राष्ट्रिय समाचार समिति (रासस)ले संस्थाको ६४औँ वार्षिकोत्सवका अवसरमा संस्थामा कार्यरत छ विधामा १२ जनालाई पुरस्कृत गरेको छ । राससको केन्द्रीय कार्यालय भद्रकालीमा आज आयोजित वार्षिकोत्सव समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उहाँहरुलाई पुरस्कार प्रदान गरे ।
उत्कृष्ट सम्पादनतर्फको पुरस्कार अन्तरराष्ट्रिय समाचार सम्पादन शाखाका सम्पादक दिलीपप्रसाद शर्मा र नेपाली समाचार सम्पादन शाखाका वरिष्ठ सम्पादन सहयोगी छविलाल कुमालले प्राप्त गरे । उनीहरूले जनही रु १० हजार नगद र प्रमाणपत्र प्राप्त गरे ।
उत्कृष्ट समाचार सङ्कलनतर्फ भरतपुर कार्यालय प्रमुख नारायणप्रसाद अधिकारी र केन्द्रीय कार्यालयका समाचारदाता कालिका खड्का पुरस्कृत भए । उनीहरूले जनही रु १० हजार र प्रमाणपत्र प्राप्त गरे । उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार फोटो पत्रकार हरिराम भेटवालले प्राप्त गरे ।
त्यसैगरी उत्कृष्ट जिल्ला समाचारदाताको पुरस्कार ललितपुरका माधवप्रसाद घिमिरे, कैलालीका तिलकराज ओझा र सुनसरीकी सङ्गीता राईले प्राप्त गरे । उनीहरुले जनही रु २० हजार नगद र प्रमाणपत्र प्राप्त गरे ।
उत्कृष्ट आलेख विधातर्फ झापाका विशेष समाचारदाता चन्द्रकला भण्डारी र सहायक सम्पादक टिकाराम सुनार पुरस्कृत भए । उनीहरुले प्रमाणपत्रका साथमा जनही रु १० हजार प्राप्त गरे ।
पत्रकार भण्डारीको गत जेठ ३० गते प्रकाशित ‘बढ्दैछ आत्महत्याको कहर, छैन रोकथामको चासो’ र सुनारको मङ्सिर २१ गते प्रकाशित ‘मनोरञ्जन क्षेत्रमा हिंसा, रङ्गीन क्षेत्र नै रङ्गहीन’ शीर्षकका आलेख उत्कृष्ट भएका हु्न् ।
उत्कृष्ट कर्मचारीतर्फको पुरस्कार केन्द्रीय कार्यालयका कार्यालय सहयोगी राजिनन साह र मधेस प्रदेश कार्यालय जनकपुरका कार्यालय सहयोगी सूर्यप्रसाद बरालले प्राप्त गरे । उनीहरुले जनही नगद रु १० हजार र प्रमाणपत्र प्राप्त गरे ।
नायब महाप्रबन्धक तथा समाचार महाशाखा प्रमुख सोमनाथ लामिछानेको संयोजकत्वमा गठित पुरस्कार छनोट सिफारिस उपसमितिको सिफारिसलाई सञ्चालक समितिले अनुमोदन गरी पुरस्कृत छनोट गरिएको थियो ।
राष्ट्रिय समाचार समिति (रासस)ले ६४औँ वार्षिकोत्सवका अवसरमा तीन सेवाग्राहीलाई सम्मान गरेको छ । सेवाग्राही सम्मान पाउनेहरुमा सार्वजनिक सेवा प्रसारण संस्था (नेपाल टेलिभिजन), अनलाइन खबर डटकम र पोखरास्थित समाधान दैनिक रहेका छन् ।
त्यसैगरी नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन राससबाट वितरण हुने ‘आदत्यिध्वज जोशी स्मृति पुरस्कार–२०८१’ बाट अङ्ग्रेजी शाखाका कार्यकारी सम्पादक मनोज कार्की र फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठ पुरस्कृत भएका छन् । उक्त पुरस्कारको राशी जनही रु सात हजार पाँच सय रहेको छ ।
रासस कर्मचारी सङ्घबाट वितरण हुने ‘वासु रिमाल यात्री स्मृति पुरस्कार–२०८१’ बाट रासस कोशी प्रदेशका कार्यालय विराटनगरका वरिष्ठ समाचारदाता मोहम्मद सदरुल र रासस केन्द्रीय कार्यालयका सहायक मैना थापा पुरस्कृत भए । उनीहरुले जनही नगद रु सात हजार सात ७७ र प्रमाणपत्र प्राप्त गरे ।
नेपाल पत्रकार महासङ्घबाट वितरण हुने ‘रासस पत्रकारिता पुरस्कार–२०८१’ बाट नेपाली समाचार सम्पादन शाखाका सहायक सम्पादक विक्रम गिरी र फोटो सम्पादन शाखाका फोटो सम्पादक किरण भट्टराई पुरस्कृत भए । उनीहरुले जनही रु १० हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरे ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७