प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथि लगाइएका आरोपको एकएक खण्डन गरेका छन् । समितिले बोलाएअनुसार बुधबार बिहान ११ बजे संसद् सचिवालय सिंहदरबारमा उपस्थित जबराले दिउँसो पौने १ बजेदेखि करिब ४ बजेसम्म बयान दिनेक्रममा आफूमाथि लगाइएका आरोपमा कुनै सत्यता नभएको प्रस्टीकरण दिएका हुन् ।
नेपालमा प्रधानन्यायाधीशलाई महाभियोग लगाएर प्रश्न सोधिएको यो पहिलो घटना हो । जबराले सोेधिएका ४३ प्रश्नमध्ये चारवटाको मात्र उत्तर दिएका छन् । बाँकी प्रश्नको जबाफ उनले बिहीबार दिनेछन् । उनले आफूविरुद्ध लगाइएका आरोपको बचाउ मात्र गरेनन्, उल्टै राजनीतिक दलका नेता, नेपाल बार एसोसियसन र सर्वोच्च बारका पदाधिकारीलाई पनि दोषारोपण गरे । महाभियोग सिफारिस समितिले लिखित प्रश्न सोध्नुअघि जबराले सत्ता गठबन्धनदेखि सर्वोच्च अदालतका न्यायाधीश र बारका पदाधिकारीमाथि गम्भीर आरोप लगाएका थिए ।
जबराले आफूमाथि महाभियोग लगाइनुको मुख्य कारण ‘ललितानिवास प्रकरणमा फैसलाको मिति तोक्नु’ रहेको दाबी गरेका छन्। आफूले गत कात्तिक १५ गते ललितानिवास प्रकरणमा अन्तिम फैसला सुनाउने मिति तोकेपछि नै सत्तापक्षले महाभियोग लगाउने रणनीति तय गरेको उनको दाबी थियो । तत्कालीन प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई मुछिएको बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने मन्त्रिपरिषद् निर्णयका आधारमा सम्बन्धित प्रधानमन्त्रीलाई पनि मुद्दा चलाइनुपर्ने माग गरिएको थियो ।
जबराले आफूमाथिको महाभियोग प्रस्तावलाई प्रतिनिधिसभा पुनःस्थापना र नयाँ सरकार गठनसँग पनि जोडेका थिए । उनले प्रतिनिधिसभा पुनःस्थापना गरेर आफूले निकै ठुलो गल्ती गरेजस्तो ठानिएको बताए । उनले कारबाही गर्दा पुनःस्थापनाको फैसलामा सहभागी पाँचैजनामाथि गर्नुपर्ने तर आफूमाथि मात्र महाभियोग प्रस्ताव दर्ता गर्नु सुनियोजित भएको टिप्पणी गरे ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३