काठमाडौँ – प्रतिनिधिसभामा अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसी शुक्रबार पनि टेबुल हुन नसकेपछि पाँच दलीय गठबन्धनको भविष्य के होला भन्ने अन्योल सिर्जना भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले छिटोभन्दा छिटो संसद्मा एमसिसी टेबुल गराउन चाहेका छन् ।
तर, उनको अहिलेसम्मको प्रयास असफल भएको छ । पाँच दलीय गठबन्धनको सहयोगबाट बनेको यो सरकारले एमसिसीका विषयमा साझा धारणा बनाउन सकेको छैन । पछिल्लोपटक बिहीबार राति र शुक्रबार बिहान बसेको गठबन्धन बैठकले एमसिसी अघि बढाउने कुरामा एकमत निर्णय गर्न सकेको छैन भने गठबन्धनको अर्को बैठक फागुन ८ गते आइतबार बिहान बस्ने भएको छ ।
एमसिसी टेबुल नभएपछि संसद्को शुक्रबारको बैठकमा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गरेर संसद् स्थगित भएको थियो । बैठकमा एमालेले पुरानै अजेन्डामा नाराबाजी जारी राखेको थियो ।
संसद्को अर्को बैठक पनि ८ गते नै बोलाइएको छ । पाँच दलीय गठबन्धन तोडाउने तर, एमसिसीमा मतदान नगर्ने नीति एमाले अध्यक्ष केपी ओलीले गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई त्यसप्रति सचेत रहन गठबन्धनकै नेताले सुझाव दिएका छन् । त्यसकारण पनि देउवा तत्कालै ओलीको विश्वासमा पर्नसक्ने अवस्था छैनन् ।
गठबन्धनबाट सरकार छाड्ने चेतावनी आउँदासमेत प्रधानमन्त्री देउवाले जबरजस्ती संसद्मा एमसिसी टेबुल गर्ने आँट गरेका छैनन् । सरकार फागुन ४ गतेको संसद् बैठकमा एमसिसी टेबुल गर्नबाट पछि मात्र हटेन, शुक्रबारको बैठकमा पनि एमसिसी अघि बढाउन सकेन । बिहीबार राति गठबन्धनको बैठक सकेर ओलीनिवास बालकोट पुगेका प्रधानमन्त्री देउवाले त्यहाँबाट पनि विश्वस्त आधार नपाएपछि शुक्रबारको संसद्को बैठकमा पनि एमसिसी टेबुल गर्न नसकेका हुन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३