काठमाडौं – टुटल र पठाओले सेवा थालेका छन् । सार्वजनिक सवारी बन्द भएकाले राइडिङ सेयर गर्ने एपहरुमार्फत ‘राइडिङ’ हुन थालेको हो । लकडाउनपछि यस्ता सेवा बन्द थिए ।
यस्तो सेवा सुरु भएलगत्तै ट्राफिक प्रहरीले भने नियमविपरितभन्दै कारवाही थालेको छ ।
नेपाली राइडिङ सेयर गर्ने कम्पनी टुटलले राइडरसँग कमिसन नलिने गरी सेवा थालेको छ । राइडरले पञ्जा, मास्क, चस्मा र सेनिटाइजर प्रयोग गर्नुपर्ने मापदण्ड तयार गरेर सेवा सुरु गरेको कम्पनीले बताएको छ ।
पठाओले भने अत्यावश्यक अवस्थामा अस्पताल पुग्नुपर्नेहरुलाई सेवा दिन लागिएको भन्दै राइडिङ सेवा सुरु भएको जनाएको छ ।
पठाओका क्षेत्रीय निर्देशक असिममान सिंह बस्नेतले ११२ जना राइडरलाई मात्रै राइडिङ सेवा दिन अनुमति प्रदान गरिएको जानकारी दिए ।
‘राइडरहरुलाई सेनिटाइजर, प्रोटेक्टिभ मास्क, सुरक्षात्मक कपडा लगागाएर मात्रै सेवा दिन भनेका छौं, राइडपछि सवारी पनि स्यानिटाइज गर्छौं,’उनले भने,’अस्पताल जानुपर्नेहरुलाई मात्र सेवा लिन अनुरोध गरेका छौं ।’
सार्वजनिक सवारी नचलेकाले समस्यामा परेकाहरुलाई सघाउने सामाजिक भावनासहित सेवा सुरु गरिएको उनले बताए । ६० हजार राइडर भएपनि सय जनाबाट सेवा दिनुको कारण त्यही भएको उनको भनाइ छ ।
जहाँ भेटेपनि कारवाही गर्छौं : ट्राफिक
महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने कुनै पनि हालतमा टुटल-पठाओजस्ता सेवा सञ्चालन गर्न नदिन बताएको छ । महाशाखा प्रवक्ता प्रहरी उपरीक्षक बामदेव गौतमले मोटरसाइलमा परिवारका सदस्यबाहेक अन्यले यात्रा गर्न नपाउने बताए ।
झन व्यवसायिक उद्देश्यले अपरिचित यात्रु र बिरामी ओसार्ने काम गर्दा संक्रमण फैलिने जोखिम हुने उनको भनाइ छ । ‘जहाँ भेट्छौं, त्यहीँ रोकेर कारवाही गर्छौं,’ उनले भने,’हामीलाई यसबारे सुचना आएकाले सबैतिर टुटल र पठाओको राइड सेवा दिइरहेकालाई रोक्न सर्कुलर गरेका छौं ।’
उनले कोभिड-१९को जोखिम बढिरहेको समयमा एउटै सवारीले बिरामी र अन्य यात्रु बोक्दा जोखिम झन बढ्दै जाने भएकाले सरकारी निर्णयअनुसार कारवाही हुने प्रष्ट्याए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३