काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रुकुमको सल्ले विमानस्थलका लागि उडेको नेपाल वायु सेवा निगमको जहाजका पाइलटले ड्युटी समय सकिएको भन्दै नेपालगंज नै अवतरण गराइदिए ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको नियम अनुसार दिनको १० घण्टा वा १० पटक ल्यान्डिङ गर्न पाउने हुन्छ । क्याप्टेन पेम्वा शेर्पाको १० घण्टाको अवधि सकिने भएका कारण सोमबार रुकुमको सल्ले विमानस्थल पुग्नु पर्ने जहाज नेपालगंज नै अवतरण गराइदिए ।
हुन त नेपाल वायु सेवा निगमको जहाजको सेवा बाध्यताले मात्र प्रयोग गर्ने गरेको सेवाग्राही नै बताउछन् । दुर्गम क्षेत्रका कतिपय ठाँउमा निगमको मात्र सेवा भएका कारण यात्रुसँग बिकल्प नहुदा मात्र निगमका जहाजका टिकट बिक्री हुने गरेको एक ट्राभल एजेन्सी संचालक बताउँछन् ।
विशेष त निगमका आन्तरिक उडानमा बिना झन्झट समय मै यात्रा गरेको अनुभव सुनाउने यात्रु बिरलै भेट्टिन्छन् । रुकुम पुग्नु पर्ने यात्रुलाई निगमको लापर्वाहीका कारण नेपालगन्ज अवतरण हुनु पर्ने बाध्यता अन्य निजी वायुसेवा कम्पनीका विमानमा बिरलै आइलाग्छन् तर निगमका जहाजमा भने यस्ता घटना अति समान्य हुन् ।
पाइलटको उडान अवधि सकिन लागेको खण्डमा अन्य पाइलटको व्यवस्था गर्नुपर्छ भन्ने सामान्य हेक्कासमेत निगमले राख्न सकेन । ति यात्रुका गन्तब्यमा पुगेर गरिनु पर्ने कामको कुनै वास्ता भएन निगमलाई । यदी निगम सरकारी स्वामित्वको नभइ निजी भइदिएको भए पक्कै पनि यात्रु रुकुम नै अवतरण गर्ने थिए । निगमको यो घटनाले देशको सरकारी स्वामित्वमा रहेका करिब सबै संस्था र विभागको प्रतिनिधित्व गरिरहेको छ । सरकारी अस्पतालको दुर्दशा, सरकारी कार्यालयको दुर्दशा, सरकारी बैँक र सरकारको स्वामित्वमा रहेका संस्थानहरुको दुर्दशाहरु निगमको यो घटनाले प्रतिनिधित्व गर्छ । सरकारी भन्ने बित्तिकै बिग्रेको, भत्किएको, लथालिङ, अव्यवस्थित हुन्छ भन्ने आम बुझाइ सत्य सावित गर्न थप टेवा पुर्याएको छ ।
निगमसँगै स्थापना भएका अन्य देशका वायुसेवाले विश्वमा उत्कृष्ट सेवा प्रदान गरिरहदा निगम भने ऋणमा चुर्लुम्म डुबेर चरम अव्यवस्थित वायुसेवा प्रदायकको रुपमा आफ्नो परिचय स्थापित गराइ रहेकै छ ।
सेवा र मुनाफाको लागि राष्ट्रले संचालन गरेको निगमले देशको ढुकुटी मात्र रित्याउने तर न सेवा न मुनाफा दिन नै सकिरहेको छ । यस्तो अवस्थामा अन्य कतिपय राष्ट्रहरुले चालेको कदम जसरी नै निगमलाई निजीकरण गर्दा सेवामा गुणस्तर र मुनाफा पनि उत्पन्न गर्न सकिने बारे पनि सोच्न जरुरी छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३