमा डुबिसकेको छ। र, यदि प्रेम यौन हैन भने अरू के हो त? उसलाई पत्तै छैन।

उसले अली जवानी पाकेकाहरूबाट सुनेको छ ‘प्रेम भनेको चहाना हो। भोक हो। तृप्ति हो। अनुभूति हो। विश्वास हो। तर, उसलाई तिर्खाको कुनै चाहना छैन। कुनै भोक पनि छैन तिर्खासँग। तिर्खासँग जे जे भए, हुन्छन् ती सबै संयोग नै त हुन् उसका लागि। संयोग त प्रेम पक्कै हैन होला? उसोभए के त? फेरि झस्किन्छ ऊ।

‘कि यही हो त प्रेम?’ उसले आफ्नै अट्यासलाग्दो अवस्थालाई प्रेमसँग नतौलिएको पनि होइन। फेरि उसको असन्तोकी मनले यौटा पल्ला गह्रुङ्गो बनाइ दिइहाल्छ। प्रेम हुँदो हो त उसले सहज भन्न सक्नुपर्ने ‘म तलाईं प्रेम गर्छु।’ ऊ सक्दै सक्दैन। प्रयास गरे पनि अन्त्यमा हात लाग्यो शून्यको शून्यै। ‘बिनाप्रेम यौन हुनु भनेको मस्ति गर्नुमात्र हो। मोज गर साले गत्तिलो माल भेटेकै छस्।’ बरू साथीहरूको यही डाइलग बिझाइरहन्छ।

खै के भएको हो! कैयौँ स्त्रीसँग बारबार यौनको अफर राख्दा नकाम्‍ने उसका ओठहरू प्रेमको अफर राख्‍ने बेलामा भने काम ज्वरोले च्यापेजस्तै कापिदिन्छन्। गर्ल्याम्म अँगालो मारेर एक अर्काको धड्कन सुन्दा नकाँप्‍ने उसको हृदय जब प्रेमको कुरा आउँछ एककोश परै रहे पनि पानीबिनाको माछो उफ्रिएजस्तो उफ्रन थाल्छ।

तिर्खाको उठेको छातीमा कैयौँबार सलबलाएका उसका हातहरू जब प्रेमको कुरा आउँछ क्षणभरमै प्यारालाइसिस भइजान्छन्। यौनका लागि हट कहलिने प्रेमका लागि किन कुल हुनुपर्ने ऊ बुझ्दैन। साँच्चै ऊ अबुझ छ।

कैयौँ साथीहरूको प्रेम पत्रहरू कैयौँबार भोकका हातले लेखेको छ। कैयौँबार अपरिचित केटीको सामुन्‍ने साथीको हुलाकी बनेर पुगेको छ। ऊ लमी बनेर बाँधिएका प्रेमहरू अझै जिउँदै छन्। तर, तिर्खासँग – अहँ, ऊ ‘म तलाईं प्रेम गर्छु’ भन्‍नै सक्दैन। सक्दै सक्दैन। मरिगए सक्दैन।

के छ तिर्खामा त्यस्तो? – बरू ऊ सोची बस्छ।

के छ तिर्खामा त्यस्तो? -बरू ऊ खोजी बस्छ।

ऊ सम्झन्छ तिर्खासँगको पहिलो भेट।

कक्षा ६ को पहिलो कक्षा थियो त्यो , हस्याङफस्याङ गर्दै ऊ विद्यालय पुग्छ। ढोकामै उसको नजर कुनै अपरिचितसँग ठोकिन्छ। कुनै नयाँ साथी उनीहरूको कक्षाकोठामा थपिएकी हुन्छे। लामो कद, पातलो शरीर र बाटुलो अनुहार क्षणभरमै उसका नजरले नयाँ केटीको आवरण पढी भ्याउँछ। उसलाई लाग्छ केटीमा कुनै खास सौन्दर्य छैन। खास भनेको के? खास नभए किन उसका नजरहरू उतैतिर तानिइरहेका छन्? कक्षाकोठामा नयाँ हुनुनै खास हैन र? वास्तवमा खासको परिभाषा के हो? ऊ यस्ता कुरा बुझ्‍ने भइसक्या छैन।

फेरि उसमा आकर्षण र विकर्षणको भेद शरीरले छुट्याउने बेला पनि भइसकेको छैन। आकर्षण विकर्षणको भेदले पनि त कैयौँ परिस्थितिको अंकगणित मिलाउने गर्छ। खैर, जे भए पनि उसको नजर टक्क केटीमा अढिइरहन्छ।

