धेरैजसो मानिस नोकरी (विभिन्न क्षेत्रमा जागिर) गर्छन् । महिनाको अन्तिम दिन एक निश्चित तोकिएको रकम तलबको रुपमा लिन्छन । तर, तपाईं यो सोच्नुहोस् त ती मानिसहरु काम किन गर्छन् ? तपाईं यो प्रश्नको उत्तरमा यो पनि भन्नुहोला काम तलब लिनको लागि गर्छन् । तलब लिएपछि के हुन्छ ? त्यसबाट खान, परिवार चलाउन सबै कुरा हेर्ने हो भने जिन्दगी जिउन मानिसहरु काम गर्छन् । तर जिन्दगी के हो ? दिनको १२ घण्टा त उनीहरुको अफिसमै बित्छ, अर्थात् नोकरी गर्ने मानिसहरु आफ्नो जिन्दगीको एक ठूलो हिस्सा समय नोकरी (काम) गर्नमै बिताउँछन्, अर्थात् नोकरी नै उनीहरुको जिन्दगी हो ।
अझै पनि प्रश्न उही छ, नोकरीले के गर्छ ? जिन्दगी जिउनका लागि जिन्दगी के हो ? खाली काम गर्दै जानु वा नोकरी नै जिन्दगी हो त ?
मुख्यगरी माथि उल्लिखित यो विचारलाई पश्चिमका दार्शनिक एलन वाट्सले मन्थन गरेका थिए ।
अहिले नोकरीबारेमा वर्तमान अर्थव्यवस्थामा प्रश्न गर्नु वास्तवमै छोटो हुन्छ । किन पनि भने अहिले धेरैजसो मानिसहरु काममै खट्छन । तर, मुट्ठी भरका धनी मानिसको हातमा पूरै विश्वभरको सम्पत्ति छ । उनीहरुका लागि पैसा काम गर्छ पैसाका लागि होइन ।
तपाईं यो विचार सुनेर यो माक्र्सवादी रहेछ भनी ठहराउनु होला । रोकिनुहोस्, हामी यो सिस्टम गलत छ भनिरहेका छैनौ तर, डेढ़ सय सालको इतिहासले नै यो बताउँछ कि अर्थव्यवस्था सायद यसै तरिकाले चल्न सक्छ । जसलाई हामी पुँजीवाद (क्यापिटालिज्म ) भन्छौं, भनिरहेका छौं ।
प्रश्न यो होइन कि तपाईं पुँजीवादको समर्थक हो वा विरोधी । ठूलो तर साधारण लाग्ने प्रश्न यो होकि पुँजीवाद नामक यो व्यवस्थाले पूरै दूनियालाई आफ्नो पकडमा कसरी लियो ? पुँजीवादी व्यवस्था कहाँबाट आयो ? यो व्यवस्था आउनु पूर्व के थियो ? के अब अगाडि अरु केही हुन सक्छ ? यो सबै प्रश्नको जवाफ पाउनका लागि क्यापिटालिजमको पूरै इतिहास जान्न आवश्यक छ ।
पुँजीवादभन्दा पहिले
यो कहानी तब सुरू हुन्छ जब हाम्रा पुर्खा जंगलमा रहने गर्दथे । त्यही जंगलमा घुमफिर गर्थे, त्यहीँ जीवन गुज्रने गर्दथ्यो । त्यसपछि खेतमा काम गर्न थाले । जंगलदेखि खेतसम्मको यात्रामा मानिसहरुको बीचमा एउटा नयाँ विचार आयो व्यक्तिगत सम्पत्तिको । १८०० साल ईसापूर्व कसैले यो भन्यो त्यो जमिन मेरो, र यहीँबाट सुरु भयो यो व्यक्तिगत सम्पत्तिको अवधारणाको ।
