काठमाडौँ – नेकपा एमालेका दोस्रो तहका नेताबीच जारी छलफलमा अध्यक्ष केपी शर्मा ओली नेपाल समूहको मागबमोजिम २०७५ जेठ २ कै कमिटी ब्युँताउन सकारात्मक भएका छन् । तर, ओलीले जेठ २ अघिको अवस्थामा फर्कनका लागि सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमा नेपाल समूहका २३ सांसदले गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखेको नेपाल समूहका एक नेताले बताएका छन् ।
पार्टी एकताका लागि ओली समूहका पूर्वसभामुख सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र नेपाल समूहका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरू सघन छलफलमा जुटेका छन् ।
पार्टी एकता जोगाउन विभिन्न तहमा संवाद भइरहेको जानकारी दिँदै नेम्वाङले भने ‘सहमति निर्माण गर्ने विषयमा हामी लागिरहेका छौं । आशा गरौं, पार्टी एकता बचाउन सकिन्छ ।’ नेपाल समूहका नेता पाण्डेले पनि पार्टी एकता जोगाउन र सहमति निर्माणका लागि प्रयास भइरहेको बताए ।
यता, एमाले एकताका लागि एमालेका दुवै पक्षका दोस्रो पुस्ताका नेताहरू वार्तामा बसिरहेका बेला माधव नेपाल पक्षीय जनसंगठनका नेताहरूले भने त्यसलाई धोकाको संज्ञा दिएका छन् ।
एमालेका नेपाल समूहको भ्रातृ संगठनहरूको सामूहिक बैठकमा सहभागी नेताहरूले झलनाथ खनाल र माधव नेपालको सहमति तथा निर्देशनबिना कुनै नेता वार्तामा बसेका छन् भने त्यो अनाधिकृत हुने टिप्पणी गरेका छन् ।
नेता नेपालको सहभागितामा जनसंगठनका प्रमुख तथा पदाधिकारीहरूको जुम बैठकले अब ओलीको अलमलमा नलागी पार्टी विभाजन गर्नुपर्ने सुझाव दिएका छन् ।
एकताको नाममा वार्ता गर्ने दोस्रो तहका नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराईलगायतलाई ओली पक्षसँगको वार्ताबाट फिर्ता हुन जनसंगठनका नेताहरूले माग गरेका छन् ।
नेपाल समूहका अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले अझै पनि वार्ता र एकताको नाममा धोका हुने भएकाले तत्काल पार्टी विभाजन गर्नुपर्ने सुझाव दिएका थिए ।
बैठकमा खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेलले एकताको नाममा फेरि पनि ओलीले अलमल्याउने सम्भावना रहेकाले नेतृत्व थप सचेत हुन आवश्यक रहेकोमा जोड दिएका थिए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३