काठमाडौं – चन्द्रागिरि केबलकारको विद्युतीय आपूर्ति प्रणालीमा समस्या आएपछि केबलकारमा रमाउँदै गरेका यात्रु अचानक डेढ घण्टा थुनिए । चन्द्रागिरि दर्शन गर्न जाने र फर्किने क्रममा यात्रु सवार केबलकार अचानक बन्द भएका थिए ।
मङ्गलबार दिउँसो साढे २ बजे चन्द्रागिरि केबलकारमा प्राविधिक समस्या आएपछि अड्किएका पाँच बालबालिकासहित ३७ जनाको प्रहरीको प्रयासमा उद्धार गरिएको छ ।
केबलकारमा यात्रु फसेको सूचनापछि महानगरीय प्रहरी वृत्त थानकोटबाट प्रहरी नायब उपरीक्षक नेतृत्वमा प्रहरी टोली, थानकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट एम्बुलेन्ससहित डाक्टर, नर्ससहितको टोली उद्धारका लागि केबलकार स्टेसन पुगेको थियो ।
त्यति मात्र होइन सम्भावित दुर्घटना हुन नदिन तथा यात्रुको सकुशल उद्धारका लागि जिल्ला दैवीप्रकोप तथा उद्धार समितिको प्राविधिक सहितको टोली पनि तयारी अवस्थामा राखिएको थियो ।
केबलकारमा प्राविधिक समस्या आएको भनिए पनि विद्युत् प्रवाह नै बन्द भएको थियो । वैकल्पिक ऊर्जा प्रवाह गर्ने जेनेरेटरमार्फत केबलकार सञ्चालन गर्ने प्रयास पनि सफल भएन ।
पटक पटकको प्रयास सफल हुन नसकेपछि कम्पनीका प्राविधिक तथा प्रहरीसहितको टोलीले हाते प्रविधिमार्फत केबल (केबलकार तलमाथि गर्ने लाठो)लाई घुमाएर डेढ घण्टापछि यात्रुको उद्धार गरिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७