काठमाडाैँ – एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट गराएर १० बुँदे सहमतिको स्वामित्व ग्रहण गराउन विघटित कार्यदलका सदस्य लागिपरेका छन् ।
तर, १० बुँदेप्रति नै असहमति राख्दै आएका वरिष्ठ नेता नेपाल अझै अध्यक्ष ओलीसँग भेट गर्न आनाकानी गरिरहेका छन् । अध्यक्ष ओलीले भने नेपाललाई आफ्नो निवास बालकोटमा स्वागत गर्न तयार रहेको बताइसकेका छन् । नेपालले ओलीसँगको भेटअघि संस्थापन पक्षका दोस्रो तहका नेता सुवास नेम्बाङ र विष्णु पौडेललाई भेटेर कुरा गर्ने बताएका थिए ।
त्यहीबमोजिम बिहीबार नेपाल र नेम्बाङबीच करिब डेढ घन्टा भेटवार्ता भएको छ । नेपालले पौडेलसँग शुक्रबार भेट गर्न सक्ने जनाइएको छ। नेम्बाङले दुई शीर्ष नेता भेटेर एकता प्रक्रियालाई निष्कर्षमा पु¥याउन आग्रह गरेको जानकारी दिए । ‘तपाईं (नेपाल) र अध्यक्ष कमरेड (ओली) भेटेर कुराकानी गर्नुहोस् र एकतालाई ठोस रूपमा अगाडि बढाउन सकिन्छ भनें’, विघटित कार्यदलमा संस्थापन पक्षका संयोजकसमेत रहेका नेम्बाङले भने । नेम्बाङको आग्रहमा नेपालले ‘ठीकै छ’ भनेर जवाफ दिएको जनाइएको छ ।
नेम्बाङले ओली र नेपालले बनाएको कार्यदलमा दुई पक्षबीच भएको १० बुँदे सहमति जोगाउन पनि आग्रह गरेका थिए । ‘१० बुँदे सहमति गरेका छौं । यसलाई टुंगोमा पु-याउनुपर्छ । अब अध्यक्ष र तपाईं कुराकानी गरेर अगाडि बढ्न मात्रै बाँकी छ’, नेम्बाङले नेपाललाई भनेका थिए । नेपालले नेम्बाङसँगको भेटमा पनि १० बुँदे सहमतिका विषयमा स्पष्ट नबताएको जनाइएको छ । ‘म कहाँ कार्यदलले दिएको प्रतिवेदन बोक्छु’ भन्ने जवाफ नेपालले दिएको स्रोतले बतायो ।
नेम्बाङले सत्तारुढ गठबन्धनमा सहभागिताका विषयमा प्रश्न गर्दा पनि नेपालले विभिन्न उपमा दिएर उत्तर दिएका थिए । ‘तपाईंले गठबन्धनमा छैन भन्नुभएको थियो । तर, पछिल्लो समय प्रतिनिधि गएको देखिन्छ। किन जानुभएको ?’ नेम्बाङको प्रश्न थियो । नेपालले भने कथा हालेर जवाफ दिएको जनाइएको छ । पार्टी यो अवस्थामा आउनुमा लामो कारण रहेको उनको भनाइ थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३