ललितपुर – नेपालका विविध जातिहरु मध्ये नेवार समुदायले मनाउने एउटा छुट्टै पर्व “योमरी पुन्हि” हो । यो पर्व नेपाल सम्वत्को दोश्रो महिना थिंला पुन्हि अर्थात् मार्ग शुक्ल पूर्णिमाको दिन मनाइन्छ । जसलाई धान्य पूर्णिमा पनि भनिन्छ । यो दिन नेवार समुदायले एक प्रकारको विशिष्ट मिष्ठान्न पकाइन्छ । जसलाई “योमरी” भनिन्छ । नेवारी भाषामा “योमरी” को अर्थ “यो” अर्थात मन पर्ने र “मरी“ अर्थात रोटी भन्ने बुझिन्छ । योमरी विशेष किसिमको तिल, चाकु र खुवा राखेर चामलको पिठोबाट बनाइने विशेष प्रकारको रोटी हो जुन योमरी पुन्हिको दिन बाहेक अन्य महत्वपूर्ण दिनहरु जस्तै जन्मदिन तथा मन्दिरको उदघाटन आदिमा बनाउने चलन छ ।
नेवार सुदामा योमरी पुन्हिको आफ्नै धार्मिक तथा सांस्कृतिक महत्व छ । धनसम्पत्ति, बृद्धि र धनधान्यले भरिपूर्ण हुने जनविश्वासले नेवार समुदायमा योमरी पुन्हिका दिन सबैले योमरी सहित विभिन्न देवी देवताको पूजा गरी दान गर्ने चलन छ । नेवार समुदायमा पनि विशेष गरी ज्यापु जातिमा योमरी पुन्हिको दिन नयाँ भित्र्याइएको धानको चामलबाट बनेको पिठोबाट योमरी लगायत लक्ष्मी, गणेश, कुवेर, नाँग्लो, सुकुन्दा, कुचो समातेको मान्छे (घय्मोसु), पानस, कछुवा आदिको मूर्ति सहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी बनाई नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा पूजा गरी चढाउने गरिन्छ । यसरी योमरीलाई भकारी लगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पति र अन्न लाभ हुने जनविश्वास रहिआएको छ । यसरी चढाएको योमरी चार दिनपछि प्रसादको रूपमा परिवारमा बाँढी खाने चलन छ । यस दिन विवाह भैसकेका चेलीबेटीलाई पनि बोलाएर खुवाउने गरिन्छ । योमरी पुन्हिको दिनदेखि दिन लामो हुने र योमरीको चुच्चो अनुसार दिन लामो हुँदै जान्छ भन्ने जनविश्वासछ । यहि दिन उपत्यकाका नेवार भित्रकै ज्यापु समुदायले ज्यापु दिवसका रूपमा पनि यो पर्वलाई मनाउने गर्दछन् ।
योमरी पुन्हिको साँझ परापूर्वकालदेखि टोलटोलमा तिहारमा देँउसी, भैंसों खेले झैं केटाकेटी, युवायुवती जम्मा भई त्यः छिं त्यः भन्दै योमरी माग्ने चलन चल्दै आइरहेको छ । यसप्रकार योमरी माग्ने प्रचलन यो दिनको एक महत्त्वपूर्ण सांस्कृतिक पक्ष हो । यही साँस्कृतिक पक्षलाई जीवन्त राख्न र कालान्तर सम्म निरन्तरता दिनको लागि ज्यापु समाज यलले विगत २ दशक अघिदेखि ललितपुर नगरका ४० सै टोलमा गई साँस्कृतिक बाजागाजा र नाचगानका साथ त्यःछिं त्यः कार्यक्रम आयोजना गर्ने गरेको छ । कोरोना जोखिम अझै यथावत रहेको कारण ज्यापु प्रज्ञाभवनको डिटोरियम हलमा नेपाल सरकारका उर्जा मन्त्री पम्फा भुषाल, सामान्य प्रसासन मन्त्री राजेन्द्र श्रेष्ठ, भूमि व्यवस्था मन्त्री शशी श्रेष्ठ, श्रम मन्त्री कृष्ण कुमार श्रेष्ठ, ललितपुर महानगरका मेयर चिरीवावु हमर्जनलगायतको उपस्थितीमा ज्यापु समाज यलले कार्यक्रम सम्पन्न गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७