तर, कसरी यो सुनिश्चित भयो कि सम्पत्ति एकै व्यक्तिको भयो र त्यसमा कुनै दोस्रो व्यक्तिले हस्तक्षेप गर्दैन भनेर ? हो यसको सुनिश्चित राजशाहीले गरे । राजाको हातमा उस समय पूरा तागत थियो । जसले कानुन बनाउथे । यसै सिलसिलामा व्यक्तिगत सम्पत्ति (प्राइभेट प्रोपर्टी) एक हिसाबले कानुन बन्यो । अर्थात्, जसको जमिन उसकै जमिन, त्यसलाई तपाईं खरिद बिक्री गर्न त सक्नुहुन्छ तर त्यसलाई कसैले लुट्न सक्दैन ।
यो व्यवस्था लामो समयसम्म चल्यो । त्यसपछि सामन्तवादको सुरुआत भयो । अर्थात् सामन्तीको सत्ता । सामन्तहरु नै जमिनको मालिक हुने गर्थे र मजदुर वर्ग सामन्तीको खेतमा काम गर्थे । उनीहरुको खेतमा काम गरि अन्न उब्जाएबापत उपजको एक हिस्सा कामदारलाई मेहनतको रुपमा मिल्ने गर्दथ्यो । यूरोपको कुरा गर्ने हो भने १६ औं शताब्दीसम्म सामन्तवादले प्रभुत्व जमायो ।
यसपछि सुरु भयो मर्केन्टलिज्म (व्यापारवाद) को समय । जसलाई एक हिसाबका प्री–क्यापिटालिज्म पनि भन्न सकिन्छ । व्यापारवाद के थियो र यसको सुरुवात कसरी भयो बुझ्नलाई १६ औं शताब्दीको युरोपलाई बुझ्न आवश्यक हुन्छ ।
व्यापारवाद
१५१७ सालमा जर्मनीको विटनबर्ग सहरमा एक पादरीले चर्चको भित्तामा केही कागज टाँसिदिए । उस समय क्याथोलिक चर्चमा हुने गरेको भ्रष्टाचारको विरुद्धमा पहिलो पटक आवाज उठ्यो र सोही घटनाबाट इसाई धर्मको सुधारवाद सुरु भएको मानिन्छ । जुन पादरीको नाम थियो मार्टिन लूथर । उनी एक धर्म सुधारक थिए, जसलाई रोमन क्याथोलिक चर्चले बहिष्कार गर्दियो । लूथरको कारण त्यसबेला इसाई धर्ममै दरार पैदा भयो । क्याथोलिक भन्दा फरक अर्को प्रोटेस्टेंट इसाई शाखाको सुरुवात भयो ।
त्यस समय चर्च सबैभन्दा पवित्र र शक्तिशाली हुने गर्दथ्यो । यूरोपमा केही राजाहरु चर्चको एकाधिकारवादबाट छुटकारा पाउन चाहान्थे । जसले विस्तारै विस्तारै लूथरको क्रान्तिपछि खोलिएको प्रोटेस्टेंट शाखालाई अपनाउँदै गए ।
त्यसपछि युरोपमा इसाई धर्म दुई धारमा बाँडियो र चर्च (इसाई धर्म) को तागत कम मयो । विस्तारै मानिसहरु धर्मको डर र भयबाट बाहिर निस्किए र नयाँ ढंगबाट सोच्न, जान्न थाले ।
धर्मको अलावा पनि यूरोपमा अन्य समस्याहरु थिए ।
१४ औं शाताब्दीमा युरोपमा प्लेग फैलिएको थियो । जस कारण यूरोपको झन्डै आधा मानिस प्लेगको सिकार भए र मरे । जसले युरोपमा कामदारको कमी भयो ।
यी दुई कारणले युरोपको समाजमा ठूला परिवर्तन आयो ।
त्यो थियो :
पहिलो परिवर्तन : सामन्त वा राजाहरु जुन पैसा चर्चमा खर्च गर्ने गर्दथे त्यो अब, उनीहरु व्यापार गर्न या बढाउनमा प्रयोग गर्न थाले ।