नयाँ कुरामा सबैको चाख लाग्‍नु स्वाभाविक हो।

पहिलोपटक साइकिल देख्दा आँखा झिम्म नगरी दिनभर हेरिरहने भोक नै हो। के कारणले साइकिल हेर्‍थ्‍यो उसलाई आज पनि थाहा छैन। फेरि यहाँ त केटीको कुरा जो छ। उसको हेराई पनि एककिसिम स्वाभाविक प्रक्रियाअन्तर्गत नै छ। तर, ठीक त्यतिनै खेर अस्वाभाविक भइदिन्छ। कक्षा ५ मा होमवर्क नगर्दा सधैंजसो गणित शिक्षकले गालामा बजारिरहने झापडभन्दा तगडा झापड उसको गालामा बजारिन्छ।

आत्थानि आमा.. ऊ बोल्नलाई मुख आँ मात्रै गर्दै हुन्छ।

‘साले के देखिस् र घुरिघुरी हेर्छस्? आइन्दादेखि मतिर हेरिस् भने तेरा आँखाका दाना निकालेर गुच्चा खेल्छु बुझिस्?’ केटी त छुरा पो निस्किन्छे। झापडसँगै झापडभन्दा तेजिलो डायलग मार्दिरैछे।

भोकलाई छुलुमुतु हुन बेर नै लागेन।

‘हैट, यो केटी त लास्ट खतरा रैछ! योसँग जोगिनुपर्ने भयो।’ उत्तिनै बेला कक्षाका सबैको मगजले मन्त्र रट्यो। सबै डराए। त्यसै दिनदेखि नवआगन्तुक केटी कक्षाकोठाकी उस्ताद बनी।

साथीहरूको बीचमा बेइजत नै भए पनि भोकले कक्षाकोठा भने छाडेन। ऊ नियमित विद्यालयत आइरह्यो तर उसको अवस्था पहिलेको जस्तो भने रहेन। साथीहरूसँग पनि त्यति घुलमिल भएन। अझ त्यो नयाँ केटीसँग त छेउछाउ परेन। केटीहरू बस्‍ने बेन्चतिर फर्केरसम्म हेरेन।

समयले एकदिन युटर्न मार्‍यो।

सधैँझैं विद्यालय छुट्टी भएपछि भोक सरासर घर जाँदै थियो। उसको बाटो त्यही नयाँ केटीले पछ्याउन थाली। ‘ला! अब फेरि के गर्ने हो यसले?’ सोचेर उसको घाँटी हिक्क गर्‍यो। निधारमा चिटचिट पसिना पनि आयो। थर्रर्र शरीर काँप्यो। उसले पाइलाका गति बढायो।

उसको घर अली टाढै थियो। घरसँगको दूरीभन्दा कैयौँ गुणा नजिक थियो मनमा डेरा जमाएको डरको दूरी। बीचबाटोमा सानो जंगल पनि छिचोल्नुपर्थ्यो। ऊ जंगलमा पुग्यो। अझै उसले पछ्याउन छाडेकी थिइन। उसलाई अझै धेरै डर लाग्यो। ठिक त्यतिनै बेला उसको दिमाखमा एक आइडिया फुर्‍यो- छोरामान्छेले मुतेको छोरी मान्छेले हेरेको उसलाई याद थिएन।

भएनै पनि आबुई भनेर भागेको सम्झना छ। उसले त्यही अस्त्र प्रयोग गर्‍यो। केही नभएजस्तो, केही नदेखेजस्तो गरेर पिसाब फेर्न जंगलतिर लाग्यो। अलीपर पुगेर यौटा रूखमा छेलियो र पिसाब फेर्न लाग्यो। पिसाब पनि भन्या बेला कहाँ आउँछ र! त्यही पनि डराएको बेला थोपो झरेत मरिजाऊँ।

‘ओए साले तेरो त…’

थाहै नपाई उसलाई पछ्याइरहेकी केटी झ्याप्पै उसको सामुन्‍ने आइपुगिछे। बल्ल उसले देख्यो। ऊ लाजले पानीपानी भइगयो। त्योभन्दा धेरै डरले काँप्यो।

हाहाहाहा… ऊ हाँस्‍न थाली। मान्छेको सबैभन्दा ठूलो कमजोरी डर त रहेछ। त्यति नै बेला उसले मौका छोप्यो र पाइन्टको चेन नै नलगाई घरतिर दगुर्‍यो। तर, उसले पिछा छाडिन।

