मेलम्ची खानेपानी आयोजनाको मर्मत सम्भार गरी यथाशीघ्र पानी ल्याउन माग गर्दै काठमाडौंका बासिन्दा आन्दोलित बनेका छन् ।
यसअघि स्थानीय संघर्ष समिति नै गठन गरी अर्थमन्त्री प्रकाशसरण महत र खानेपानीमन्त्री महेन्द्र राय यादवलाई भेटेर ज्ञापन पत्र समेत बुझाईसकेका उनीहरूले चरणवद्धरुपमा विभिन्न कार्यक्रम गरी सरकारलाई दबाब दिइरहेका छन् ।
मेलम्चीको पानी छिटोभन्दा छिटो उपलब्ध गराउन सरकारलाई दबाब दिन नागरिकको हैसियतले आफूहरूले पहल थालेको संघर्ष समितिका संयोजक गोविन्दराज पन्तले बताए ।
करिब ६ महिनादेखि मेलम्ची अवरुद्ध हुँदा पनि सरकारले चासो नदिएकोप्रति स्थानीयबासी आक्रोसित छन् । मेलम्चीको पानी गत वर्षामा बाढीले क्षति पुर्याएपछि काठमाडौंमा झरेको छैन ।
आयोजनाको पहिलो चरणको काम सकिएपछि ०७७ सालमा काठमाडौंमा पानी आएको थियो । अहिलेसम्म आयोजनाको सम्पूर्ण काम समेत पूरा भइसकेको छैन भने मेलम्चीबाट ल्याइएको पानीसमेत निरन्तर छैन । वर्षेनि बाढीका कारण आयोजनामा क्षति हुने बित्तिकै लामो समयसम्म पानी बन्द हुने गरेको छ ।
काठमाडौंको कोटेश्वर क्षेत्रका बासिन्दाले चरणवद्ध रुपमा सरकारलाई दबाब दिन आन्दोलनका कार्यक्रम गरिरहेका छन् । सोमबारदेखि सडकमा उत्रिएर आन्दोलनका थप कार्यक्रम अघि बढाउने संघर्ष समितिको तयारी छ । यसअघि काठमाडौंमा नेकपा एमालेले पनि मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन दबाबस्वरुप सडकमा प्रदर्शन गरेको थियो ।
नागरिकहरूले भने १२ मंसिरमा खानेपानी मन्त्री यादवलाई भेटेर ध्यानाकर्षण गराएका थिए । भेटमा मन्त्री यादवले यथासिघ्र आयोजनाको मर्मत गरी पानी ल्याउने बचन दिएपनि अहिलेसम्म काम अघि बढेको छैन । शुक्रबार आयोजनास्थल पुगेर फर्किएका सांसद प्रदीप पौडेलले आयोजना स्थलमा धेरै काम नभएपनि सरकारको चासो कम देखिएको भनेका थिए ।
स्थानीयबासीहरूले भने सरकारले अटेरी गरेपछि आफूहरू थप संघर्षका कार्यक्रम गर्न बाध्य बनेको बताएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३