ललितपुर – नेकपा एकीकृत समाजवादी ललितपुरले चैत्र ३० गतेभित्रमा जिल्लाका सम्पूर्ण वडाबाट पाँचजनाका दरले उम्मेदवारको सूची पठाउन मातहत कमिटीहरूलाई निर्देशन दिएको छ । आज बसेको जिल्लाको सचिवालय बैठकले योग्यता, क्षमता भएको, जनस्तरमा स्थापित व्यक्तिहरूलाई सहमतिका आधारमा स्थानीय निर्वाचनमा खडा गर्ने निर्णय गरेको हो । पार्टीले उम्मेदवार चयन गर्दा युवा तथा महिलालाई प्राथमिकता दिइने पनि बैठकले निर्णय गरेको छ ।
यसैगरी बैठकले जिल्लाका ६ वटा पालिकाहरूमा चुनावी तालमेलसम्बन्धी निर्णय लिन र आधिकारिक छलफलका लागि तीन सदस्यीय वार्ता समिति पनि गठन गरेको छ । समितिमा केन्द्रीय सदस्य तथा जिल्लाका सहइन्चार्ज अमृतनाथ तिमल्सिना, केन्द्रीय नेता श्यामकृष्ण सिलवाल र जिल्ला अध्यक्ष हरिकृष्ण थापा रहेका छन् ।
बैठकमा सहभागी अधिकांश सचिवालय सदस्यहरूले आसन्न स्थानीय तहको निर्वाचनमा वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिनुपर्ने आवश्यक औंल्याएका थिए । वर्तमान संविधान, लोकतान्त्रिक गणतन्त्र, सङ्घीय व्यवस्था, धर्म निरपेक्षताका रक्षाका लागि पनि गठबन्धनलाई कायम गरी चुनावमा होमिनुपर्ने उनीहरूको तर्क थियो ।
सचिवालय बैठकमा अध्यक्ष हरिकृष्ण थापाले जिल्ला कमिटीले सङ्गठन निर्माणका क्रममा सन्चालन गरेको विभिन्न गतिविधिहरू प्रस्तुत गरेका थिए । उनले जिल्लामा सङ्गठन विस्तारको काम उत्साहजनक ढङ्गले अघि बढिरहेको बताए ।
बैठकलाई सम्बोधन गर्दै पार्टीको स्थायी कमिटीका सदस्य माधव पौडेलले आफूहरूले दुःख गरी निर्माण गरेको एमाले अब कम्युनिस्ट पार्टीका रूपमा नरहेको र केपी ओली गुटमा रुपान्तरण भएको चर्चा गरे । उनले इमान्दार वामपन्थी मत आफूहरूको पक्षमा रहेकाले फूर्तिलो भएर सङ्गठन निर्माण र चुनावी मोर्चामा जुट्न आग्रह गरे ।
जिल्ला कमिटी सचिव सुदर्शन मिश्रले स्थानीय तहको चुनाव पदीय हारजित मात्र नभएर वैचारिक लडाईको सवाल भएको बताए । उनले जिल्लामा वैचारिक बहस तथा अन्तक्र्रियालाई केन्द्रीत गरी निरन्तर अभियान सन्चालन गरिने योजना रहेको पनि अवगत गराए ।
सोही अवसरमा जिल्ला कमिटीमा थप गरिएका सदस्यहरूलाई सपथ ग्रहण गराइएको छ । सचिवालय बैठकले अध्यक्षद्वारा प्रस्तुत गरिएको सात सदस्यीय स्कुल विभाग गठनको प्रस्तावलाई पनि अनुमोदन गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३