अलिपर पुगेपछि टक्क रोकियो। ‘तेरो के बिगार्देको छु र मेरो पिछा गर्छेस्?’ खै कहाँबाट शक्ति सञ्चय भयो कुन्‍नी फ्याट्ट भन्दियो।

ऊ केही नबोली उसको सामुन्‍ने ठिंग उभिई मात्र रही।

भोकले आफ्ना झुकेको नजर उठायो र क्रोधले भरिएका राता-राता आँखाले उसलाई हेर्‍यो। सायद भयले सीमा काटिसकेको थियो। मर्नुभन्दा केही क्षण अगाडि मदौरुले लामो श्‍वास फेर्छ। हातखुट्टा चलाउँछ। तंग्रिएर जस्तो गर्छ। ठिक त्यसरी नै भोकमा शक्ति सञ्चय भयो। उसले आउँदो विपद्को अनुमान गरेर पनि बिर्सिसकेको थियो।

‘मसँग दोस्ती गर्छस्?’ उसले फ्याट्ट भन्दिई।

हँ! ऊ झस्कियो मात्र। बोलेन।

‘साँच्चै मसँग दोस्ती गर्छस्?’

फेरि पनि ऊ बोलेन। यतिञ्‍जेल सम्ममा उसको क्रोध मत्थर भइसकेको थियो।

‘म तिर्खा।’ उसले दोस्तीको दाहिने हात ऊतिर बढाई। ऊ अकमकायो।

ऊ उसको प्रतीक्षा गरेर बसिरही। उसले हात झारिन्।

ऊ सोचिरह्यो।

ऊ पर्खिरही।

त्यतिनैबेला हावाको सानो एक झोक्का चल्यो। रूखको सुकेको झिँजो पिटिक्क भाँचियो र खुत्रुक्क उनीहरूको बीचमा खस्यो। उसको दिमागमा झल्यास्स ख्याल आयो ‘भोलिदेखि कक्षाको डन म’। ऊ खिसिक्क हाँस्यो र देब्रे हात मिलाउँदै भन्यो ‘ म भोक, भोकनाथ उपाध्याय।’

‘तिर्खा, तिर्खा कुमारी अधिकारी।’ उसले फेरि दोहोर्‍याई। भोक र तिर्खाको यही बिन्दुमा मिलन भएको थियो।

उनीहरूको मिलनबिन्दु सम्झिएर भोक फिस्स हाँस्छ। कति मीठो थियो त्यो मिलन। तिर्खा बच्चादेखिकै कडा स्वाभावकी केटी हो। खुबै हिम्मतवाली थिई। ऊ कसैसँग डराइन। डराउँदिन। अहिले झन् हक्की स्वाभावकी भएकी छे। त्यसबेलै ऊ ठूलठूला केटाहरूसँग दौडिन्थी। ठूला केटाहरूसँग मारपिट गर्थी। भन्थी ‘ठूलासँग हारे नै पनि हार्नुको मज्जा बेग्लै हुन्छ। भुराहरूसँग जित्नुको मज्जा हुँदैन।’ भोक र उसका साथीहरू ट्वाल्ल परेर उसका कुरा सुनिरहन्थे।

अहिले पनि त ऊ झैंझगडा गरिरहन्छे। ‘आज माइक्रोमा यौटा गिद्धेलाई पिटें। सालेले मेरो छातीमा कुइनो ठोक्काउँदो रछ।’, ‘बाटोमा बसेर सुसेला मार्दो रहेछ सालेलाई एक झापड हानेको ग्याङ नै आइलाग्यो। सकुञ्जेल ठोकें। नसकेपछि खाएँ।’ दिनैजसो पिटेका र पिटाई खाएका यस्तै किस्साहरू सुनाइरहन्छे।

कक्षा ८ मा हुनुपर्छ। गणित सरले यौटा हिसाब मिलाएनन्। उनी अकमकिए। बहाना बनाएर कक्षा छाड्न लागेका थिए। तिर्खा जुरुक्क उठी र सरासर ब्ल्याकबोर्डतिर लागी। सर टक्क रोकिए। उसले सरकै हातको चक खोसी र ब्ल्याकबोर्डमा सरसर हिसाब हल गरिदिई। सिंगो कक्षाले ताली पिट्यो। सरले लज्जित हुँदै स्यावासी दिन खोज्दै थिए। उसले दायाँ हात थोरै उठाई र हत्केलाले सरको बोली बीचमा काट्दै भनी। ‘भोलिदेखि यो कक्षामा हैन स्कुलमै नआउनू।’

