काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालू आर्थिक वर्षको चार महिनाको अवधिमा ३३ मुद्दामा ८२ जनाविरुद्ध २९ करोड रुपियाँभन्दा बढी रकमको माग दाबी गरेको छ । उजुरी वा रङ्गेहात नियन्त्रणमा लिएकाहरूमाथि आवश्यक अनुसन्धान पूरा गरी अदालती कारबाहीका लागि विशेष अदालतमा आयोगले मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता तारानाथ अधिकारीले विभिन्न मुद्दामा अनुसन्धानपश्चात् ८२ जनाविरुद्ध २९ करोड ३८ लाख चार हजार ८५४ रुपियाँ बिगो दाबी गरिएको बताए । आयोगले सबैभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा तीनवटा मुद्दामा १७ जनाविरुद्ध २७ करोड ५१ लाख चार हजार २९० रुपियाँ बिगो दाबी गरेको छ ।
सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको अभियोगमा चार जनाविरुद्ध ९४ लाख ७२ हजार ५८० रुपियाँ माग दाबी गरिएको छ । जनताको करबाट उठेका रकमबाट तलब सुविधा खाने राष्ट्रसेवक कर्मचारीले सेवाग्राहीलाई सहज, छिटो–छरितो ढङ्गले सेवा उपलब्ध गराउनु उनीहरूको कर्तव्य हो तर अनेक बहानामा सेवाग्राहीलाई दुःख दिने र घुस लिएको अभियोगमा ५० जनाविरुद्ध आयोगले ६३ लाख ३४ हजार ३७० बिगो दाबी गरेको छ । राजस्व चुहावट गरेर राष्ट्रलाई ठग्ने दुई जना पनि आयोगको फन्दामा परेका छन् । आयोगले दुई जनाविरुद्ध १६ लाख तीन हजार ४६७ रुपियाँ माग दाबी गरेको छ । गैरकानुनी लाभ वा हानि पु¥याएको भन्दै आठ जनालाई १२ लाख ९० हजार १४७ रुपियाँ माग दाबी गरिएको छ ।
नायब सुब्बा नै बढी
आयोगले चार महिनाको अवधिमा ४० जना राष्ट्रसेवकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । जसमा नायब सुब्बा वा सोसरहका कर्मचारी सबैभन्दा बढी १४ जना छन् । यस्तै, शाखा अधिकृत, इन्जिनियर वा सोसरहका १३ जनाविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ ।
दसीसहित कारबाहीमा ३९ जना
साउन १ देखि कात्तिक २२ गतेसम्म आयोगले अद्यावधिक गरेको तथ्याङ्कमा दसीसहित (रङ्गेहात कारबाही)मा पर्नेमा ३९ जना राष्ट्रसेवक छन् ।
यो अवधिमा रङ्गेहात कारबाहीमा पर्नेमा शाखा अधिकृत र इन्जिनियर बढी देखिए । विगतमा नायब सुब्बाको सङ्ख्या बढी देखिने गरेको थियो । आयोगका प्रवक्ता अधिकारीका अनुसार शाखा अधिकृत र इन्जिनियर १० र नायब सुब्बा सोसरहका नौ जना छन् ।
उपसचिव, सिनियर डिभिजनल इन्जिनियर वा सोसरहका छ जना तथा सहसचिव एक जना पनि रङ्गेहात कारबाहीमा परेका छन् । यसैगरी अख्तियारले निर्वाचित र मनोनीत पदाधिकारी, लेखापढी व्यवसायी, बिचौलिया पनि रङ्गेहात पक्राउ परेकालाई कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको छ ।
समाजका चेतनशील नागरिक वा अन्य निकायले पनि आयोगलाई सहयोग गर्ने गरेका छन् । साउन–असोजसम्म मात्रै आयोगमा चार हजार ५२४ वटा उजुरी आयोगमा परेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३