पाँच दलीय सत्तारुढ गठबन्धनले आज (बिहीबार) चितवनको भरतपुर महानगरपालिकामा संयुक्त चुनावी सभा गर्दैछन् । आमसभालाई सत्ता गठबन्धन दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।
सभालाई सम्बोधन गर्न शीर्ष नेताहरु हिजो (बुधबार) नै चितवन पुगिसकेका छन् । नेकपा माओवादी केन्द्र चितवनका जिल्ला संयोजक रामचन्द्र अधिकारीका अनुसार भरतपुरको हाकिम चोकस्थित बसपार्कमा हुने सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका नेताहरुले सम्बोधन गर्ने छन् । सभालाई जसपा र राष्ट्रिय जनमोर्चाका नेताहरुले पनि सम्बोधन गर्ने बताइएको छ ।
कांग्रेसबाट गठबन्धनका उम्मेदवारबिरुद्ध उठेका बागी उम्मेदवारका कारण भरतपुर महानगरपालिकामा चर्चामा छ । भरतपुरको मेयरमा माओवादी केन्द्रबाट रेनु दाहाल र उपमेयरमा कांग्रेसबाट चित्रसेन अधिकारी उम्मेदवार छन् । गठबन्धनको साझा उम्मेदवार दाहालविरुद्ध कांग्रेसका नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन् ।
पौडेललाई उम्मेदवारी फिर्ता लिन गठबन्धनका नेताले भरपुर प्रयास गरेपनि उनी ब्याक भएका छैनन् । बागी उम्मेदवार पौडेलले सत्ता गठबन्धनका रेनुलाई चुनौती दिएका कारण भरतपुर गठबन्धनका लागि प्रतिष्ठाको विषय बनेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३