ललितपुर – खोकनाबासीले बुधबार रोपाईं जात्रा मनाएका छन् । उपत्यकामा मनाइने गाईजात्राको भोलिपल्ट ललितपुरको खोकनाबासीले रोपाईँ जात्रालाई विशेष रुपमा मनाउने चलन रहेको छ । खेतमा राम्रो उब्जनी भनेर तथा वर्ष भरिमा मृत्यु भएका आफ्ना परिवारका सदस्यको सम्झनामा यो पर्व मनाइने गरिन्छ ।
यसबाहेक उपत्यकामा गाईजात्रा मनाउने दिनमा खोकनाबासीले भने बिशेष रुपमा द्यं ज्या: जात्रा मनाउने चलन छ।
द्यं ज्या: जात्रा (पर्व) कृषि सभ्यताको एक विशिष्ट पर्वको रूपमा लिइन्छ । यस दिन श्री रुद्रायणी मन्दिरमा रहेको देवी देवताहरुको मूर्तिलाई चारजनाले बोकेर सिखालीको चौरमा लागी विशेष पुजाआजा गरिन्छ । त्यसपछि त्यस मूर्तिलाई पुनः श्री रुद्रायणीको फोंगा फल्चामा विराजमान गराई पुनः दिनभरी ब्रत बसेका ब्रतालु भक्तजनहरुले पुजाआजा गर्दछन् । पछि सोह्र जनाको समुहले त्यसलाई खटमा बोकी जितापुर फल्चामा विराजमान गराइन्छ । जितापुर भन्नाले खोकनाको को पुरानो नाउँ भनेर बुझिन्छ ।
सिनाज्या अर्थात रोपाइँ सकिए पछी खोकनाबासीहरुले आफ्नो घर घरमा एक वर्ष सम्म प्रयोग गरिने कृषि औजारहरु सहित अन्य औजार सामग्रीहरु पुजा गर्ने चलन छ।
त्यसै दिनको मध्यरातमा खोकनाको देब खलकले बिना मुकुटको नाच देखाउने गर्दछन् । र अन्त्यमा देवी देवताहरुको मूर्तिलाई पुनः श्री रुद्रायणी मन्दिरमा विराजमान गराउने चलन छ।
यसबाहेक यसै दिनमा यहाँको रुद्रायणी मन्दिरको अगाडी रहेको द्यः पोखरीमा बाख्रा चढाउने जात्रा पनि मनाइन्छ । यसका लागि यहाँको वडा कार्यालयले एउटा बाख्राको व्यवस्था गरिदिएको हुन्छ । यस दिन दिउँसो यहाँ त्यो बाख्रा ल्याएर् फाल्छ र स्थानीय युवकहरुके दुइ समुहले यसलाई आफ्नो हात पार्न खोज्छ । साँझ जुन समुहले बाख्रा लान्छ त्यो समुहले भोज बोलाउनु पर्ने र त्यहाँ नाटक पनि देखाउने हुन्छ । अन्य स्थानमा हुने भन्दा अलग जात्रा भएकोले यस जात्राको चर्चा हरेक वर्ष हुने गर्दछ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७