चितवन – कोरोना महामारीका कारण बन्द भएर निरन्तर घाटा लागेपछि चितवनको सौराहाका होटल सञ्चालकले होटल बिक्री गर्न थालेका छन् । बैङ्कको ब्याज, व्यवस्थापन खर्च धान्न नसकेपछि सौराहाका ठूला दुई होटल बिक्री भएका छन् ।
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले कोरोना सङ्क्रमण र त्यसपछि भएको निषेधाज्ञाका कारण पर्यटन क्षेत्र धरासयी भएको जानकारी दिनुभयो । पहिलो कोरोना सङ्क्रमणले थलिएको पर्यटन क्षेत्र दोस्रो लहरले झनै गालेको उहाँको भनाइ छ ।
वाइल्ड लाइफ जङ्गल सफारीका लागि उपयुक्त मानिएको चितवनको सौराहा क्षेत्र अहिले सुनसान रहेको छ । पर्यटक नै नआएपछि करोडौँ लगानी गरेका होटलहरू सञ्चालनमा कठिन भएको छ । बैङ्कको ब्याज, किस्ता तिर्न नसकेपछि भित्रभित्रै होटल बिक्री गरेको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
कृष्ण भट्टराई सञ्चालक रहेको हेलिडे रिसोर्ट बिक्री भई स्वामित्व हस्तान्तरणको सबै प्रक्रिया पुरा भइसकेको छ । कृष्ण भट्टराईले आफन्तलाई नै होटल बेचेको बताउनुभयो । केही होटल बिक्रीका लागि तयारी अवस्थामा रहेको, बैना लिइसकेका छन् । हरेक वर्ष नयाँ होटल थपिने सौराहामा एक वर्षयता नयाँ होटल खोल्न व्यवसायी आएका छैनन् भएका होटल सञ्चालनमा कठिन भएको छ ।
बजारका पसल, अन्य क्षेत्रमा केही व्यापार भए पनि पर्यटन क्षेत्र शतप्रतिशत शून्य व्यापार भएको बताउँदै अध्यक्ष दीपक भट्टराईले भन्नुभयो, होटल मात्र होइन पर्यटकलाई केन्द्रित गरी पालेको हात्तीसमेत पाल्न नसकेर बिक्री भएका छन् । निजी क्षेत्रका ५८ वटा हात्ती पालेकोमा अहिले ४० वटा मात्र बाँकी रहेको जानकारी दिनुभयो । यही निषेधाज्ञाका बीचमा १८ वटा हात्ती बिक्री गरिसकेको उहाँको भनाइ छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३