काठमाडौं – सरकारले एक वर्षअघि सञ्चालनका लागि भारतबाट खरिद गरेको रेलको वारेन्टी सकिँदासमेत सञ्चालनमा आउन सकेको छैन । नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतसँग खरिद गरेको दुई सेट रेलको वारेन्टी सञ्चालनमा आउनुअगावै सकिएको छ । एक वर्षको वारेन्टी भएको रेल एक वर्षअघि भारतको कोंकण रेल्वे कार्पोरेसनसँग सरकारले ८४ करोड ६५ लाखमा खरिद गरेको थियो ।
नेपाल रेल्वे कम्पनीद्वारा खरिद गरेर दुई सेट रेल २ असोज २०७७ असोजमा नेपाल ल्याइएको थियो । जनकपुर ल्याई नेपाल रेल्वे कम्पनीलाई सो रेल सेट हस्तान्तरण गरिए पनि अहिलेसम्म सञ्चालन आउन सकेको छैन ।
खरिद गरेको एक वर्ष पूरा भएपछि सो रेलको इन्जिन र बोगीको वारेन्टी ३ असोजमा नै सकिएको छ । रेललाई खुला आकाशमा पालले ढाकेर सशस्त्र प्रहरीको पहरा दिएर राखिएको छ । लामो समयसम्म राखिँदा रेललाई ढाकिएको पालसमेत च्यातिन थालेका छन् ।
अघिल्लै सरकारको पालादेखि सरकारी पक्षबाट रेल सञ्चालनको लागि पटकपटक समय तोके पनि सञ्चालनको मिति जुर्न सकेको छैन । रेल सञ्चालनका लागि कानुनदेखि जनशक्तिलगायतका समस्या रहँदै आएको छ । यसअघि सरकारले रेल सञ्चालनका लागि अध्यादेश जारी गरे पनि अहिले रेल सञ्चालनको विषय कानुनविहीन अवस्था रहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३