काठमाडौं – चीनले एक महिनाअघि नेपाललाई उपलब्ध गराउने भनेको ५० लाख डोज खोपअन्तर्गत करिब आधाजति यही असारभित्र आउने भएको छ। चीनले नेपाललाई अनुदानमा १८ लाख र खरिद प्रक्रियाअन्तर्गत ५० लाख डोज खोप दिने घोषणा गरेको थियो।
बेइजिङस्थित नेपाली दूतावासलाई प्राप्त सूचनाअनुसार यो चरणमा चीनले घोषणा गरेको डोजभन्दा कम खोप दिने स्थिति रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ‘चीनस्थित नेपाली दूतावासलाई जानकारी भएअनुसार २० देखि ३० लाख डोज खोप दिने कुरा छ तर यति नै दिने भनेर यकिनसहितको पत्र आइसकेको छैन’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ डा. रोशनकुमार पोखरेलले भने। खरिदअन्तर्गत आउने यो खोपको मूल्य भने एउटाको १० देखि १४ अमेरिकी डलर पर्नेछ। चीनले नेपाललाई सिनोफार्म कम्पनीबाट उत्पादित ‘भेरोसेल खोप’ बिक्री गर्न लागेको हो।
लिखित रुपमा सम्झौतापत्र आइनसके पनि चीनले विश्वका ५० भन्दा बढी देशमा खोप बिक्री गरिरहेको र १ सय देशलाई सहुलियत दरमा बिक्री गरिरहेकाले नेपाललाई पनि सहुलियत दरमा खोप बिक्री गर्ने सम्भावना रहेको मन्त्रालयको परिवार कल्याण महाशाखाका प्रमुख तथा खोप सल्लाहकार समितिका संयोजक डा. तारानाथ पोखरेलले बताए। ‘नेपाल चीनको मित्र राष्ट्र भएकाले पनि उसले खोप सहुलियत दरमा बिक्री गर्ने सम्भावना देखिन्छ’, डा. पोखरेलले भने।
यो समाचार आजको नागरिक दैनिकमा छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३