दोस्रो परिवर्तन : युरोपका जनताले ‘सेक्युलर’ विषय अर्थात् यो भन्न सकिन्छ कि जसको धर्मसँग कुनै सरोकार छैन त्यस्ता विषय पढ्न थाले ।
जस्तोकि : भौतिकशास्त्र, जीवशास्त्र, भूगोलजस्ता विषय पढे र ज्ञान र सीपमा आधारित कामका लागि सहरमा बसाईं सरे ।
त्यो समय भन्ने हो भने खेती पहिले जस्तो लाभकारी पेसा थिएन । त्यो किन पनि भयो भने कामदारको संख्या निकै कम थियो र जमिन पनि सीमित थियो । यस दौरान युरोपमा अर्थव्यवस्थालाई लिएर एक नयाँ विचार पैदा भयो, जसलाई हामीले व्यापारवाद (मर्केन्टलिज्म) भन्न थाल्यौं ।
मर्केन्टलिज्मभन्दा पहिले मानिसहरु खेतीमार्फत नै पैसा आर्जन गर्दथे । जमिन र खेती उस समय धन आर्जनको प्रमुख साधन थियो । तर, चाहे खेती गर्न होस् या पशुपालन गर्न जमिनको आवश्यकता त पर्ने नै भयो । तर, सीमित मात्रामा भएकाले मानिसहरुमा प्रश्न उठ्न थाल्यो कि पैसा कहाँबाट आउँछ ?
यहीँबाट व्यापारवादको सुरुवात भयो । जमिन लिमिटेड छ, त्यसकारण पैसा पनि लिमिटेड छ, यदी एक जनालाई धनी बन्नु छ भने अर्को व्यक्तिको जमिन खोस्नु पर्छ–यो व्यापारवादको सोच थियो । युरोपमा जमिन सीमित भएकाले उनीहरुले धनी हुनका लागि अर्को देशलाई नै लुट्ने सोच्न थाले ।
व्यापारवादको सुरुवाती समयमा दुई कुराले समस्या पैदा गर्यो । एकातिर अटोमन साम्राज्य (अहिलेको इस्तानबुल) पर युरोपेलीले कब्जा गरे भने अर्कोतर्फ मेडिटेरेनियन सागरको बाटोमा भेनिसले आफ्नो एकाधिकार जमायो ।
यी दुई कारणले गर्दा युरोप र एसियाबीचको व्यापार धेरै प्रभावित भयो । जुन समस्याबाट मुक्तिका लागि एक पोर्चुगाली भास्को डिगामा नाम गरेका व्यक्ति भारत पुगेको बताइन्छ ।
त्यसपछि पोर्चुगली इस्ट इण्डिया कम्पनी बन्यो । यसैगरी डच, फ्रेंच, ब्रिटिस इस्ट इण्डिया कम्पनी बन्दै गयो । ती सबको बीचमा व्यापारको लडाइ थियो । जुन लडाइमा युरोपका देशहरुले अफ्रिका र एसियामा आफ्नो प्रभुत्व जमाए । यस दौरान, भारतको कतिपय हिस्सालाई ब्रिटिस इस्ट इण्डिया कम्पनीले कब्जा गरेको थियो ।
ब्रिटेन सरकारले त इस्ट इण्डिया कम्पनीलाई ब्रिटेनबाट साढे तीन लाख पाउण्डको कपडा किनेर भारतमा सस्तो मूल्यमा बेच्न आदेश नै दिएको थियो । जसले भारतमा बन्ने उच्च गुणस्तरको कपडाको बजार ध्वस्त पार्ने रणनीति ब्रिटेनको थियो । अर्को आदेश पहिलोभन्दा पनि रोचक थियो, जुन व्यापारवादको मूल सिद्धान्त मानिन्छ ।
