ललितपुर – पाटन ढोकामा बिहिबार केही नौलो दृश्य देखिरहेको थियो । विश्व अटिजम दिवसका अवसरमा बालबालिका र युवाहरु प्लेकार्ड बोकेर एरोसान सस्टेनेबल स्यानिटेसनले निर्माण गरेको स्मार्ट शौचालय अगाडि उभिरहेका थिए । प्लेकार्डमा अटिजम बारे जनचेतना फैलाउने किसिमका नाराहरु समावेश गरिएका थिए । त्यसै क्रममा एक समुह स्मार्ट शौचालयको अवलोकन गर्न व्यस्त थियो ।
पछिल्लो समय सामाजिक सञ्जालदेखि विभिन्न संचारमाध्यममा एरोसानद्वारा सञ्चालित स्मार्ट शौचालयले विशेष प्राथमिकता पाइरहेको छ । आम-मानिसबीच स्मार्ट शौचालय छलफलको विषय बनेको छ ।
सन् २०२१ मा स्विडेनको राजधानी स्टकहोममा आयोजना गरिएको सरफाति सेनिटेशन च्यालेन्ज प्रतियोगितामा एरोसानको स्मार्ट शौचालय विश्वकै उत्कृष्ट ५ मा पर्न सफल भएको थियो । नेपालको स्मार्ट शौचालय विश्व कै प्रतियोगितामा उत्कृष्ट ५ मा पर्नुले पनि सबैको ध्यान यसतर्फ मोडिएको हो ।
शौचालयमा सरसफाई क्षेत्र मै काम गरिरहेका परिवारका सदस्यहरु कार्यरत छन् । एक बहिरा महिला पनि पाटन ढोकामा अवस्थित स्मार्ट शौचालयमा कार्यरत छिन् । एरोसानले सरसफाइलाई एक सम्मानजनक पेशाको रुपमा स्थापित गर्न पनि सफल भएको छ ।
सार्क राष्ट्र मध्यको एक बंगलादेशबाट बिहिबार एरोसानको स्मार्ट शौचालय अवलोकन गर्न टोली नेपाल आएको थियो । केही समय गरिएको प्रस्तुतीकरण र अन्तक्र्रिया कार्यक्रम पश्चात अवलोकनका लागि आएको टोलीले पाटन ढोकाको स्मार्ट शौचालयको प्रत्यक्ष अवलोकन गरेको थियो । उनीहरु निकै कौतुहोल्ताका साथ स्मार्ट शौचालयको अवलोकन गरिरहेका थिए, लागेका जिज्ञासा एरोसानका प्रतिनिधि समक्ष सोधिरहेका थिए ।
शौचालय प्रवेशका लागि काउण्टरमा रहेका एरोसानका कर्मचारीसँग सिक्का जस्तो आकारको टोकन लिनु पर्छ । महिला, पुरुष र अपांगता भएका व्यक्तिहरुका लागि छुट्टाछुट्टै शौचालयहरु रहेका छन् । काउण्टरबाट लिएको टोकनलाई शौचालय प्रवेशको द्वारमा तगारोको रुपमा रहेको बारमा छिराएपछि भित्र पस्ने तगारो खुल्दछ । भित्र सवै कुरा स्वचालित छन् । शौच गरिसकेपछि सेन्सरको माध्यमबाट आफै पानी फलस् हुन्छ । अध्यारोमा बत्तिहरु सेन्सरको माध्यमबाट आफै बल्दछन् र उज्यालोमा आफै निभ्दछ । हात धुनको लागि साबुनको भाडाको तल हात राख्दा आफै तरल सावुन हातमा आउँछ । धाराको तल हात राख्दा पानी आफै झर्दछ, हात हटाउँदा पानी स्वत बन्द हुन्छ । भिजेको हात सुकाउन पनि स्वचालित एयर ड्राइयर छ, जसमा हात राख्दा हावा चलेर भिजेको हात सुकाउन मद्दत गर्दछ । अब पुनः प्रवेश गर्दा टोकन राखेर खुलेको तगारो तर्फ हातले देखाए पछि तगारो खुल्दछ । महिलाको शौचालयमा स्तनपान गराउनको लागि बेग्लै ठाँउ र बच्चाको डाइपर फेर्न बेग्लै ठाँउको व्यवस्था गरिएको छ । महिनावारीको समयमा प्रयोग गरिने स्यानिटरी प्याडको लागि भेन्डिङ मेसिनको व्यवस्था पनि गरिएको छ । अपांगता भएका व्यक्तिको लागि बनाइएको शौचालय अपांगमैत्री छ । दृष्टिविहिनको लागि विशेष ख्याल गरेर स्मार्ट शौचालयको निर्मार्ण गरिएको छ ।
यी सब कुराको अवलोकनपछि बंगलादेशबाट आएका टोली प्रफुल्लित देखिन्थे । आकाशे पानी संकलनको प्रावधान देखेर उनीहरु अझ बढी उत्साहित थिए । एरोसान हबका कार्यकारी प्रकाश अमात्य उनीहरुलाई आकाशे पानी संकलन र बायो ग्याँस उत्पादनको बारेमा थप विस्तृतमा प्रष्टाइरहेका थिए ।
अन्त्यमा एरोसानका कार्यकारी अमात्यले बंगलादेशी टोलीलाई शौचालयमै उत्पादन गरिएको बाँयो ग्याँसबाट पकाएको चियाको प्रस्ताव गरे । बंगलादेशी टोलीले स्वच्छ र सफा अत्याधुनिक शौचालयको तारिफ गर्दै बाँयो ग्याँसमा पकाएको चियाको स्वाद लिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७