प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आइतबार उम्मेदवारी मनोनयन गरेका विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूविरुद्ध उनीहरूकै प्रतिस्पर्धीका साथै विभिन्न व्यक्तिले उजुरी गरेका छन् ।
उम्मेदवार मनोनयनमा उल्लेख भएको नाम, जन्ममितिसहित विभिन्न विषयमाथि प्रश्न उठाउँदै उजुरी परेको हो । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगनकुमार थापासहित विभिन्न उम्मेदवारविरुद्ध उजुरी परेको निर्वाचन आयोगले जनाएको छ । सोमबार निर्वाचन आयोगमा कांग्रेसका नेता विजयकुमार गच्छदारको उम्मेदवारीविरुद्ध उजुरी दर्ता भएको छ ।
त्यस्तै, स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र बुर्लाकोटीले नेपाली कांग्रेसले गठबन्धनबाट प्रतिनिधिसभातर्फ चितवन–१ बाट उठाएको उम्मेदवार विश्वनाथ पौडेलविरुद्ध निर्वाचन अधिकृतको कार्यालय चितवनमा उजुरी दिएका छन् । नेपालका लागि नेपाली पार्टीका प्रतिनिधिले काठमाडौँ–४ का कांग्रेस, एमाले र राप्रपाका उम्मेदवारहरूको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका छन् ।
काठमाडौँ–क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगन थापा, एमालेका राजन भट्टराई र राप्रपाका उम्मेदवारले नियमविपरीत मनोनयन गरेको दावी गर्दै उम्मेदवारी खारेजीको लागि उजुरी दर्ता गराएका थिए । त्यस्तै, काठमाडौँ क्षेत्र नम्बर १ मा नेपालका लागि नेपाली पार्टीका बालकृष्ण न्यौपानेले कांग्रेसका प्रकाशमान सिंह, एमालेका किरण पौडेल र राप्रपाका रवीन्द्र मिश्रले आयोगले तोकेबमोजिम कानुनी प्रक्रिया पूरा नगरी उम्मेदवारी पेस गरेको दावी गर्दै मनोनयन खारेजीको लागि उजुरी दिएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३