काठमाडौं – सिन्धुपाल्चोककी एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ । पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ६ कि ३४ वर्षीय पासाङ लामालाई स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकेपछि बिहीबार दिउँसो हेलिकप्टरबाट उद्धार गरी काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा उपचारको व्यवस्था मिलाइएको हो ।
२१ गते बुधबार बेलुका सुत्केरी व्यथाले च्यापेपछि उनलाई स्थानीय थाङपालधाप स्वास्थ्य चौकी पुर्याइएको थियो । तर पेटमा रहेको शिशुको स्वास्थ्य अवस्था असुरक्षित देखिएको र यस अघि समेत उनले मृत्य बच्चा जन्माएको हुनाले हवाई उद्धारका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई सिफारिस गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक आत्माराम धितालले जानकारी दिए ।
सो सिफारिसबारे मन्त्रालयले जानकारी पाएलगत्तै हवाई उद्धारको आवश्यक व्यवस्था मिलाएको थियो । अस्पतालमा पुर्याइएको आधा घण्टा पनि नबित्दै पासाङले बच्चालाई जन्म दिएको अस्पतालले जनाएको छ । गाउँपालिकाका अध्यक्ष टासी लामाले मन्त्री पार्वत गुरुङलाई सम्पर्क गरेपछि उद्धारका लागि तत्काल आवश्यक व्यवस्था मिलाइएको थियो ।
यस मन्त्रालय अन्तरगतको राष्ट्रपति महिला उत्थान कार्यक्रमले दूर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हेलिकप्टरबाट उद्धार गरी उपचारको व्यवस्था गर्दै आएको छ । हालसम्म ११९ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरी उपचारको व्यवस्था मिलाइएको कार्यक्रम समन्वय इकाईकी प्रमुख महिला विकास अधिकृत अञ्जु ढुंगानाले जानकारी दिएको मन्त्री गुरुङको सचिवालयले स्पष्ट पारेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३