विभिन्न वामसमाजवादी दलले पार्टी एकताका लागि गृहकार्य थालेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम पूर्ण रूपमा सार्वजनिक भई संघीय र प्रदेश सरकार निर्माण भइसकेपछि पार्टी एकता संयोजन समिति गठन गरेर पार्टी एकताको कार्यलाई अन्तिम रूप दिने तयारीमा शीर्ष नेता जुटेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी (नेसपा), नेकपा राष्ट्रिय एकता अभियानका बीचमा पार्टी एकताका लागि गृहकार्य भएको हो । पार्टी एकतामा केही साना कम्युनिस्ट पार्टीसहित स्वतन्त्र समूहसमेत सहभागी हुँदैछन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बुधबार बिहान पार्टी एकताको विषयमा छलफल भएको स्रोतले जनाएको छ । प्रचण्ड र नेपालबीच छलफल हुनुअघि नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईबीच समेत पार्टी एकताबारे छलफल भएको थियो ।
‘स्थानीय तहको निर्वाचनपश्चात् नै हामीले पार्टी एकता संयोजन समिति गठन गरेर टुंगो लगाउनेबारे छलफल गरेका थियौं । अहिले निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिकपश्चात् सरकार गठन गरी पार्टी एकतालाई टुंगो लगाउने सहमति जुटेको छ,’ माओवादी अध्यक्ष प्रचण्डको सचिवालयले भनेको छ ।
यसमा एमाले परित्याग गरेका घनश्याम भुसाल, प्रभु साहसहितका नेताहरूको समेत सहभागीताबारे नेतासँग छलफल थालिएको बताइन्छ ।
माओवादी केन्द्रका महासचिव देव गुरुङले सहमत हुने दलबीच पार्टी एकता हुने बताए । यसअघि छलफल भए पनि निर्वाचनमा जुटनुपर्ने भएकाले केही टुंगो लाग्न सकेन् । आउने दिनमा छलफल गर्दै सहमति जुट्ने दलबीच एकता गर्दै अगाडि बढ्न सकिने उनले बताए ।
एकीकृत समाजवादीका उपमहासचिव उपमहासचिव डा. गंगालाल तुलाधरले पार्टी एकताका लागि आफूहरूले निर्वाचनअघि नै निर्णय गरेको र माओवादीसहित अन्य दलले समेत निर्णय गरिसकेपछि बाँकी काम समेत आगाडि बढ्ने बताए ।
बृहत् गठबन्धनको गृहकार्य
माओवादी, एकीकृत समाजवादी, नेसपा, एकता अभियानबीच पार्टी एकताको गृहकार्यसँगै अन्य साना दलसँग समेत मिलाएर बृहत् गठबन्धनको तयारीसमेत सँगसँगै भइरहेको छ ।
त्यसका लागि शीर्ष नेताले जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीसँग छलफल थालेका छन् । अहिलेको पाँच दलीय गठबन्धनको सरकार निर्माणका लागि राउत र चौधरीसँग छलफल भएको हो ।
प्रदेश तथा संघीय सरकार गठन गरेर राउत र चौधरीको पार्टीलाई समेत सरकारमा सहभागी गराउनेबारे छलफल जारी छ । स्रोतका अनुसार राउत सत्ता गठबन्धनमा सहभागी हुन तयार छन् भने चौधरी केही सर्त पूरा हुनुपर्ने अडान राखेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३