काठमाडौं – साझा यातायातले बिहीबारबाट सेवा सुरु गरेको छ । सम्पूर्ण सुरक्षा प्रवन्ध मिलाएर साझाका २६ वटा बसले काठमाडौं उपत्यकाका ८ वटा रुटमा सेवा दिन सुरु गरेको साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए ।
उनले भने, ‘हाम्रा २६ वटा बसले आजबाट साविककै आठ वटा रुटमा सेवा सुरु गरेका छन् । यात्रुको चाप हेरेर आवश्यकताअनुसार बसहरु थप्दै जाने छौं ।’
लगनखेलबाट गोदावरी, थानकोट, लामाटार, बालाजु, सूर्यविनायकसहित सबै रुटमा साझा यातायातका बस चलिरहेका छन् । साझाले सरकारले तोकेअनुसार साविककोभन्दा ५० प्रतिशत बढी भाडा लिएर सेवा सुरु गरेको छ ।
यात्रुहरुलाई अनिवार्य मास्क लगाउन, बसभित्र भीड नगर्न, व्यक्तिगत रुपमा दूरी कायम गरेर बस्न र खुद्रा भाडाको व्यवस्था गरेर बस चढ्न साझाले आग्रह गरेको छ ।
साझाका चालक र सहचालकले पनि फेस सिल्ड लगाएर सेवा गरेका छन् । साथै यात्रुको सेवामा निस्किनुअघि बसका सिटलगायतका स्थानमा स्यानिटाइज गरिएको छ ।
सोमबारबाट मयूर, संयक्त, महानगर, सुन्दर यातायात लगायतका बस कम्पनीहरुले राजधानीमा सार्वजनिक बस चलाउन थालेका छन् । यातायात व्यवसायी कम्पनीका छाता संगठनहरुले बस नचलाउने निर्णय गरे पनि केही कम्पनीहरुले भने निर्णय अवज्ञा गर्न थालेका छन् ।
सरकारले काठमाडौं उपत्यकासहित सम्बन्धित जिल्लाभित्र मात्रै चल्न पाउने गरी सार्वजनिक सवारी खुला गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३