पछिल्लो समय नेपालमा रियालिटी शोको क्रेज ह्वात्तै बढेको छ । टेलिभिजनमा रियालिटी शोहरुको लहर नै चलेको छ । नचलोस पनि किन ? कृतिम संसारमा एकैछिन भए पनि वास्तविक्ता नियाल्न पाउदा दर्शकहरु लोभिइनु नौलो कुरा भएन । पछिल्लो समय नेपाली टेलिभिजनमा नयाँ नयाँ रियालिटी शो कसले पहिला प्रसारण गर्ने भन्ने होडबाजी नै चलेको छ ।
नेपाल आइडलबाट सुरु भएको विदेशी फ्रेन्चाइज शो भ्वइस अफ नेपाल, डान्सिङ्ग विथ स्टार, रोडिज र फरकपन नभएपनि नेपाल कै कमेडि च्याम्पियन र दोहोरी च्याम्पियनहरु हाल चर्चित रियालिटी शोमा पर्दछन् ।
नेपाल आइडल दोस्रो सिजनका विजेता रवि ओडले सुरु गरेको दुख बेच्ने कहानीले पछिल्लो समय प्रतिभासँगसँगै दुख देखाउन सक्नेले मात्र उपाधि चुम्छ भन्ने सोचाइ स्थापित गराइदिएको छ । ओड प्रतिभावान गायक हुन् , उनको स्वरको प्रसंसा धेरैले गरेका छन् । तर प्रतिभा देखाउने ठाउमा घरायासी दुख र आशु देखाएर दर्शकको भावनासँग खेलेर विजेता बनेको बुझाइ राख्नेहरु पनि प्रसस्तै छन् ।
भ्वइस अफ नेपाल दोस्रो सिजनका विजेता राम लिम्बुले पनि सोही तरिका अप्नाएर विजेता बने । गरिबी र आफूले गरेको संघर्षको कथाका कारण उनले पनि दर्शकको सहानुभूती संगाल्न सफल भए । रेष्टुरेण्टमा भाडा माझ्ने, घर रङ्गाउने र ठेलामा म: म: बेचेर गरेको संघर्षले दर्शकलाई निकै छोयो । उनी भ्वइस अफ नेपाल दोस्रो सिजनको उपाधि नै चुम्न सफल भए ।
फ्रेन्चाइज शो नभए पनि उत्तिकै साजसज्जाले भरिएको कार्यक्रम कमेडी च्याम्पियनको पहिलो सिजनमा खबपु नामले परिचित खड्ग बहादुर पुनले पनि सोही तिक्डम अप्नाउने प्रयास गरेपनि बिजेता भने हुन सकेनन् । एक पटक बाहिरिए पनि पुनः वाइल्ड कार्डबाट प्रवेश गरेका खबपुले पनि आफ्नो गरिबी देखाएर दर्शकको मन पगाल्न सक्दो प्रयास गरेका थिए । सुदुरपश्चिमको गरिब मान्छे काठमाडौँ आएर गरेको संघर्षले धेरै हदसम्म दर्शकहरु पग्लिएका थिए । तर केही समय अघि मात्र प्रसारण भएको कमेडी च्याम्पियन दोस्रो सिजनमा अतिथीको रुपमा हसाउन स्टेज चढेका खबपुको प्रस्तुती फिक्का थियो । उनी भन्दा अघि प्रस्तुती दिएका सजन श्रेष्ठले दिएको दम्दार प्रस्तुती र प्रतिस्पर्धाबाट बाहिरिए पछि पनि उनको लोकप्रियताले विजेताको दाबेदार बनेका खबपु निकै कम्जोर देखिए । प्रतिभा कम र भावना बढि देखाएका खबपु पराजित भएपछि धाधली भएको भन्दै विभिन्न युट्युबहरुमा अन्तर्वार्ता दिए ।
आशु बेच्ने क्रम नेपालको मौलिक ‘रियालिटी शो’ दोहोरी च्यम्पियनमा पनि चलिरहेकै छ । दोहोरीका चर्चित गायक श्याम रानालाई हराए पछि रिता क्षेत्रीको चर्चा चुलियो । विभिन्न युट्युब च्यानलहरुमा उनले पनि सुरु गरिन् दुख र संघर्षको कथा सुनाउन । गाउबाट काठमाडौ पसेपछि उनले गरेको संघर्षको कथाहरु युट्युबमा लाखौँ पटक हेरिए । युट्युबमा उनका उत्ताउला र छाडा भिडियाे बग्रेल्ति हेर्न पाइन्छ । तारा थापाको टोलीसँग प्रष्ट पराजित भएको निर्णयकहरुको नतिजा भन्दा फरक दर्शकहरुले रिता क्षेत्रीलाई भोट गरे, प्रतिभामा पराजित भएकी उनी, दर्शकको भोटले भने अगाडी बढिन् । दुख र आशु देखाउन सफल भएसँगै दर्शकको मन पगाल्न पनि उनी सफल भइन् ।
दुख र आशु देखाउन सिपालु अर्की चर्चित गायिका हुन् कल्पना दाहाल । इन्द्रेणीमा रमेश प्रसाइसँग दोहोरी गाएर चर्चामा आएकी दाहाल क्यामेरामा दुख पोख्न सिपालु छिन् । रमेश प्रसाइसँग प्रेम सम्बन्ध रहेको चर्चाले चर्चामा पुगेकी उनी प्रसाइको बिहेपछि भने केही रोकिइन् । उनको दाजुको वैदेशिक रोजगारीको शिल्शिलामा मृत्यु भएको थियो । उनको घरको ऋणको बारेमा पनि उनी निकै भावुक हुदै सुनाउछिन् । दोहोरी च्याम्पियनकै प्रतिष्पर्धाको क्रममा उनले बोल्ने मौका पाइहालिन् भने आफ्नो दुख र संघर्षको एक वाक्य पनि सुनाइहाल्छिन् । गएको श्रृंखलामा उनको दाहोरी प्रस्तुती निकै खल्लो प्रस्तुत भएको थियो । जे होस, प्रतिभा मध्यम भएपनि दुख देखाएर दर्शकको मन पगाल्नमा भने उनी पहिलो छिन् ।
रियालिटी शोहरु विशुद्ध आफ्नो प्रतिभा देखाएर दर्शकको मन जितेर आफ्नो छवी बनाउने एउटा ठूलो माध्यम हो । कति बिजेताहरु गुम्नाम भएका छन् तर वास्तविक प्रतिभाहरु भने विजेता नबने पनि दर्शकमाझ छाइरहेका छन् । विभिन्न प्रस्ताव र अवसर पाएर स्थापित पनि भएका छन् । प्रतिभा भन्दा बढी आशु बेचेर विजेता बनेकाहरु परालको आगो जस्तै हुन् , एकै लप्कामा सकिन पनि सक्छन् ।
रियालिटी शो प्रतिभा भएका व्यक्तिहरुको लागि माध्यम बन्न जरुरी छ, आशुका कथा नभएका तर प्रतिभा भएका व्यक्तिले भाग लिने वा नलिनेमा अल्मलिने वातावरणको श्रृजना नहोस् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३