काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यको निर्वाचनअघि नै हार स्वीकार गरेका छन् ।
आगामी १२ माघमा हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा एमालेका उम्मेदवार पराजित हुने भन्दै उनले पार्टीका उम्मेदवारलाई नआत्तिन आग्रह समेत गरेका छन् ।
एमाले जिल्ला अधिवेशनको शुक्रवार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमद्वारा उद्घाटन गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टीले सोचे अनुसारको परिणाम हासिल गर्न नसक्ने धारणा राखेका हुन् ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा सोचेजस्तो परिणाम आउन सक्दैन भन्दै उनले आत्तिन जरुरी नभएको बताए । संसदीय संघर्षको मैदानमा एमालेमाथि गर्न सक्ने हानिकारक प्रहारको अन्तिम किस्ता नै राष्ट्रिय सभाको निर्वाचन भएको उनको भनाइ थियो ।
निर्वाचन परिणाम एमालेका लागि अलि प्रतिकूल आउन सक्ने भन्दै उनले त्यो आजको जनमत र आजको यथार्थ नहुने बताए । ‘साढे ४ वर्षअघि जनमत ल्याउँदा विभिन्न पक्षलाई सन्तुलन मिलाएर, विभिन्न प्रकारका व्यवस्थापनका नाममा त्यसलाई सम्बोधन गर्ने नाउँमा सीट बाँडेका थियौं । त्यो आजको जनमत र आजको यथार्थ हुँदै होइन,’ अध्यक्ष ओलीले भने ।
अहिले कम्युनिस्ट आन्दोलनलाई भित्रैबाट सखाप पार्न केही तत्व लागेको र पुरानो जनमतलाई समेटेर गठबन्धन बनाएको भरमा एमालेसँग उनीहरूले प्रतिस्पर्धा गरिरहेको उनले बताए ।
राष्ट्रिय सभाको निर्वाचनमा एमालेको पराजय निश्चित रहेको भए पनि उनले अझै एमाले बलियो नै भएको बताउँदै भने, ‘अहिले पनि हामी एक्लै अरू पार्टीभन्दा मजबुत छौं । हिजोको जनमत र हिजोको परिस्थिति दुरुपयोग गरेर प्रतिकूल परिणाम आउन सक्छ तर त्यो आजको जनमत, आजको यथार्थ होइन । यसमा हाम्रो सकारात्मक परिणाम आएन भनेर अनौठो मान्न कुनै आवश्यकता छैन ।’
अध्यक्ष ओलीले जो जति कमजोर छ, त्यसले नै उत्तिकै चर्को स्वरमा यो गठबन्धन चुनावसम्म जानुपर्छ भनेर कराइरहेको बताउँदै भने, ‘एमालेलाई गठबन्धन चाहिएको छैन । एक्लै चुनौती सामना गर्न सक्छ । देशका लागि खटेको, जनताका लागि काम गरेको विकासप्रेमी, शान्तिप्रेमी पार्टी हो । जनताको पार्टी हो, जनताबाट कसैले अलग गर्न सक्दैन ।’
निर्वाचन आयोगका अनुसार देशैभरबाट १९ सीटका लागि ४३ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।
निर्वाचनमा सम्बन्धित प्रदेशका प्रदेश सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने कानूनी व्यवस्था छ । फागुन २० गतेबाट राष्ट्रिय सभामा रिक्त हुने १९ सीटमध्ये ८ सीट एमालेका तर्फबाट रिक्त हुँदै छ । एकीकृत समाजवादीका ४, माओवादी केन्द्रका ४ र कांग्रेसका ३ सदस्यको पदावधि पनि सोही मितिमा सकिँदैछ तर गठबन्धनसहित अघि बढेका सत्तारूढ दललाई राष्ट्रिय सभा निर्वाचनमा थप नाफा हुने देखिँदा एमालेलाई भने चुनौती थपिएको हो ।
रिक्त हुने १९ सांसद ४ वर्षे अवधिका हुन् । निर्वाचन आयोगले ७ महिला, ३ दलित, २ अपाङ्गता भएका तथा अल्पसंख्यक र ७ अन्य विभिन्न समूह गरी १९ सीटका लागि माघ १२ गते निर्वाचन गराउन लागेको छ । सोही प्रयोजनका लागि गत मंगलवार आयोगले उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम राखेकोमा सातै प्रदेशमा गरी ४३ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।
जसमध्ये एमालेबाट १९ जना, कांग्रेसबाट ६ जना, माओवादी केन्द्रबाट ५ जना, एकीकृत समाजवादीबाट ५ जना, जसपाबाट २ जना, राप्रपाबाट २ जना, नेमकिपाबाट २ जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना र राष्ट्रिय जनमोर्चाबाट १ जनाको उम्मेदवारी परेको छ ।
सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले गठबन्धन कायम राख्दै एमालेका तर्फबाट रिक्त हुने सीटमा समेत भागबण्डा गरेर जाने निर्णय गरेपछि एमाले भने एक्लै चुनावी मैदानमा उत्रेको छ ।
गठबन्धनमा रहेका दलबीच भएको सहमतिअनुसार एमालेले जितेका ८ सीटमा कांग्रेसले ३, जसपाले २, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाले १/१ सिट पाउने गरी सहमति भएको छ । १९ सीट रिक्त हुँदा भएको भागबण्डामा कांग्रेसको भागमा ६ सीट, माओवादी केन्द्र र एकीकृत समाजवादी ५/५ सीट तथा जसपालाई २ र जनमोर्चालाई १ सिट परेको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३