व्यापारवाद एक यस्तो नीति हो जसमा एकतर्फी खुला व्यापार दुई देशमा गर्न सकियोस् ।
ब्रिटेनले पनि भारतको साथमा त्यस्तै गरेको थियो ।
ब्रिटेनबाट भारत ल्याइने कपडामा भारतमा कर शून्य गराएर भारतमा बनेको कपडा आफूकहाँ पठाउनु पर्दा धेरै कर लगाएको थियो । कपडामा मात्रै होइन समुद्री जहाज, ह्याण्डीक्राफ्टका सामग्री तथा अन्य क्षेत्रमा पनि ब्रिटेनले यस्तै उच्च कर लगाएको थियो । किनभने त्यतिबेला भारतको ठूलो हिस्सा अंग्रेजको कब्जामा थियो । जसकारण भारतको कतिपय उद्योगधन्दा पूरै बन्द भयो र इङ्ल्याण्डको पुँजीवादी वर्गलाई धेरै फाइदा पुग्यो । उनीहरुले नयाँ बजार लिए । नाफा हुने प्रविधिमा लगानी गरे र कतिपय नयाँ प्रविधिमा आधारित जस्तो कि कार, एयरक्राफ्ट जस्ता व्यवसायबाट फाइदा उठाए ।
तर, युरोपमा व्यापारवादले मुख्य गरी तीन ठूला परिवर्तन ल्यायो ।
पहिलो थियो राजनीतिक, दोस्रो वित्तीय र तेस्रो सामाजिक परिवर्तन ।
राजनीतिक
यूरोपेली राज्यलाई भारत र चीनसँग व्यापार गर्नको लागि पैसा अर्थात अर्थको आवश्यकता थियो । किनभने त्यो समय भारत र चीनलाई बेच्न लायक कुनै पनि खास उत्पादन युरोपेली राज्यसँग थिएन । अर्थको सन्तुलन युरोपेलीको हातमा थिएन, मानौ कि व्यापार घाटा उनीहरुलाई मात्रै हुने गर्दथ्यो । धेरै सुनको बदलामा युरोपेली राज्यले त्यो समय भारतीय उत्पादन खरिद गरेर लैजान्थे ।
युरोपमा न जमिन प्रशस्त थियो न त उनीहरुसँग कुनै सुनको खानी । भारतलाई दिने सुन कहाँबाट आउँथ्यो त ?
युरोपेली राज्यले जसका लागि एक ‘रेभेन्यु मोडल’ अर्थात् पुनरुत्थान मोडलको विकास गरे । उनीहरुले अफ्रिका र अमेरिकामा आफ्नो उपनिवेश बनाए । अमेरिकामा अफ्रिकाबाट दासदासीको रुपमा सहमत गराए वा बन्दी बनाएर अमेरिकामा काला वर्णका मानिसहरुलाई काममा लगाए । अमेरिकामा कटन लगायतका खेतीमा ती मानिसहरुलाई काम गर्न लगाउने गर्थे र युरोपको बजारमा उत्पादित सामग्री बेच्ने गर्दथे ।
जुन पैसाले भारत र चीनमा बनेका मसला, सिल्क जस्ता उत्पादन खरिद गरी यूरोपको बजारमा बेच्ने गर्दथे ।
वित्तीय
जब त्यो तहका व्यापार बिजनेस हुन्छ तब पैसाको कारोबारमा जटिलता त उत्पन्न हुने नै भयो । जसलाई सहज बनाउने प्रकृयामा बैंकिङ प्रणाली र बिजनेस कम्पनीहरुको सुरुवात भयो । बैंकिङ प्रणालीको नतिजा कर्जा लिने दिने प्रणाली बन्यो भने उक्त समय चाँदीको सिक्काको प्रयोगको सट्टामा कागजी नोटको प्रयोग गर्ने नियम लागू गरियो । यस्तै, नयाँ कम्पनी बनाउने बाटो पनि खुला भयो । जोइन्ट स्टक कम्पनी, चार्टर कम्पनी लगायतले व्यवसायिक रुपमा काम गर्न थाले । इस्ट इण्डिया कम्पनी पनि यस्तौ मध्येको एक कम्पनी थियो ।
