बुटवल – नेपालमा सलह भित्रिन थालेको हल्ला चलेकै बेला शनिबार एकाबिहानै बुटवलस्थित नेपाली सेनाको गरुड दलको ब्यारेक वरपर एकैसाथ असङ्ख्य नयाँ कीरा देखिए । गणका प्रमुख सेनानी ज्योतिकुमार थापाका अनुसार एकाएक गन्नै नसकिने कीरा देखिएपछि विषादी हालेर मार्न खोजियो । सलह तिनै थिए । प्रदेश–५ को कृषि विकास निर्देशनालयका प्रमुख यमनारायण देवकोटाका अनुसार अनुसन्धानका क्रममा रुपन्देहीमा भेटिएका कीरा सलह नै भएको पुुष्टि भयो ।
भारतमा किसानको बाली सखाप पारिरहेको सलह नेपालको रुपन्देहीमा भेटिएपछि प्रदेश सरकार यसको नियन्त्रणमा जुटेको छ । सलह भेटिएपछि अब कसरी अघि बढ्ने भन्ने बारेमा प्रदेश–५ सरकारले आन्तरिक गृहकार्य थालेको हो । शनिबार साँझ आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको बैठक बसी सलह नियन्त्रण गर्न आवश्यक रणनीति तय गरेको छ ।
बैठकमा सहभागी प्रदेश–५ को कृषि विकास निर्देशनालयका प्रमुख देवकोटाका अनुसार शनिबारैदेखि किसानलाई सचेत गराउन प्रचारप्रसार गर्ने निर्णय गरिएको छ । त्यस्तै सलह किसान आफैँले जम्मा गरेर आफ्नो वडा कार्यालयमा लगे प्रतिकिलो २० रुपियाँका दरले खरिद गर्ने निर्णय पनि बैठकले गरेको देवकोटाले बताए ।
यस्तै आकस्मिक निर्णय बुुटवल उपमहानगर पालिकाले पनि गरेको छ । प्रमुख शिवराज सुवेदीका अनुसार सलह नियन्त्रणमा प्रोत्साहन गर्न जम्मा गरेर बुझाउनेलाई पुरस्कृत गरिनेछ । सलह कपिलवस्तु, पाल्पा, गुल्मी, सिन्धुली लगायतका जिल्लामा पुगीसकेको छ । गोरखापत्रबाट
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७