काठमाडौं – १९ महिनाअघि भारतबाट ल्याइएका दुई थान रेल आगामी आगामी शनिवारदेखि यात्रुसहित गुड्ने भएका छन् । चैत १९ गते शनिवार रेल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले रेलको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
त्यसपछि जनकपुर–जयनगर रेलमार्गको ३४ किलोमीटर खण्डमा यात्रुसहित रेल चल्न थाल्नेछ । चैत १८ गते प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने कार्यक्रम छ । देउवा भारत भ्रमणमा रहेका बेला नै रेल उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । ‘दुई देशका प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट रेल उद्घाटन गर्नुहुनेछ,’ झाले भने, ‘नेपालबाट उक्त रेलमार्गमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री लगायतको भौतिक उपस्थिति हुनेछ ।’
२०७७ असोजमा ल्याइएका दुई थान रेल माघ अन्तिमसम्म पार्किङमै थिए । कानून, कर्मचारी र बजेटको अभाव देखाउँदै रेल सञ्चालनको तिथि पटक–पटक सारिएको थियो । कानूनी बाधा फुकाउन भन्दै तेस्रोपटकसम्म सरकारले रेलवे अध्यादेश ल्याइसकेको छ । गत साता तेस्रोपटक अध्यादेश जारी भएको थियो । गत बुधवारको नेपाल राजपत्रमा पछिल्लो अध्यादेश प्रकाशित भएको छ । अध्यादेशमार्फत कानूनी बाधा फुकाइएपछि प्रधानमन्त्री भारत भ्रमणमा रहेका बेला रेल उद्घाटन गर्ने बाटो खुलेको हो ।
लामो समयदेखि पार्किङमा रहेका ती रेल फागुन १ गतेदेखि यात्रु नबोकी गुडिरहेका थिए, अब भने रेलमा यात्रा गर्न पाइनेछ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३