काठमाडौँ – फेरि एकचोटि प्रधानमन्त्री केपी ओलीले फागुन २८ गतेदेखि बर्खास्त एमाले उपाध्यक्ष वामदेव गौतमलाई बैठकभित्रै झम्टिए । र, उल्टै उनका ‘साइबर सेना’ ले अर्कैैखाले हल्ला चलाएर वामदेव ओलीतिर लागेको प्रचार गर्दा एकजना सुझबुझयुक्त सांसद ढडियामा फसे ।
अरु कारण हैन, वामदेवले ओलीलाई समर्थन गरिसक्नुभयो र बैठकमा जानुभयो भन्ने पारेर चितवनबाट वकिल पृष्ठभूमिका सांसद कृष्णभक्त पोखरेललाई ७ गते संसदीय दलको बैठकमा पु¥याई माफीसमेत मगाइयो । ११ बजेसम्म सिंहदरबारमा माधव खेमाका सांसदहरुबीच आगामी रणनीतिबारे छलफल गर्दै रहेका पोखरेल एकै छिनमा गायब भएका थिए ।
कृष्णभक्त उनै व्यक्ति हुन्, जसलाई कुनै दिन केपी ओलीले सक्ने भए चिथोरेरै भए पनि सिध्याउन चाहन्थे । त्यसदिनको बैठकमा पुगेका वामदेवले केपी ओलीले समानुपातिक सांसदलाई समेत कारवाही गर्ने अधिकार लिएकोबारे टिप्पणी गरे, ‘प्रतिनिधिसभा सदस्य मरेमा या राजीनामा दिएमा पद खाली हुने, समानुपातिकलाई चाहिँ जुनसुकै बेला हटाउन पाइने ? एउटै संसदभित्रका समानुपातिकचाहिँ सौताका सन्तान हुन् ? उनीहरुलाई प्रत्यक्षबाट आएका सांसदलाई जस्तो बजेट पनि छैन, कार्वाही पनि यिनैलाई गर्ने ?’ अनि, उहाँले प्रतिनिधिसभा विघटन असंवैधानिक हो भन्ने कुरा अदालतले नै पुष्टि गरिरहँदा अलिकति पनि नैतिकताको ख्याल नगरी किन पदमा बसिरहनुभएको छ ?’ भनेर प्रश्न गर्दागर्दै प्रधानमन्त्रीले शब्दबाण प्रयोग गरेर झम्टिए ।
र, सर्वोच्चको फैसलासमेत आफू अनुकूलको भनी व्याख्या गरे । बालुवाटारको बैठक बस्ने हलमा कसले बोल्यो, के बोल्यो भनेर बकाइदा भिडियो खिच्ने स्पाई क्यामरा फिट गरिएको र आवश्यकताअनुसार फोटो र भिडियो बाहिर ल्याउने संयन्त्र छ । बैठकमा हस्याङ्फस्याङ गर्दै कृष्णभक्त पुग्नासाथ उनलाई त्यही जासुसी क्यामेराको सहारामा भाइरल बनाइयो । कोमल ओलीको पछिल्तिर बसेर माइक्रोफोन समात्दै उनले गल्ती भयो, माफ पाऊँ भनेको अरु कसैले खिचेकै थिएन । तर त्यही भिडियो एकै छिनमा छताछुल्ल भयो । अरु सांसदलाई तर्साउन अब अरु के चाहियो ?
त्यसअघि बैठकमा वामदेवले अदालतको फैसलापछि राजीनामा दिनुपथ्र्यो भनेर दिएको सुझावलार्ई जवाफ फर्काउँदै प्रधानमन्त्रीले ‘मैले गरेको संसद विघटनको सिफारिश संविधानसम्मत थियो, कसले भन्छ असंवैधानिक थियो भनेर ? संविधानसम्मत गरेको छु, विधिसम्मत छ । अदालतको फैसलामा कहाँनेर लेखिएको छ केपी ओलीले असंवैधानिक काम ग¥यो भनेर ?’ भनिदिए । अदालतले तिम्रो काम असंवैधानिक हो भनिसकेपछिको अवस्थामा समेत प्रधानमन्त्रीको जिकिर थियो ‘फैसलामा केपी ओलीले असंवैधानिक काम गरेको हो भनेर ब्ल्याक एण्ड ह्वाइटमा लेखेको छ ?’ उहाँको अचम्मको तर्क थियो ‘त्यस्तो अवस्थामा सर्वोच्चले मलाई भन्नुपर्यो नि राजीनामा दे भनेर । फैसलामा नामै किटेर राजीनामाबारे केही बोलेको छ ?’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७