सर रिसले आगो भइगए। उनले कक्षामा त केही बोलेनन् तर हेडमास्टरलाई भने कुरा लगाए।

हेडमास्टर कक्षामा आए।

‘सर, यौटा साधारण हिसाब नमिलाउने सर हामीलाई चाहिँदैन।’ हेडमास्टर बोल्नुभन्दा अघि तिर्खा नै बोली।

‘तिमीहरूको काम पढ्ने। कुन सर चाहियो कुन चाहिएन भन्‍ने हैन। सर पनि मान्छे नै हो गल्ती हुन्छ कहिलेकहीँ।’ हेडमास्टर कड्किए।

‘उसोभए सर के हामी गलतलाई पनि सही भनेरै पढिरहने? गलत नै सिकिरहने?’ तिर्खा हेडमास्टरसँग मुख लागी।

‘तँ चुप लाग्।’ हेडमास्डर अझै कड्किए। उनका गाला राताराता भइसकेका थिए। आँखा ठूलठूला भइसकेका थिए।

‘चुप किन लाग्‍ने? हाम्रो के गल्ती? सरकारी हैन प्राइभेट स्कुल हो। यत्रो महँगो फिस तिरेर गलत किन सिक्ने हामीले? गलत सिकाउन पैसा उठाएको?’

हेडमास्टर बोलेनन्। चुपचाप कक्षाकोठाबाट बाहिरिए।

भोलिपल्ट बिहानको एसेम्लीमा स्कुल क्याप्टेनले तिर्खालाई स्कुलले रेस्टिगेट गरेको अनाउन्समेन्ट गर्‍यो। त्यसपछि लगत्तै हेडमास्टरले स्पष्टीकरणसहितको छोटो स्पिच दिए।

तिर्खालाई हेडमास्टरको तर्क मन परेन। लाममा खडा भएकी ऊ सरासर कक्षाकोठामा गई। आफ्नो ब्याग भिरी र एसेम्लीको अगाडि खडा भई। माइकमा राष्ट्रगान बजिरहेको थियो। बन्द गरिदिई। माइक्रोफोन हातमा लिई र भन्‍न थाली।

‘धन्यवाद रेस्टिगेटका लागि। म केही गुनासो राख्दिनँ। यो ममाथिको पहिलो रेस्टिगेसन पनि होइन। अब म प्राइभेटबाट एसएलसी दिन्छु र बोर्ड टप गर्छु।’

सबै शिक्षक र विद्यार्थीहरू मुखामुख गर्न लागे। ऊ सरासर आफ्नो बाटो लागी।

नभन्दै तिर्खाले प्राइभेटबाट एसएलसीमा बोर्ड टप गरी।

एसएलसीपछि तिर्खाले नपढ्ने निर्णय लिई। परिवारले उसलाई परिवारको सदस्यबाट रेस्टिगेट गरिदियो। तिर्खा आवारा भई।

हुनत तिर्खा रेस्टिगेट नभएकै कहाँ पो छे र? ऊ जहाँ जान्छे फेरि त्यहाँ नजाने बनेर फर्किन्छे। जोसँग भेट्छे फेरि नभेट्ने बनेर फर्किन्छे। जोसँग बोल्छे फेरि नबोल्ने बनेर फर्किन्छे।

जहाँ जोसँग जे भए पनि भोक र तिर्खा बीचको दोस्ती भने टुटेन। टुट्दैन। न भोकसँग तिर्खाको कुनै गुनासो छ। त तिर्खासँग भोकको।

मैतीदेवी मन्दिर पछाडिको यौटा किस्सा रमाइलो छ। एक साँझ उनीहरू गफिँदै थिए अकस्मात तिर्खाले फ्याट्ट भनी ‘आज ह्वाइल्ड हुने। रातभर पिउने।’

‘क्याहो ह्वाइल्ड भनेको? के पिउने?’ भोकले नबुझेरै सोध्यो।

हाहाहा… तिर्खा हाँसी मात्र रही।

भोकले अझै क्युरियस नजरहरू नचाइरह्यो।

‘दूध’ हाहाहा फेरि हाँसी तिर्खा।

‘दूध? के को दूध?’ भोक अकमकायो।

हाहाहा…फेरि पनि तिर्खा हाँसी मात्र रही।

भोकले एकोहोरो तिर्खातिर हेरी मात्र रह्यो।

‘तेरो दाहिने हात ले त?’ तिर्खाले मुड फेरि। र भोकले दाहिने हात उठाउनुभन्दा अघि नै उसका दाइने हातको हात्केलामा च्याप्प पक्डी।

