सत्तारूढ पाँचदलीय गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा केन्द्रबाटै टुंगो लगाउने गरी तयारी थालेको छ । स्थानीय तहमा चुनावी तालेमल गर्न जिल्लालाई नै अधिकार दिने निर्णय गरेको गठबन्धनले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा भने केन्द्रबाट भागबण्डा गर्ने भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्ता गठबन्धन बैठकमा कुन महानगर र उपमहानगर कुन पार्टीले लिने भन्नेबारे छलफल शुरू भएको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेताहरूसँग छलफल गरेलगत्तै सत्ता गठबन्धनको बैठक बसेको हो । गठबन्धनको बैठकमा नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकासहित थप तीन उपमहानगरपालिकाको मेयर दाबी गरेको छ । बैठकमा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले पोखरा महानगरपालिकामा एकीकृत समाजवादीको दाबी र जितको आधार पेस गरेका थिए ।
एकीकृत समाजवादीले इटहरी, हेटौंडा र तुलसीपुर उपमहानगरपालिका प्रमुखमा दाबी प्रस्तुत गरेको छ । महानगरपालिका र उपमहानगरपालिकाको बाँडफाँट केन्द्रबाटै हुने भएकाले गठबन्धनको कार्यदलमा सिट बाँडफाँटमा छलफल तीव्र बनेको छ । सरकार प्रवक्ता एवं कांग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीले पहिले कुन पार्टीले कहाँ उम्मेदवारी दिने भन्ने तय गरिने र त्यसपछि सम्बन्धित पार्टीबाट उम्मेदवारको टुंगो लगाइने बताए । उनले स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार चयन र उनीहरूलाई कसरी जिताउने भन्नेबारे छलफल भएको जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३