काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद झन्झन् बढ्दै गएको छ ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र वरिष्ठ नेता नेपालबीचको दूरी बढ्दै गएको छ । सर्वोच्च अदालत गत २३ फागुनमा गरेको फैसलापश्चात् पूर्ववत् अवस्थामा फर्किएको एमालेभित्र एकपछि अर्को विवाद बढ्दै जाँदा पार्टी गम्भीर समस्यामा फस्दै गएको छ ।
संस्थापन पक्षले बैठक बसेर विभिन्न निर्णय गरेपछि त्यसमा नेता नेपाल समूहले आपति जनाउँदै आएको छ । सो समूह २ जेठ २०७५ कै अवस्थाबाट पार्टी सञ्चालन गर्नुपर्ने अडानमा छ । ओली र नेपालबीचको आ–आफ्नै अडानले पार्टी दुई समूहमा विभाजित देखिएको छ ।
एमाले स्रोतका अनुसार दुवै नेताबीच कुनै सहमति नभए पार्टी आधिकारिक रूपमा दुईवटा बन्ने पक्का रहेको छ । ओली सहमति गर्दै नगर्ने, नेपाल झुक्दै नझुक्ने अडानले अन्ततः एमाले फुट्ने निश्चित नै भएको स्रोतको दाबी छ । ‘एकले अर्काको अस्तित्व स्विकार्नै नसक्ने रोग नेताहरूमा देखिएको छ जसले एकपछि अर्को समस्या थपेको छ,’ एमालेका एक नेताले भने ।
दुई ध्रुवमा विभाजित नेताहरूबीच दुईपटक भेटघाट भयो । ओली र नेपालबीच भएको भेटघाटले पार्टीभित्रको विवाद समाधान हुने विश्वास आम नेता–कार्यकर्ताको थियो । तर, दुवै नेता आ–आफ्नाे अडानमै रहेकाले पार्टी फुट्ने चिन्ता बढ्दै गएको हो ।
झन्डै पाँच महिनादेखिको छलफलहीन स्थिति तोड्दै ओली र नेपालबीच छलफल भएको थियो । नागपोखरिस्थित होटल मेरियटमा ओली र नेपाल संवादमा जुटेसँगै सिंगो देशकै राजनीतिक माहोल एकाएक तात्यो । पछिल्लो समय पानी बाराबारको अवस्थामा पुगेका दुई नेता एक्कासि संवादमा जुट्दा एमाले पंक्ति उत्साहित देखिए पनि त्यो धेरै समय टिक्न सकेन ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३