आफ्ना शरीरमा लगी,लोकतान्त्रिक पारामा हात चलाई।

‘कस्ती केटी हो यो? बिनासंकोच यो भिडभाडमा!’ भोकलाई करेन्ट लाग्यो। पहिलोपल्ट उसले कुनै स्त्रीको शरीरमा आफ्नो हात पुर्‍याएको थियो। उसको तल्लो ओठ थोरै खुल्यो र खुली रह्यो। त्यही ओठको बाटो भएर एकथोपा र्‍याल तुप्लुक्क उसको टिसर्टमा झर्‍यो। तिर्खाले उसको शरीरमा झन् तिर्खा थपिदिई।

‘साले र्‍याल चुहाउँछस्? भेट्दैनस् अहिले धेरै सपना नदेख।’

भोक अझै सपनामै थियो। केही बोलेन। तिर्खैले उसको हात तानेर उठाई। नजिकैको एक भट्टीमा छिरे उनीहरू। भट्टीमा तिर्खाले भनेजस्तो दूध त थिएन तर अरू धेरै कुरा थियो। जिन्दगीमै पहिलोपटक रक्सी चाख्यो उसले। चाख्यो मात्र होइन पिउनु पियो। विस्तारै उनीहरू ह्वाइल्ड भए। केही छिन् सडकमा कब्जा पनि जमाए तर भोकले आफूलाई सम्हाल्न सकेन।

भोक पहिलोपटक पिएको सम्झिएर फिस्स हाँस्छ। आजकल त ऊ ड्रङ्क्याड भइसकेको छ। र पिएकै निहुँमा बीचबाटोमै तिर्खाका कैयौँ झापड पनि खाइसकेको छ।

तिर्खाको पिउने सवालमा पनि आफ्नै तर्क छ। ‘पुरुषहरूले जहाँ, जसरी, जहिले पिउँदा हुने, नारीले किन नहुने? पुरुषले बाहिरवालीसँग बसेर टिल्ल धोक्दा हुने घरवालीसँग चाहिँ अलिकति पिउन नहुने? घरवाली चाहिँ नपिउने चाहिने? बाहिरवाली नपिउने परी भने इज्जत जाने, अनि घरवाली चाहिँ पिउने परी भने इज्जत जाने? यो कस्तो विभेद? के बहारवाली र घरवाली यौटै हैन र? दुवै एकै नारी हैनन् र? लोग्‍नेमान्छेहरू बाहिरवालीसँग जहाँ गएर सुते पनि हुने। जे गरे पनि हुने, घरवाली चाहिँ घरमा तड्पिएर बस्‍नुपर्ने? यदि लोन्‍ने अर्की नकचरीसँग लठारिएर हिँड्छभने स्वास्‍नीले पनि अर्को नकचरोसँग लठारिन पाउनुपर्छ।

लोग्‍ने बाहिरै रात काट्छ भने स्वास्‍नीले पनी बाहिर रात काट्न पाउनुपर्छ। लोग्‍ने चाहिँ महिनौँ बाहिर जाँदा केही नहुने। स्वास्‍नी एक रात बाहिर बसे अशोभनीय हुने? परिवारको इज्जत गुम्‍ने? परिवारमा नाम चाहिँ लोग्‍नेको रहने। अनि परिवारको इज्जत चाहिँ स्वास्‍नीले राखदिनुपर्ने?’ हुनत तिर्खा कसैकी स्वास्‍नी हैन र भोक पनि कसैको लोग्‍ने हैन तर तिर्खा समाजका प्रतिनिधि लोग्‍नेहरूसँग सवाल गरिरहन्छे।

तिर्खाले नै हो भोकलाई चुरोटको लत बसालेकी। ऊ भन्थी ‘कमन, डन्ट वरी म छु।’ हुन पनि त हो। आजसम्म उसले तिर्खाकै चुरोट त तानिरहेको छ।

‘आज ह्याब्बी ज्वाइन तान्ने’ कहिलेकाहीँ भोकलाई गाँजा तान्‍ने आदेश दिन्थी ऊ। साँच्चै उसलाई तिर्खाले नै त हो गाँजा तान्‍न पनि सिकाएकी।

