ललितपुर – ललितपुरमा लगातार ६ सातासम्म सञ्चालित बृहत नि:शुल्क स्वास्थ्य शिविरमा करिब ७ सय जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।
ललितपुर महानगरपालिका – १६ ले अरनिको समाजसंग मिलेर माघ १७ देखि फागुण २२ गते शनिबारसम्म प्रत्येक साता वडाका विभिन्न स्थानमा सञ्चालित शिविरबाट सो संख्यामा मानिसहरु लाभान्वित भएका हुन् । शनिबार ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी सञ्चालित शिविरमा ९० वर्ष नाघेका तीन जनासहित १ सय ६० जना लाभान्वित भएको वडाका सदस्य एवं ज्येष्ठ नागरिक समितिका संयोजक पञ्चबज्र बज्राचार्यले जानकारी दिए । मधुमेह, पिसाब, पेट तथा कलेजो, र जनरल रोगको हिजो जाँच गरिएको थियो ।
कोरोना संक्रमण तीब्र गतिले फैलिरहेको बेला नियमित स्वास्थ्य परीक्षण गराउन नसकेका स्थानीयहरु शिविरबाट बढीभन्दा बढी लाभ लिएको पाइएको अरनिको समाजका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले जानकारी दिए । गत वर्ष चैत्र ११ देखि शुरु भएको लकडाउन, त्यसपछिको निषेधाज्ञा र कोरोनाको संक्रमण हुने डरले अस्पताल, स्वास्थ्य क्लिनिकमा गएर जँचाउने मानिसहरुको संख्यामा कमी आएको थियो । त्यसमा पनि विशेषतः बालबालिका र ज्येष्ठ नागरिकहरु घरबाटै निस्किएको थिएन। यस्तो अवस्थामा आफ्नै घर, आँगनमा लगातार शिविर सञ्चालन समयको माग र आवश्यकता सिद्ध भएको पनि वरिष्ठ नशारोग विशेषज्ञ समेत रहनुभएका समाजका अध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।
शिविरबाट मानिसहरुले आफूलाई रोग बारे सामान्य जानकार, थप उपचारको चिकित्सकहरुबाट आवश्यक सल्लाह सुझाव पाएको पनि डा अमितमणी उपाध्यायले बताए ।
स्वास्थ्य सेवामा सबैको सहज पहुँच र आर्थिक स्तर कमजोर भएका व्यक्तिहरुलाई लक्षित गरी वडाले स्वास्थ्य शिविर सञ्चालन गरेको वडाअध्यक्ष निर्मलरत्न शाक्यले बताए । ‘ अरनिको समाजमा आबद्ध चिकित्सकहरुसंग एकदिन भेटघाट हुँदा अहिले शिविरको खाँचो रहेको कुरा उठेको थियो । त्यसपछि वडा समितिको बैठक बसेर शिविर सञ्चालन गर्ने निर्णय गर्यौ ।’ स्वास्थ्य सेवालाई जनमुखी बनाउन महानगरपालिकाले पहल गर्नुपर्ने पनि वडाअध्यक्ष शाक्यको जोड रहेको छ ।
गत माघ १७ गते मंगलबजारमा भएको पहिलो शिविरमा नशा तथा हाडजोर्नीको परीक्षण गरिएको थियो । दोस्रो माघ २४ गते बुबहालमा मुटु रोग सम्बन्धी, तेस्रो फागुण १ गते बालिफल (अशोक हलमा) बाल तथा छाला रोग सम्बन्धी र चौथो फागुण ८ गते नागबहालमा स्त्रीरोग सम्बन्धी शिविर भएको थियो । पाँचौ फागुण १५ गते दौबहालमा पेट तथा कलेजो सम्बन्धी शिविर सञ्चालन गरिएको थियो । शिविरमा आवश्यकता अनुसार अल्ट्रासाउण्डबाट जाँच पनि गरिएको थियो ।
प्रत्येक शिविरमा आवश्यकता अनुसार निशुल्क औषधी वितरण गरिएको र ४५ वर्ष नाघेका ३० जना महिलाहरुको पायपस्मेर परीक्षण गरिएको समाजका महासचिव डा. सुशील प्रजापतिले जानकारी दिए । अभियानकै रुपमा ललितपुरको ‘कोर सिटी’ मा लगातार स्वास्थ्य शिविर सञ्चालन भएको यो नै पहिलो पटक रहेको वडा र सम्बद्ध चिकित्सकहरुले दाबी गरेको छ ।
शिविरको समापन समारोहमा त्यसको सफलताका लागि सहयोग गर्ने चिकित्सक, नर्स, औषधी व्यवसायी, वडाको स्वास्थ्य कार्यान्वयन समिति महापाल र धौैगलका स्वास्थ्य सेवक, व्यवस्थापन सहयोगी युवा स्वयंसेवक र सञ्चारकर्मीहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियोे । सो अवसरमा वडाका वडा सदस्य एवं ललितपुर महानगरपालिकाका कार्यपालिका सदस्य सुप्रभा शाक्यले शिविरको सफलताको लागि विभिन्न पक्षहरुसंगै स्वास्थ्य स्वयं सेवक महिलाहरुको ज्ञान, अनुभव र सक्रियता पनि निकै महत्वपूर्ण भएको धारणा ब्यक्त गरिन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३