सामाजिक परिवर्तन
आम रुपमा तत्कालिन समयमा यूरोपमा तीन तहको वर्ग थियो । जसमा सबैभन्दा उच्च वर्ग चर्चका पादरीहरु थिए, जसलाई क्लर्जी भन्ने गरिन्थ्यो । राजा र उसको सामान्तको वर्ग, जसलाई नोबिलिटी क्लास भन्ने गरिन्थ्यो र अर्काे थियो आम नागरिक । जतिबेला उनीहरु सबैभन्दा धेरै कमजोर थिए । त्यसपछि नै हो मध्यम वर्ग (मिडल क्लास)को उदय भएको ।
मध्यम वर्गमा व्यापारी, बैंकर, शिपका मालिक, लगानीकर्ता (इन्भेस्टर)हरु थिए ।
जो १७ औं शताब्दीसम्म आइपुग्दा शक्तिशाली बनिसकेका थिए । यस्तै, अर्कोतर्फ इसाई धर्ममा भएको रिफर्मपछि युरोपमा नयाँ राजनीतिक र सामाजिक विचारको जन्म भइसकेको थियो । लोकतन्त्र, उदारतावाद, ‘सेक्युलर विषय’ अर्थात् निश्चित विषयहरुमा रिसर्चदेखि मेडिसिन, फिजिक्ससम्म पढाइ हुन थालिसकेको थियो । व्यापारवाद र व्यवसायिकरणले युरोपमा रफ्तार यसरी पक्रेको थियोकि त्यो रोकिने अवस्था नै थिएन ।
तर, यसबीचमा धेरै समस्या पनि आएको थियो । १८ औं शताब्दीसम्म आइपुग्दा कुनै समय ब्रिटिसको उपनिवेशमा रहेको अमेरिकाले ब्रिटिस सत्ताको विपक्षमा बिगुल बजाइसकेको थियो । उस समय लोकतन्त्र, उदारवाद जस्ता विचार अगाडि बढ्दै थियो । तर, ब्रिटिस जो एक १६ र १७ औं शताब्दीमा तागतवर थिए, उनीहरुको औपनिवेशिकता सकिने डरमा युरोपका राज्यहरु थिए ।
१८ औं शताब्दीमा स्कटल्याण्डका दार्शनिक एडम स्मिथले एक प्रश्न गरेका थिए । राजनीतिमा लोकतन्त्र हुन सक्छ भने के अर्थव्यस्था पनि लोकतन्त्र आउन सक्छ ? यही एक प्रश्नबाट पुँजीवादको सुरुवात भयो ।
पुँजीवादको जन्म
एडम स्मिथलाई पुँजीवादका जन्मदाता मानिन्छ । उनले ‘वेल्थ अफ नेशन्स’ नामक किताब लेखे । जसमा उनले वस्तुको मूल्य बढाउने सन्दर्भमा व्याख्या गरेका छन् । पहिला मानिसहरु खेती वा पशुपालन गरेर अर्थोपार्जन गर्ने गर्दथे । त्यसका लागि जमिनको माग धेरै हुने नै भयो । तर उही जमिन र उही मेहनतमा कसरी नयाँ मूल्य पैदा गर्न सकिन्छ त्यसबाट पुँजीवादको सुरुवात भयो ।
एडम स्मिथले नयाँ भ्याल्यु (मूल्य) बनाउने एक मात्र तरिका छ, त्यो भनेको उत्पादन र निर्माणमा ध्यान दिएर सृजनशील काम गर्न सकिने अवधारणा ल्याए ।
अर्थात् यसलाई उदाहरणमार्फत बुझौं । तपाईंसँग कपास छ, त्यसलाई नबेचेर त्यसबाट कपडा बनाएर बेच, त्यो कपडामा त कपास नै छ । तर, त्यसको मूल्य कपास मात्र बेच्दा आउने भन्दा कपडा बनाएर बेच्दा ज्यादा हुन्छ । अर्थात्, म्यानुफ्याक्चरिङ, उत्पादनमुखी काम गरेर त्यसको नयाँ मूल्य सृजना गर्ने ।
एडमले धेरै जमिनमा लामो समय लगाएर खेती गर्नुको साटो सो समय र साधन उद्योग स्थापनामा लगाउने हो भने जमिन पनि काम लाग्छ र त्यसको मूल्य ज्यादा आउँछ । जुन विचार त्यो समय युरोपमा क्रान्तिकारी साबित भयो । किनभने कुनै देश धनी बन्नका लागि अर्को देशको जमिन नै कब्जा गर्नु जरुरी थिएन, बरु औद्योगिक क्रान्तिको जरुरत थियो । संयोगबस पश्चिमा राष्ट्रहरुमा उस समय विज्ञान र नयाँ प्रविधिको पनि विकास र विस्तार भइरहेको थियो । यस्तो अवस्थामा एडमको आइडिया युरोपमा एक हिसाबले अर्थव्यवस्थामा क्रान्तिको बीउ बन्यो ।
फ्री मार्केट (स्वतन्त्र बजार)
उसबेला फ्याट्री बनाउनका लागि जमिन र मजदुरको आवश्यकता थियो । यो त खेतीपाती गर्ने प्रणालीमा पनि यसरी नै काम हुने गर्दथ्यो भन्नुहोला तपाईं । तर, स्मिथले एक नयाँ विचार ल्याए क्यापिटल अर्थात् पुँजीको ।
पुँजीको मतलब मात्र नोट, पैसा मात्रै थिएन । उनले संसाधन, कच्चा पदार्थ, मेसिन, फ्याक्ट्री आदिलाई क्यापिटलको रुपमा चिनाए । जसमा पुँजीको लगानी गरी त्यसबाट उत्पादन गर्न सकिन्थ्यो । त्यसमार्फत नै थोरै जमिन र मेहनतमा ज्यादा पुँजी पैदा गर्न सकिन्थ्यो । उत्पादन हुन थालेपछि वस्तु तथा सामग्रीलाई बजारको आवश्यकता थियो बेच्नको लागि । उत्पादित सामग्रीको बिक्रीबाटै त पुँजी निर्माण हुन्थ्यो । स्मिथले बजारलाई स्वतन्त्र गरेर नाम दिए फ्री मार्केटको ।
एडमले भनेका थिए कि देशहरुबो बीचमा पनि स्वतन्त्र बजार लागू गर्नुपर्छ । जहाँ जुन देशमा जुन चिजको राम्रो उत्पादन हुन्छ वा बनाउन माहिर छ, त्यही चिज नै उसले बनाएर बेच्ने, पसलाई उक्त चिजको जरुरत हुन्छ उसले अर्को देशबाट आयात गर्ने । अर्थात् जहाँ जुन वस्तुको उत्पादन राम्रो छ त्यसलाई प्राथमिकता दिएर उत्पादन गर्ने, सबै वस्तु सबै देशले उत्पादन गर्न जरुरी नभएको तर्क स्मिथको थियो ।
हामीले यसअघि नै व्यापारवाद अर्थात् मर्केन्टलिज्मबारे चर्चा गरिसकेका छौं । पहिले मानिसहरु आवश्यक वस्तुको आयात गर्दैनथे । बरु उनीहरुका लागि आयातभन्दा निर्यात गर्नु फाइदाजनक हुने गर्दथ्यो । जबकि एडम स्मिथले भनेका छन्, फ्री मार्केटमा संलग्न दुवै पक्षलाई फाइदा नै हुन्छ !
यसलाई एडमले ‘इनभिजिबल ह्याण्ड अफ फ्री मार्केट’ को नाम दिएका छन् । इनभिजिबल ह्याण्डको लागि उनले यसरी एक उदाहरणबाट प्रष्ट्याउने कोसिस गरेका छन् ।
‘तपाईं सोच्नुहोला बेकरीवालाले ग्राहकका लागि यसकारण ब्रेड बनाउँछ ताकि उसले तपाईंको पेट भर्न चाहन्छ । उ यसकारण ब्रेड बनाउँछ ताकि उसलाई ब्रेड बनाउँदा फाइदा हुन्छ ।’
अर्थात् एक स्वतन्त्र बजारमा सबै अफ्नो स्वार्थको लागि काम गर्दछन् । तर, फाइदा सबैको हुन्छ । ब्रेड बनाउनेको पनि, अनि खाने उपभोक्ताको पनि ।
स्मिथको उक्त विचार क्रान्तिकारी थियो । यति क्रान्तिकारी कि आज पुरा दुनिया स्मिथले दिएको आइडियाअनुसार चल्छ । क्यापिटालिज्ममा बदलाव जरुर भएको छ तर, मूल आइडिया आज पनि स्मिथले दिएकै चलेको छ ।
अब तपाईंलाई स्मिथको आइडिया नलाग्ने सायद नलागेको हुनुपर्ने हो । स्मिथले राम्रो कुरा गरेछन् भन्ने लागेकै हुनुपर्ने हो ।
तर, यो सिस्टममा हामीले सुरुमा कुरा गरेको जस्ता १२ घण्टासम्म काम गर्ने नोकरीवालाको हालत त उही नै छ । मालिकको लागि नोकरी गर्नेहरु काममा पेलिइ नै रहन्छन् अवस्था उही महिनाको अन्तिम दिन आउने तलब मात्रै । यस्तो किन हुन्छ ?
यहाँ एक जबर्जस्त दार्शनिक÷विचारक कार्ल माक्र्सको पुँजीवादको इन्ट्री हुन्छ ।
कार्ल मार्क्स र पुँजीवाद
कार्ल माक्र्सलाई अक्सर हामी साम्यवादका जनकका रुपमा मान्ने गर्दछौं । तर, वास्तवमा साम्यवाद पुँजीवादको विश्लेषणबाट पैदा भयो ।
मार्क्सले पुँजीवादको जुन विवेचना गरे त्यो आफैंमा एक अलग चर्चाको विषय हो । उनका अनुसार पुँजीवाद आएपछि नयाँ प्रविधिको सुरुवात भयो, उत्पादनमा बढोत्तरी भयो । मानिसहरु खेतीमै रमाउनुको साटो ह्वाइट कलर जागिर गर्न थाले । म्यानेजर्स, इन्भेस्टमेन्ट बैंकर्स आदि । यसले एक व्यवसायी बैंकिङ सिस्टम बन्यो । तर, पुँजीवादकै कारण समस्याहरु पनि आए । जसमा समाज दुई तहमा विभाजन भयो । सम्भ्रान्त (इलिट) र कामदार वर्गमा । माक्र्सले पुँजीवादीको निन्दा यस कारण गरे कि यो प्रणालीमा इलिट वर्गले लेबर अर्थात कामदारको शोषणबाट लाभ लिए । धनीले गरिबलाई शोषण गरे ।
मार्क्सले वर्गको अलवा पुँजीवादले बसाईंसराइको समस्यामा ल्याएको बताएका छन् । उनका अनुसार पुँजीवादी व्यवस्थामा मानिसहरु गाउँ छाडेर सहरतिर राम्रो कामको खोजीमा निस्किए र यूरोपका सहरमा झुप्रा बस्ती (स्लम्स) बने । त्यहाँ बस्ने श्रमिकहरुलाई सरसफाई, शुद्ध पिउने पानी र डिग्निटी (कामको सम्मान) मिलेन । आज पनि भारत तथा विश्वका अन्य देशमा यो समस्या छ नै ।
पुँजीवादको उदयपछि आर्थिक असमानता बढ़्यो । एकातर्फ फ्याक्ट्रीको मालिकसँग अथाह पैसा भयो, अर्कातिर त्यहीँ काम गर्ने श्रमिकसँग निश्चित तलब मात्र । उद्योगमा जे जति फाइदा हुन्थ्यो त्यो सबै मालिकको हुन्थ्यो । माक्र्सले यो व्यवस्थाको यसरी आलोचना गरे कि पुँजीवादी व्यवस्थामा धनी र गरिबबीचको खाडल फराकिलो बनेको छ । जुन घट्ने होइन बढ्दै जानेछ । यसमा पनि अर्को ठूलो समस्या लुकेको छ ।
कारखानाका मालिकले ज्यादा पैसा कमाइरहेको छ, त्यहाँ काम गर्ने कामदारले कम, यो एउटा पक्ष भयो । यो भन्दा ठूलो समस्या त के हो भने कामदारलाई जागिरको सुरक्षा छैन । एक दिन उ मालिकद्वारा निकालिन्छ । यसले कामदारको जागिर एक न एक दिन त खोसिन्छ । अब के त्यो कामदार आफ्नो कामको मालिक बन्न सक्छ ? जुन कम्पनी वा फ्याक्ट्रीमा उसले कुनै वस्तु उत्पादन ग¥यो, त्यसमा उसको हक हुन्छ त ? किन हुन्थ्यो, उसको मालिककै हक हुन्छ ।
मालिक नै एक यस्तो व्यक्ति हो जो आफ्नो कम्पनी वा उत्पादित वस्तुप्रति सधैं जोडिएर रहन्छ । कामदार त एउटा काम गर्नमात्रै सक्छ । उसको आफैंले बनाएको वस्तुमा समेत कुनै हक हुँदैन । यसैकारण उसले कहिले पनि आफ्नो कामप्रति आफ्नोपन वा जोडिएको महसुस गर्न सक्दैन । जसलाई माक्र्सले ‘अलगाव’ नामै दिएका छन् ।
मार्क्सले यो पनि भनेका छन् कि एक दिन मजदुर वर्गले पुँजीवादबाट हैरान भएर विद्रोह गर्नेछन् । र, त्यही दिनबाट साम्यवादको सुरुवात हुने माक्र्सको धारणा छ । माक्र्सपछि उनकै चेलाले साम्यवादका त्यो स्वरूप लागू गरेकि सत्ताले तानाशाहीका रूप लियो । सोभियत संघको पतनसँगै साम्यवाद एक हिसाबले (नेपथ्यमा पुग्यो) गुमनाम जस्तै भयो । जहाँसम्म पुँजीवादको कुरा छ, बजारमा आज पनि प्रभुत्व छ ।
चाहे त्यो धनी गरिबबीचको अन्तरमा होस, गाउँ रित्याएर सहर र विदेश पुग्ने गरी भएको बसाइसाई होस् कि जलवायु परिवर्तन ।
पुँजीवादको अगाडि धेरै चुनौतीहरु छन् । चाहे पुँजीवादको कुनै विकल्प वर्तमान समयमा कसैले नदेखे पनि कामदारको प्रश्न जायज छ । एकातिर विश्वभरका ठूला कम्पनीले पछिल्लो समय हजारौंको संख्यामा कामदार निकाल्ने प्रकृया रोकिएको छैन, अर्कातिर सरकारले देशमा रोजगारी सिर्जना गर्न सकेको छैन ।
यो बीचमा कामदारका यो प्रश्न उचित छ – के हामी पैसा अरुका लागि छापिदिनका लागि मात्रै जन्मिएका हौं ?
(नोट : लल्लन टपका लागि कमल र आकाश सिंहले तयार पारेको रिपोर्टबाट साभार–अनुवाद )
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३