तिर्खाले केही वर्ष नबित्दै बढेमानको घर किनी काठमाडौंमा। घर मात्र हैन, उसको घरमा संसारका सबै आधुनिक सेवा सुविधाहरू पनि जोडेकी छे। कहाँबाट ल्याई त्यत्रो सम्पति ऊ आफैं जानोस्। उसको सोख बढो अचम्मको छ। सुरक्षाका लागि हैन सोखकै लागि बढेमानका सातवटा कुकुर घरमा पालेकी छ। कुकुरहरू हेर्दा लाग्छ तिर्खाको घरमा कुकुर नभएर सातवटा बाघ छन्।

दिनदिनै तिर्खा नजिकैको मासु पसलमा जन्छे र भर्खर कसाइले मारेको सिंगो खसी बोकेर आउँछे। कुकुरहरूको माझमा फालिदिन्छे। कुकुरहरू बाघले मासु लुछे जसरी नै लुछ्‍न थाल्छन् खसीको मासु। ऊ भने बसेर कुकुरले मासु लुछेको हेरिरहन्छे। कुकुरहरूले मासु लुछिसकेर हड्डी तानातान गर्न थालेपछि भने ऊ आबेसमा आउँछे। ‘थुक्क पाजीहरू, मीठो मासु चाहिँ बाँडीचुँढी खाए। अब रहेको हड्डीमा चाहिँ झगडा गर्छन्।’

‘तलाईं थाहा छ भोक? यिनै, यस्तै कुकुरहरूबाट सिकेका हुन् हाम्रा शासकहरूले राजनीति गर्न। तैले याद गरेको छस् किन नेताहरूको घरमा ठूलठूला कुकुर पालिएका हुन्छन्?’

भोकको काम त मुन्टो हल्लाउने मात्र हो। तिर्खाको तर्क सुनेर ऊ फिस्स हाँस्छ र मुन्टो हल्लाउँछ।

तिर्खाले घरमै अरिंगाल पालेकी छ। अरिंगालको पनि राजा कालो अरिंगाल। विशालु बिच्छीहरू पनि छन्।

तिर्खाकै घरमा मिनिबार छ। कहिलेकहीँ ऊ देशका नामुद नेताहरूलाई आमन्त्रण गर्छे र रातभर पार्टी चलाउँछे। ठीक त्यसको भोलिपल्ट देशको सत्ता परिवर्तन हुन्छ। यौटी नारीको कोठीले देशको सासनसत्ता उल्ट्याइदिन्छ।

दुनियाँका शक्तिशाली कम्युनिज्मका बारेमा भोकले सुनेको छ। पढेको पनि छ। तर कस्सम उसले आजसम्म तिर्खा जति क्रान्तिकारी पात्र देखेको छैन।

‘तलाईं थाहा छ? यो देश हाँक्ने ठूलठूला भनाउँदाहरू मेरो के चुस्‍न आउँछन्?’

के? भोक अकमकाउँछ।

उसले आफ्नो ओठ देखाई।

राजनीतिसँग तिर्खालाई विशेष चासो छ। राजनीतिभन्दा धेरै चासो राख्छे अधिकार र स्वतन्त्रताको। ऊ भन्छे ‘पल्ला सधैँ एकतिर मात्र ढल्किनु हुँदैन। नारी पुरुष एकै काँटाका दुई पल्ला हुन्। एकतिर वजन बढी भए सही नापतौल दिँदैन। नापतौल नमिल्नु भनेको जीवनको हिसाबकिताब नमिल्नु हो।’ ….

तिर्खालाई सम्झँदासम्झँदै मनले कोरेको प्रेमपत्र धुजाधुजा पारेर च्यात्छ भोक। जब जब ऊ तिर्खालाई प्रेम गर्छु भन्न खोज्छ उसको मगजमा तिर्खाको हाउभाउ नाच्‍न थाल्छ। भोकलाई थाहा छ तिर्खा यौटी क्रान्तिकारी पात्र हो र उसले केही गलत पनि गरेकी छैन।

पुरुषले गर्दा श्लील ठहरिएकै कुरालाई उसले अंगीकार गरेकी हो। तर खै किन भोकलाई तिर्खा क्रान्तिकारी भएको मन पर्दैन। के क्रान्तिकारी नारी कुनै कसैकी प्रेमीका अथवा श्रीमती बन्‍न योग्य हुँदिन? जवाफ त भोकसँग छ तर ऊ आफ्नै मनले आफैँसँग गरेको सवालको जवाफ दिन सक्दैन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार